यस्ता स्क्यामरको फेला परिएला है… – Nepal Press
ब्लग

यस्ता स्क्यामरको फेला परिएला है…

सुन्नुस् न, एउटा सहयोग चाहिएको थियो ….. एक पुरुषको फेसबुकमा आएको युवतीको मेसेजले अवश्य पनि उसको ध्यान तान्छ नै । बेरोजगारी, फुर्सदी, एक्लोपना होस् वा मानवीय संवेदना कसैले सहयोगको लागि मेसेज पठाइसकेपछि अवश्य पनि चासो हुनु अस्वाभाविक पनि होइन ।

कुरा हुँदै गएपछि युवतीको बुबा अस्पतालमा उपचार गरेको कुरा पनि निस्किन्छ । अस्पतालको बेडमा सुताइएको एक वृद्धको फोटो देखेपछि के भएको हो भन्ने चासो पनि लाग्नु स्वाभाविक नै हो ।

अनि यताबाट अपरिचित युवतीले भन्छिन्- ‘अचानक बुवा बिरामी भएर अस्पताल लिएर आको खर्च ७,००० रुपैयाँ लाग्छ रे ! मसँग केवल ३,००० मात्रै छ । मलाई अहिले ई-सेवाबाट ४,००० रुपैयाँ पठाइदिनुस् न ! म भोलि नै फिर्ता गरिदिन्छु ।

साँझको बेला आएको मेसेज अस्पतालको शय्यामा बिरामी बुवा । च्याटमा रहेका सुनिल (नाम परिवर्तन) ले एकछिन सोच्छन् र भन्छन्- ठीक छ नि ! म अहिले तिमीलाई मेरो अफिसको पैसा छ, त्यही पठाइदिन्छु । तिमी मलाई भोलि वा पर्सिसम्म फिर्ता गरिदिनु है ! ताकि मैले अफिसमा तिर्न सकूँ ।

सुनिलको यो कामले मानवताको एउटा सुन्दर उदाहरण दिन्छ । आवश्यक परेकालाई सहयोग गर्न केही नसोचेका उनले भोलिपल्ट मेसेज गर्छन्- पैसा भरे पठाइदेऊन है ! मैले पनि अफिसमा दिनुपर्छ । उत्तर आउँछ- हुन्छ सर, भोलि नै पठाइहाल्छु । अनि यस्तैगरी बितेको भोलि नआएपछि सुनिलले फेरि सोध्छन् र भन्छन् खोइ त पैसा ?

तर, यो पटक उत्तर आउँदैन । एकाउन्टले अरु मेसेज लिन नसक्ने भन्ने आउँछ । सोझो भाषामा भन्नुपर्दा सुनिललाई उक्त युवतीले ब्लक गरिन् । अब सुनिलले आफ्नो पैसा उठाउने कुनै माध्यम छैन ।

यस्तै फेसबुकमा जोडिएको दुई चार दिनपछि विक्रम (नाम परिवर्तन) लाई सुन्दर युवतीको मेसेज आउँछ, मेसेजमा भनिएको छ- भन्न पनि अप्ठ्यारो, के सोच्नुहुन्छ होला ? यस्तो मेसेज देखिएपछि विक्रम पनि कौतुहल हुँदै सोध्छन् के हो र भन्नु न, किन अप्ठेरो मान्नु ? विक्रमले प्रश्न सोधेपछि उताबाट सुन्दरीको उत्तर आउँछ- एउटा प्रोजेक्टको कामले बाहिर आएको मेरो खुट्टामा चोट लाग्यो । यहाँ नजिकको अस्पतालमा आएको उपचारको लागि ७,००० रुपैंया लाग्छ अरे ! मसँग ३ हजारमात्रै छ । तपाईसँग छ भने मलाई ४,००० एकदिनको लागि ई-सेवामा पठाइदिनु न ! म भोलि नै फिर्ता गरिदिन्छु ।

यो सुनेपछि विक्रमले एकछिन विश्वास गरेन । अनि भन्यो खोइ साँच्चिकै हो कि यत्तिकै हो के थाहा र ? युवतीले खुट्टाबाट रगत बगेको तस्विर पनि पठाउँछिन् । साथै रिसाए जस्तो गर्दै घुर्की लगाउँदै भन्छिन्- नदिने भए नदिनु न किन यस्तो भन्नु । खाँचो परेर पो भनेको, पैसै नभएर त होइन नि ! मान्छेलाई कहिलेकाहीं नसोचेको हुन्छ । त्यस्तै भएर पो मागेको, नत्र किन माग्थे र ?

जति जति प्रविधि बढ्दै जान्छ, ह्याकर र स्क्यामरहरुको ठग्ने तरिका पनि फेरिँदै जान्छ । त्यसैले चिनेको होस् वा अञ्जान व्यक्ति, बहाना बनाएर पैसा माग्छ भने पहिले भेरिफाइ गर्नुपर्छ । अपरिचित व्यक्तिले पठाएको कुनै मेसेज वा इमेलको लिंकलाई क्लिक गर्नु हुँदैन ।

यो सुनेपछि विक्रमलाई पनि खल्लो महसुस भयो र भन्छ- ठीकै छ नि, म पठाइदिन्छु । तर, मलाई भोलि नै फिर्ता गर है । यो सुनेपछि युवतीले पनि हुन्छ, के पैसै नदेखेको जस्तो नसोच्नु न भोलि नै गर्दिन्छु । विक्रमले युवतीलाई ४ हजार पठाइदिन्छ । भोलि साँझ विक्रमले मेसेज गर्छ र भन्छ- कस्तो छ खुट्टा हजुरको ? पैसा पठाइदिनु न है ! उताबाट मेसेज हेरिन्छ । तर, हेरेको १ सेकेन्डभित्रै विक्रमलाई ब्लक गरिन्छ । अनि विक्रमले छर्लङ्ग बुझ्छन्, कसैले उनलाई मूर्ख बनाए । उनको सोझोपनको फाइदा उठाइयो ।

मानवता भनौं वा सुन्दर युवतीको नाममा केही नसोची कारोबार गर्दाको हानी भनौं, विक्रम थकथकाउनबाहेक केही सक्दैनन् । माथि दिइएका दुई सत्य घटनामा सामान्य उदाहरणमात्र हुन् । अचेल अनलाइन सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटस्यापलगायतका विभिन्न सामाजिक सञ्जालमा यसरी फिसिंग गर्न बल्छी थाप्ने कार्य फस्टाउँदो छ ।

कतिपय अवस्थामा नक्कली प्रोफाइल त कतिपयमा सक्कलीबाटै युवाहरुलाई लक्षित गर्दै मीठो बोले जस्तो गर्दै आफ्नो फाइदाको निम्ति पैसाको लेनदेन गरेर ठग्ने गिरोह नै सक्रिय भएको छ भन्दा फरक नपर्ला । विभिन्न बहाना हुन्छ । कहिले आफैं बिरामी, कहिले बुवा बिरामी, कहिले के त कहिले के, सबैको एउटै बहाना पनि हुँदैन । तर, सबैको एउटै उपाय हुन्छ, सुन्दर फोटो राखेर त्यसको प्रलोभनमा युवाहरुलाई पार्ने ।

चाहे कामुकता होस् वा चाहे मानवीय संवेदना । यसरी गरिने मेसेजमा थुप्रै युवा फस्ने गरेका छन् । युवाहरुलाई लक्षित गरी सहयोगको लागि आग्रह गर्ने र केही दिनमा ब्लक गरिदिने । अझ यसरी पैसा माग्ने गिरोहले शंका नहोस् भनेर धेरै रकम पनि माग्दैनन्, केवल ३ हजार वा ४ हजार त हो, के नै भो र भन्ने आसयले पैसा माग्छन् ।

दिनेले पनि ठीकै छ, केवल यति त हो । साँच्चिकै आपत परेरै त होला भनेर सहयोग गर्छन् । तर, केही दिनमा स्पष्ट हुन्छ, आफू ठगिएको भन्नेबारे । जबकि त्यस्ता ठगहरुले चारचार हजारको दरले यस्तै विक्रमहरु जस्तै एक सय जनालाई एक दिनमा ठगिसकेका हुन्छन् ।

इन्स्टाग्राममा मेरो कम्पनीको विज्ञापन गरिदिनु भन्दै मेसेजहरु पठाइन्छ । त्यसबापत २०० देखि ५०० डलर उपलब्ध गराइिदने भन्ने देख्दा कसको मन नरमाउला र ? तर, त्यसको लागि आफ्नो इमेल आईडीको सट्टा यो इमेल आईडी हाल्नु भन्दै एकाउन्ट नै ह्याक गर्ने र त्यसबापत पैसा माग्ने गरिन्छ ।

चाहे चिनेको होस् वा अञ्जान व्यक्ति होस्, बहाना बनाएर पैसा माग्छ भने पहिले भेरिफाइ गर्नुपर्छ । कौन बनेगा करोडपतिवाला ह्वाटस्याप स्क्याम होस् वा कोकाकोलाको करोडौंको पुरस्कार ! कुनै पनि अपरिचित व्यक्तिले पठाएको कुनै मेसेज वा इमेलको लिंकलाई क्लिक गर्नुहुँदैन ।

जति जति प्रविधि बढ्दै जान्छ, ह्याकर र स्क्यामरहरुको तौरतरिका पनि फरक हुँदै जान्छ । बहाना फरक हुन्छन् । कतिपयको आशय फरक हुन्छ । तर, फस्ने सोझासाझा वर्ग । कतिपय झूटो आँसुमा त कतिपय कामुक तस्वीरको भरमा लुटिएको वा भनौं ठगिएका छन् । तर, लाजले वा आफ्नै गल्ती त हो भन्ने पछुतोले यस्ता घटना कसैले कसैलाई भन्न रुचाउँदैन ।

घरमा श्रीमती हुँदाहुँदै अन्य केटीसँग बोल्दा ठगिएको होस् वा एक्लोपनको कारणले भड्किएको युवा जोसले गर्दा होस गुमाउँदा ठगिने व्यक्ति होस्, यस्ता घटना बाहिर ल्याउँदैनन् । तर, ठग्ने क्रम भने रोकिँदैन ।

त्यसैले चाहे चिनेकोे होस् वा अञ्जान व्यक्ति होस्, बहाना बनाएर पैसा माग्छ भने पहिले भेरिफाइ गर्नुपर्छ । कौन बनेगा करोडपतिवाला ह्वाटस्याप स्क्याम होस् वा कोकाकोलाको करोडौंको पुरस्कार ! कुनै पनि अपरिचित व्यक्तिले पठाएको कुनै मेसेज वा इमेलको लिंकलाई क्लिक गर्नुहुँदैन ।

कुनै पनि व्यक्तिले करोडौं वा हजार नै किन नहोस् दिन्छु भन्छ वा दिनुस् भन्छ भने कुनै जान्ने बुझ्ने व्यक्तिसँग एक पटक भए पनि सल्लाह गर्नु आवश्यक हुन्छ । हचुवाका भरमा मान्छे करोडपति हुने भए संसारमा कोही गरिब नै हुने थिएन होला । त्यसैले सुन्दर रुप देखिएको भरमा फेसबुक, इन्स्टामा पैसाको कारोबार नगर्नुहोस् । अनि करोड, लाख देखिएको भरमा परेकै हो, जितेकै हो, मैले पाउँछु भन्ने नसोच्नुहोस् । यसरी लोभ गर्दा पैसा आउने त होइन । तर, कमाएको रकम भने अवश्य जानेछ ।

(पूर्व टेलिभिजन पत्रकार लेखक अधिकारी हाल संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *