बैंकले दिने कर्जाको जोखिम भार बढी हुँदा के हुन्छ ? – Nepal Press

बैंकले दिने कर्जाको जोखिम भार बढी हुँदा के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ७ गते जारी गरेको मौद्रिक नीतिको ह्याङओभरले शेयर बजार ग्रस्त छ । मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिव्यक्ति ५० लाख रुपैयाँको शेयर धितो कर्जामा मात्र जोखिमभार १०० प्रतिशत हुने अभिव्यक्ति दिएपछि बजारले नकारात्मक प्रतिक्रिया दिइरहेको छ ।

मौद्रिक नीतिको लिखित बुँदामा भने शेयर धितो कर्जामा जोमिख भार पुनरावलोकन गरिने उल्लेख छ । बजार खुलिरहेको बेलामा आएको मौद्रिक नीतिमा यही ‘पुनरावलोकन गरिनेछ’ भन्ने वाक्य पढेरै आम लगानीकर्ताले सानाठूला सबै ऋणको जोखिम भार घटेर एकै खालको हुने अपेक्षा गरेका थिए ।

सोही अपेक्षासहित सो दिन कारोबारमा उत्साह देखिएको थियो । त्यसपछि भएको पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले भनेका थिए, ‘शेयर बजार संवेदनशील क्षेत्र हो । यो कुरामा स्पष्ट हुन जरुरी छ । २५ लाखसम्मको सीमालाई ५० लाख बनाउने भनेर छलफल भएको छ । यसमा मात्र १०० प्रतिशत जोखिम भार कायम हुन्छ । अन्यमा भने १५० प्रतिशत नै रहन्छ । यस कुरामा अन्योल नहुनु होला ।’

गभर्नरले जोखिम भारका विषयमा अभिव्यक्ति दिँदा कारोबार बढेर बन्द भइसकेको थियो । त्यही अभिव्यक्तिको असर भोलिपल्टको कारोबारमा पर्‍यो । आइतबार मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा भने सूचक करिब ६३ अंकले बढेको थियो । २२२७.१६ विन्दुमा अडिएको बजारमा ४ अर्ब ३० करोडको शेयर कारोबार भएको थियो । सोमबार २२००.५० विन्दुमा अडिएको बजार २६.६६ विन्दुले घटेको थियो । यो बजार घट्ने क्रमले मंगलबार र बुधबार पनि निरन्तरता पायो । मंगलबार ३६.१९ अंकले घटेको बजार बुधबार ८.११ अंकले घट्यो । यो क्रम आज पनि जारी रह्यो । आज बजार २९.७१ अंकले घट्यो ।

शेयर विश्लेषक डा. केशव श्रेष्ठ जोखिम बढी भएका बैंकहरुले ऋण दिन नरुचाउने भएकाले जोखिम भार बढी हुँदा ऋण पाउने सम्भावना कम हुने बताउँछन् ।

उनी भन्छन्, ‘बढी जोखिम भएको ऋणलाई बैंकहरुले बढी प्रोभिजन राख्नुपर्ने हुन्छ ।’

शेयर बजारमा अन्धाधुन्ध भयो, नबुझेको मान्छे पनि बजारमा छिरे भनेर राष्ट्र बैंकले लगाम लगाउन नीतिगत रुपमै निरुत्साहित गरेको उनको बुझाइ छ । यही कारण अहिलेको बजार प्रभावित बनेको श्रेष्ठको भनाइ छ ।

के हो शेयर धितो कर्जामा लाग्ने जोखिम भार ?

शेयर धितो कर्जामा लाग्ने जोखिम भार के हो ? यो बढी वा घटी हुँदा बजारलाई कसरी फाइदा वा घाटा हुन्छ भन्ने आमचासो देखिएको छ ।

बैंकहरुले कुनै पनि शीर्षकमा ऋण प्रवाह गर्दा सो ऋण कतिको जोखिम छ भन्ने विश्लेषण गरेरमात्र प्रवाह गर्छन् । बैंकहरुले ऋण दिँदा सबै ऋण उत्तिकै जोखिम हुँदैनन् । शेयर, गाडी तथा घरका लागि दिइने कर्जाको जोखिम फरक फरक हुन्छ । प्रायःजसो ऋणमा १०० प्रतिशत जोखिम भार हुन्छ ।

अप्रत्यक्ष रुपमा ठूला कर्जा शेयरलाई नदेउ भन्न खोजेको हो : बैंकिङविज्ञ भुवन दाहाल

जोखिम भारले (शतप्रतिशत) १०० रुपैयाँलाई गुणा गर्दा १०० रुपैयाँ नै हुन्छ । बैंकले सय रुपैयाँ कर्जा दिनलाई शत प्रतिशत जोखिम भार छ भने ११ रुपैयाँ पूँजी कोष (शेयरधनीको रकम) कायम गर्नुपर्छ । तर, जोखिम भार १५० प्रतिशत छ भने त्यसमा बढी राख्नुपर्छ । १५० को ११ प्रतिशत भनेपछि साढे १६ रुपैयाँ हुन आउँछ । यसकारण बैंकको शेयरधनीलाई अथवा बैंकलाई सय जोखिम भार भएको कर्जा दिन सजिलो भयो । १५० प्रतिशत जोखिम भार भएकोलाई कर्जा दिँदा फाइदा कम हुने भयो ।

जस्तै अहिले राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशतभन्दा बढी हुन पाउँदैन भनेको छ । मानौं, ८ रुपैयाँमा तपाईंले निक्षेप राख्नुभएको छ र १२ रुपैयाँमा कर्जा लिनुभएको छ भने त्यहाँ ४ प्रतिशतको अन्तर भयो । यसकारण अब ११ रुपैयाँ राखे पनि ४ प्रतिशत ब्याजदर अन्तर र साढे १६ रुपैयाँ राख्दा पनि ४ प्रतिशत ब्याजदर अन्तर हुने भयो । बैंकहरुले १५० प्रतिशत जोखिम भार हुने कर्जा प्रवाह गर्न मान्दैनन् । राष्ट्र बैंकले बैंकहरुलाई के सन्देश दियो भने तिमीहरु कर्जा देउ तर बढी कर्जा दिँदा तिमीहरुले बढी पूँजी राख्नुपर्छ भन्ने भयो ।

लगानीको प्रतिफलको कुरा गर्दा १५ प्रतिशत कमाउने हो भने ११ रुपैयाँ लगानी गरेर ४ रुपैयाँ कमाउँथे भने अब ६ गर्नुपर्‍यो । यसबाट बुझ्न सकिन्छ कि राष्ट्र बैंकले अप्रत्यक्ष रुपमा ठूला कर्जा नदेउ भनेको हो । जोखिम भार बढाएर ब्याजदर पनि बढाउन पाएको भए बैंकहरुलाई फाइदा घाटा बराबर हुन सक्थ्यो होला । तर, बैंकहरुले ४ प्रतिशतभन्दा बढी ब्याजदर अन्तर गर्न पाउँदैनन् । यसकारण बैंकहरुलाई १५० जोखिम भारलाई भन्दा १०० जोखिम भारलाई दिन फाइदा हुने भयो ।

घरकर्जामा ६० प्रतिशतभन्दा कम जोखिम भार छ । यसमा कर्जा दिन बैंकहरुलाई झनै फाइदा हुन्छ । जति जोखिम भार कम त्यति लगानी गर्दा फाइदा हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर