कामचलाउ मुख्यमन्त्रीबारे कोशीमा अन्योल, एयरपोर्टमा गाडी नपठाइएपछि हिक्मत निवासतिर लागे – Nepal Press

कामचलाउ मुख्यमन्त्रीबारे कोशीमा अन्योल, एयरपोर्टमा गाडी नपठाइएपछि हिक्मत निवासतिर लागे

विराटनगर । सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आइनसकेको बहाना बनाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कमचलाउ मुख्यमन्त्रीको रूपमा पद बहाल गराउन अटेर गरेका छन् ।

सर्वोच्चको आदेशसँगै आफू कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै कार्की मुख्यमन्त्री कार्यालय जाने तयारीमा थिए । तर, पूर्णपाठ नआएको भन्दै मुख्यमन्त्री कार्यालयका कर्मचारीले पद बहाल गर्ने तयारी नगरेपछि कार्की मन्त्रालय नगई निवासमा गएका छन् ।

उनी आजै काठमाडौंबाट विराटनगर आएका हुन् । उनी विराटनगर आउँदा मुख्यमन्त्री कार्यालयले गाडीसमेत पठाएको थिएन ।

उनी एमाले संसदीय दलको नेताको रूपमा दिइएको गाडी लिएर निवास गएका छन् । उनीसँगै आएका तत्कालीन सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई समेत मन्त्रालयले गाडी पठाएको थिएन ।

बिहीबार सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेसँग कामचलाउ सरकारको मुख्यमन्त्री हिक्मत कार्की भएको प्रतिवादीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले बताएका छन् ।

उद्धव थापा, प्रदेश प्रमुख र सभामुखको तर्फबाट बहस गरेका कानून व्यवसायी रमण श्रेष्ठले समेत कामचलाउ सरकारको मुख्यमन्त्री हिक्मत कार्की हुने भन्दा समेत मुख्यमन्त्री कार्यालयका कर्मचारीले अहिलेसम्म पद बहालीको तयारी गरेका छैनन् ।

कार्की वा थापामध्ये कसलाई कामचलाउ मुख्यमन्त्री मान्ने अन्योल देखिएपछि प्रमुख सचिव डा. दीपक काफ्ले आवश्यक परामर्शको लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सर्वोच्चको पूर्ण पाठ नआएकाले अलमल भएको हो ।

अदालतले साउन १७ गतेसम्म नयाँ सरकार गठन गर्न आदेश दिए पनि त्यो अवधिमा मुख्यमन्त्रीको कार्यभार कसले सम्हाल्ने भन्नेबारे केही बोलेको छैन । जसले अन्योल सिर्जना भएको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरू बताउँछन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । प्रदेश प्रमुखको कार्यालयले कुनै निर्णय गरिसकेको छैन । मुख्यमन्त्री कार्यालयको बोर्ड र वेबसाइटमा थापाकै नाम मुख्यमन्त्रीमा कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर