९ किलो सुन तस्करीमा महरा बाबुछोराको ‘कनेक्सन’, किन भएन सोधपुछ ? – Nepal Press

९ किलो सुन तस्करीमा महरा बाबुछोराको ‘कनेक्सन’, किन भएन सोधपुछ ?

सीआईबी भन्छ– अनुसन्धान जारी छ

काठमाडौं । इलेक्ट्रिक सिगरेटमा राखेर करिब ९ केजी सुन तस्करी भएको घटनामा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको नामसमेत मुछिएको छ ।

घटनाको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले विमानस्थल भन्सार कार्यालयले रोकेको सामानबारे महरा बाबुछोराले तारन्तार भन्सारका अधिकारीसँग फोनमा कुरा गरेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको थियो ।

भन्सारका कर्मचारी मुक्तिप्रसाद श्रेष्ठले राहुलले रोकिएको सामान के–कस्तो हो भनेर चासो राखेको बयान दिएका थिए । चिनियाँ नागरिकले ल्याएको इलेक्ट्रिक सिगरेट विमानस्थलमा भएको एक्स रे परिक्षणमा शंकास्पद देखिएपछि जफत प्रयोजनका लागि भन्सार कार्यालय पठाइएको थियो । दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७ सय ३० वटा इलेक्ट्रिक सिगरेट थिए । सामान जफत भएको केही समयमै ती चिनियाँ नागरिक स्वदेश फर्किए ।

तर भन्सार कार्यालयकै कर्मचारीको मिलेमतोमा इलेक्ट्रिक सिगेरेटभित्र रहेको ९ केजी ११.५२४ ग्राम सून गायब पारियो । भन्सारका कर्मचारीदेखि गायब बनाउने र खरिद गर्ने प्रकृयामा संलग्नहरु पक्राउ परेपनि त्यो सामान ल्याउने व्यक्तिहरु पक्राउ पर्न सकेका छैनन् ।
अनुसन्धानमा भन्सारमा रोकिएको उक्त सामानबारे चासो राखेका महरा बाबुछोराको यो प्रकरणमा कनेक्सन देखिएको भनेर लिंक चार्टसमेत सीआईबीले प्रतिवेदनमा पेश गरेको थियो ।

‘तर, मुक्तिले महरा बाबुछोराले रोकिएको सामान छुटाउन दबाब दिएको भनेर बयान दिएको पाइएन । त्यसैले उहाँहरुलाई अनुसन्धानमा तान्न सकिने अवस्था भएन । सामानका मालिकहरु पक्राउ पर्दा मात्र उनीहरुको संलग्नताबारे भन्न सकिने अवस्था थियो’, सीआईबीका उच्च अधिकारी भन्छन् ।

अनुसन्धानमा नल्याइएका व्यक्तिलाई किन लिंक चार्टमा समावेश गरिएको हो भन्नेबारे ती अधिकारी फोन सम्पर्कमा देखिएका व्यक्तीलाई चार्टमा देखाइनु स्वभाविक भएको बताउँछन् ।

‘यो घटनामा महरा बाबु छोरा मात्र होइन चिनियाँ नागरिक र भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको छैन । यसको मतलब यो अनुसन्धान अझै सकिएको छैन । पक्राउ परेका बखत पुरक अभियोगपत्र फेरी लगिने छ’, ती अधिकारीले भने।

प्राविधिक अनुसन्धानमा सम्पर्कमा रहेका व्यक्तीलाई लिंक चार्टमा हटाउन नमिल्ने सीआईबी स्रोत बताउँछ । ‘यदि त्यसरी हटायो भने प्रहरीले जोगायो भन्ने आरोप लाग्छ । लिंकमा देखिएका व्यक्तीलाई चार्टबाहिर राख्न पनि मिल्दैन’, सीआईबी अधिकारी भन्छन् ।

भन्सारमा जफत प्रयोजनका लागि ल्याइएको इलेक्ट्रिक सिगरेटभित्र रहेको सुन गायब बनाइएको पाइएपछि विमानस्थल भन्सार कार्यालयले अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । सीआईबीले पक्राउ गरेकामा सुन ल्याउने गिरोहका कोही पनि छैनन् । सुन ल्याउने गिरोहका कसैलाई पनि प्रतिवादी बनाइएको छैन ।

सुन गायब बनाउने र गायब बनाएको सुन खरिद गर्ने समूह मात्र अनुसन्धानको दायरामा आएको छ । ‘नेपालमा त्यसरी इलेक्ट्रिक सिगरेटमा सुन ल्याउने गिरोहमाथि अनुसन्धान जारी नै छ,’ सीआईबी स्रोत भन्छ ।हाल प्रतिवादी बनाइएका ९ जनामध्ये ३ जना फरार छन् । ६ जनामध्ये ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । एक जना भने छुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर