विवाहबारे तामाङ समुदायमा छेडिँदै बहस: आशिका भन्छिन्- हामी पनि सुध्रिनु जरुरी छ – Nepal Press

विवाहबारे तामाङ समुदायमा छेडिँदै बहस: आशिका भन्छिन्- हामी पनि सुध्रिनु जरुरी छ

काठमाडौं । अधिवक्ता शीतल पाण्डेले केही जनजाति समुदायभित्र रहेको हाडनाताभित्रको वैवाहिक परम्परालाई लिएर प्रश्न उठाएपछि तीव्र विवाद भइरहेको छ । तामाङ-मगर समुदायले उनको भनाइमा आपत्ति जनाएका छन् भने प्रहरीमा जाहेरीसमेत परेको छ ।

सामाजिक सञ्जालमा जनजाति समूदायका धेरैले पाण्डेको भनाइमाथि आलोचना गरिरहँदा केही फरक आवाजहरु पनि सुनिन थालेका छन् । खासगरी युवा पुस्ताका सचेत व्यक्तिहरुले समूदायभित्र रहेको परिपाटीलाई समीक्षा गर्नुपर्ने मत जाहेर गर्न थालेका हुन् ।

आफ्नो समुदायभित्र कायम मामाचेला-फुपुचेलीबीचको वैवाहिक परम्परालाई निरन्तरता दिन नहुने पक्षमा उभिएकी छन् सामाजिक अभियन्ता आशिका तामाङ । फेसबुकमा झण्डै १० लाख फलोअर्स भएकी आशिकाले एकपछि अर्को स्टाटस लेख्दै बहसको उठान गरेकी हुन् ।

उनी लेख्छिन्, ‘हामी तामाङहरु पनि सुध्रिनु जरुरी छ । आफ्नै फुपुको छोरा त आफ्नै दाई होइन र ? तामाङले तामाङ्सँग मात्र बिहे गर्नुपर्छ भनेर कुन गन्थ्रमा लेखेको छ र ? समाजमा अरु जात पनि प्रशस्त छन् त, किन आफ्नै फुपुको, मामाको छोराछोरी ताक्नु पर्यो ?’

आफ्नो जातभित्र पनि बेथिति र कुरुति रहेको भन्दै उनले अहिलेका तामाङ युवाहरुले त्यसलाई नकार्नुपर्ने आशिकाको धारणा छ । विज्ञानले पनि आफ्नो हाडनातामा बिहे गर्दा बच्चाहरुमा मानसिक तथा शारीरिक असर गर्ने प्रमाणित गरिसकेको भन्दै उनले यो संस्कार परिमार्जन गर्नुपर्नेमा जोड दिएकी छन् । उनको यो स्टाटसमा ३७ सयभन्दा बढी प्रतिक्रिया आएका छन् ।
आशिकाका अनुसार उनलाई सानै छँदा बुबाले आफ्नी दिदीको छोरासँग विवाह गराइदिन खोजेका थिए ।

‘चितवनको गड्यौली भन्ने ठाउँमा मलाई बिहे गरेर पठाउने कुरा गर्नुहुँदा डाँको छोडेर रोएकी आजै याद छ’, उनी भन्छिन्, ‘त्यस्तो स्कुल नजानेसँग म बिहे गर्दिन भनेर रुन्थेँ म । सात वर्षको हुँदा बुबाले फुपुको घर जाने भन्ने बित्तिकै म गाउँबाट भाग्थेँ । २०११ मा फुपुको छोराले अर्कैसँग बिहे गरेपछि बल्ल शान्ति भयो ।’

आशिकाको स्टाटसहरुमा आएका प्रतिक्रिया हेर्दा अझै पनि यो समूदायभित्र ‘परम्परा धान्नुपर्ने’ मत प्रबल रहेको बुझिन्छ ।
अनिष तामाङले लेखेको लामो प्रतिक्रिया यस्तो छः

फुपु चेला-मामा चेलाबीच तामाङ समुदायमा किन विवाह हुन्छ त ? हाम्रो तामाङ समाजभित्र छोरीलाई पनि वंशाणुगत हिसाबले छोरोजत्तिकै अधिकार दिइएका कारण छोरी बिहे गरेर गए पनि उनको थर चेन्ज हुदैन । यसको मतलब बिहे गरेर पठाएको चेलीको थर माइतको नै थर हुन्छ । तर ती चेलीबाट जन्मिएका नानीहरुको थर ज्वाईंपट्टिबाट राखेको हुन्छ । यसको मतलब दोङ केटी मोक्तानलाई बिहे गरेको अवस्थामा उसको थर दोङ नै रहने भो भने उबाट जन्मिएका नानीको थर मोक्तान हुने भयो ।

यता माइतीपट्टि मायुङको बच्चाको थर दोङ हुने भयो । यो हाम्रो विशिष्ट खालको संस्कृति हो । हाम्रो संस्कृतिअनुसार ती दोङ स्याबाट जन्मेको नानी मोक्तान भएसी आफ्नो मयुङको नानी दोङसँग कुटुम्बको साइनो लाग्ने भयो । जसका कारण नै हाम्रो समाजमा फुपुचेला–मामाचेला बिहे चलेको देखिन्छ । हाम्रोमा पनि हाम्रो चेलीको थरसँग उबाट जन्मिएको बच्चाको थर जोडिएर आएको भए हामीले दाजु–बाहिनी पर्छ भन्न सुहाउँथ्यो ।

हाम्रो यो विशिष्ट खालको संस्कृतिलाई ख्याल नगरी आफ्नो चेलीबाट जन्मिएको नानीबाबुहरुलाई नि माइतपट्टिको छोराछोरीले दाजुभाइ दिदीबहिनी मान्न थाल्यो भने दोङ, मोक्तान, घिसिङ यी सबै थरका छोराछोरी दाजुभाइ दिदीबाहिनी पर्ने भो । जसको कारण तामाङ सामाजिक संरचना नै तहसनहस हुने अवस्था हुन्छ ।

म दोङको छोरा हँु । मेरो बल, गोले तिदुङ, गोङबा, दिमदोङ, बज्यु, स्योङतन लगायत ११ वटा थरको यो संसारभरी जहाँको महिला भए पनि विवाह गर्न मिल्दैन । उनीहरु मेरो चेली पर्छ । एकपटक मैले बर्माको तामाङ नागरिक भेटेको थिएँ । उनी बज्यु ह्रुइ (थर) कि तामाङनी रहेछिन् । मैले उनीबाट भाइटिका लगाएको छु । हाम्रो तपाईंहरुको जस्तो ५, ७ पुस्ता पार गरेपछि आफ्नै भित्र विवाह गर्ने चलन छैन । हजारौं पुस्ता सके पनि, यो धर्तीको जुनसुकै ठाउँको भए पनि एउटै ह्रुइ भए हामी दिदीबहिनी मान्छौं । त्यसैले हाम्रो संस्कृत र सभ्यतामाथि प्रश्न उठाउने अधिकार कसैलाई छैन ।

 


प्रतिक्रिया

3 thoughts on “विवाहबारे तामाङ समुदायमा छेडिँदै बहस: आशिका भन्छिन्- हामी पनि सुध्रिनु जरुरी छ

  1. खासमा यसको बैज्ञानिक कारण पनि रहेछ आसिका को कुरा ठिक हो ।

  2. बास्तविक धरातलमा लेख्नु भएको मा तपाईंलाई धन्यवाद भन्न मन लाग्यो आफू र आफ्नो मात्र सबै होइन अरूका कुरा पनि सुन्नु पर्छ अधिवक्ता पन्त र समाजवादी कि सांसद मन्जु बिचको विवाद अलि फरकफरक रहेको मा यो भनाइ बाट चलनचल्तीमा रहेका संस्कार र संस्कृति विचमा चलन अनुसार पनि छ भन्ने स्पष्ट पारेको लेख र भनाइ ।

  3. हर विकृति विसङ्गति समय अनुसार लोप हुँदै जाने कुरा हो हुँदै पनि छ जब मान्छे शिक्षित हुँदै जान्छ विचार र भावना तथा सोच्ने शक्ति सबै परिवर्तन हुँदै जान्छ र हुन जरुरी पनि छ समय सँगै हरेक जातजाति का युवायुवती हरेक अर्कै जातजाति सँग बिहे गरेको प्रमाण प्रशस्त छन् आफ्नो जिवनको वर चुन्न पाउँनु हरेक मान्छे को अधिकार को कुरा हो यदि कसैले जबर्जस्ती गर्छ भने कानुनी व्यवस्था पनि छ तर यदि कसैले आफुलाई मन परेर आफ्नो मर्जी ले सम्बन्ध बनाउँछ भने त्यसमा कसैले आपत्ति जनाएको राम्रो होइन आशिका जर्मनी बुहारी हो छोरी मान्छे ले बिहे गरेर गए पछि आफ्नो कुल चलन संस्कृति परम्परा को जहिले पनि ख्याल गर्नुपर्छ अनि मात्र असल छोरी साबित हुन्छ आफ्नो जातजाति वा आफ्नो घर भित्र जे जस्तो नकारात्मक परम्परा छ त्यसलाई सुधार गर्न सल्लाह दिने ठाउँ समाजिक सञ्जाल फेसबुक जस्तो ठाउँ उचित थिएन आशिका तामाङ लाई विशेष रुपले सामाजिक अभियन्ता को नामले चिनिन्छ आशिका तामाङ ले गरेको काम हरु उसको गोजी बाट निकालेर गरेको छैन यति धेरै टाउकोमा टेकाउन लाई तो एउटा व्यापार नै हो आशिका तामाङ ले नेपाल मा जति सहयोग गरेको छ त्यसको १०० गुणा नेपाली हरुले उसलाई हेरेर प्रतिक्रिया दिएर लाईक कमेन्ट गरेर डलर थुपारिदिएको छ दुई चार हजार ले वाहवाही गर्दैमा आफ्नै जातजाति को बदनाम गर्नु उचित छैन विषेश गरि बाहुन क्षेत्री हरुले आशिका तामाङ लाई समर्थन गरेको देखिन्छ यि जाति भनेको कसरी हुन्छ मङ्गोलियन समुदाय लाई हेप्न खोज्ने तल पार्न खोज्ने कुकुर जाति हुन् यिनी हरुको बिचमा आमा छोरा ले नै रासलिला गरे पनि लुकाएर राख्छन् तर अरुको सानो कुरा लाई विवादमा ल्याउँछन् र बदनाम गर्न खोज्छन् कुकुर जाति हरुको समर्थन ले केहि हुँदैन आशिका तामाङ आफनो आरामदायी जीवन छोडेर भाईरल हुन पट्टी लाग्छन् भने आफ्नै जाति बाट बहिष्कार हुन पनि सक्छिन्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *