एसईईपछि नेपालमा पढाइ हुने यी हुन् ७२ वटा प्राविधिक विषय, कति लाग्छ खर्च ? – Nepal Press

एसईईपछि नेपालमा पढाइ हुने यी हुन् ७२ वटा प्राविधिक विषय, कति लाग्छ खर्च ?

साढे ५ हजारलाई निशुल्क, कसरी दिन सकिन्छ आवेदन ?

काठमाडौं । परम्परागत शिक्षाभन्दा व्यवहारिक, व्यवसायिक र सीपयुक्त प्राविधिक शिक्षाले रोजगारीको सम्भावना बढ्दो भएकाले पछिल्लो समय नेपालमा प्राविधिक शिक्षाको आकर्षण पनि बढ्दो छ । प्राविधिक विषयले सकभर बेरोजगार बस्नुनपर्ने भएकालेले पनि यसमा विद्यार्थीको आकर्षण बढिरहेको हो ।

अहिले एसईईको नतिजा प्रकाशन भएसँगै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भर्ना खोलेको छ । एसइईको नतिजा पनि आइसकेको छ । एसइई नतिजा असार २१ गते आएको थियो । एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सामेल थिए । प्राविधिकतर्फका १५ हजार ४६१ जना परीक्षार्थीसमेतले एसईई दिएका थिए ।

एसईई दिएका विद्यार्थीले प्राविधिक शिक्षातर्फमा ७२ वटा विषयको अध्ययन गर्न सकिने सीटीईभीटीले जनाएको छ । ३६ महिने डिप्लोमामा ४९ वटा र १८ महिने प्रि-डिप्लोमामा ३३ वटा विषय पढ्न सकिने सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए ।

अधिकारीले भने, ‘एसइईको परीक्षा दिएका सबैले प्राविधिक शिक्षा पढ्न पाउँछन् । तर, डिप्लोमातर्फ स्वास्थ्यको प्राविधिक शिक्षा लिनको लागि २ जीपीए आउनुपर्छ । अन्य डिप्लोमा पढ्न १.६ जीपीए ल्याएकाले पनि पढ्न पाउने छन् । भने, १८ महिने प्रि-डिप्लोमा तर्फको प्राविधिक शिक्षा लिनको लागि एसइईमा सामेल सबै विद्यार्थीलाई खुला छ ।’

प्राविधिक शिक्षातर्फ स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान र अप्रेन्टिसिपलगायतका विषय अध्ययन गर्न पाइनेछ । यी कार्यक्रमको अवधि १८ र ३६ महिने रहेको छ ।

प्राविधिक शिक्षा २, ३, १० र १८ महिने पनि छन् । छोटो समयको प्राविधिक शिक्षा लिँदा तालिमबाट सीपमात्र सिकिन्छ । यी छोटा अवधिका तालिमले माथिल्लो तहको स्नातक पढ्न भने पाइन्न । ३ वर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसर पनि हुन्छ ।

डिप्लोमा र स्वास्थ्यतर्फ कुन-कुन विषय पढ्न पाइन्छ ?

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा ११ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा प्रमाणपत्र तहको नर्सिङ, नेत्रविज्ञान, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर तथा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन फिजियोथेरापी र डप्लोमा इन योग एण्ड नेचुरोप्याथी पढ्न पाइन्छ ।

स्वास्थ्यतर्फ ३ हजार ६३७ जना पुरुष र ७ हजार ५८५ जना गरी ११ हजार २२२ जनाले अध्ययन गर्न सक्ने छन् । स्वास्थ्यमा डिप्लोमा तर्फका विषय अध्ययन गर्न २ जीपीए ल्याएको हुनुपर्छ । यसअघि प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्यूनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको हुनुपर्ने व्यवस्था थियो ।

इञ्जिनियरिङतर्फ के-के छन् विषय ?

इञ्जिनियरिङ सम्बन्धित कार्यक्रममा १६ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ, डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ (हाइड्रोपावर), डिप्लोमा इन मेकाट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इन्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चर इन्जिनियरिङ अध्ययन गर्न पाइन्छ ।

डिप्लोमा इञ्जिनियरिङतर्फ पुरुष ७ हजार २०७ जना र महिला २ हजार ५०२ जना गरी ९ हजार ७०९ जनाले अध्ययन गर्न पाउने छन् । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि १.६ जीपीए आए पढ्न पाइन्छ । यसभन्दा पहिले डिप्लोमा इञ्जिनियरिङतर्फका विषय पढ्नको लागि विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्युनतम डी प्लस ग्रेट हुनु व्यवस्था थियो ।

कृषि तथा वनविज्ञानमा ४ वटा विषय

कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न पाइने छ । जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन् । जसमा पुरुष २ हजार ५०५ जना, महिला २ हजार ७८५ र अन्य १ जना गरी ५ हजार २९१ जनाले अध्ययन गर्न सक्ने छन् ।

हस्पिटालिटी तथा अन्य

हस्पिटालिटी तथा अन्यतर्फ डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिप्लोमा इन सोसियल वर्क पढ्न पाइने छ । जसमा पुरुष २४७ र महिला १०१ गरी जम्मा ३४८ जनाले अध्ययन गर्न पाउने छन् । डिप्लोमातर्फ २६ हजार ५९० जनाले अध्ययन गर्न पाउने छन् ।

प्रि-डिप्लोमातर्फ इञ्जिनियरिङ ८ वटा, कृषिमा ३ वटा, हस्पिटालिटी तथा अन्यमा ५ वटा र अप्रेन्टिसिप ७ वटा विषय अध्ययन गर्न पाइन्छ । प्रि-डिप्लोमामा विभिन्न ४ क्षेत्रका विभिन्न विषयमा ९ हजार ९६१ जनाले अध्ययन गर्न पाउने छन् ।

५ हजार ५१० जनाले निशुल्क प्राविधिक शिक्षा लिन पाउने छन् । अधिकारीका अनुसार सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले डिप्लोमामा ३ हजार ६७४ जना र प्रि-डिप्लोमामा १ हजार ८३६ जनाले छात्रवृत्ति अर्थात् नि:शुल्क पढ्न पाउने छन् ।

डिप्लोमा र प्रिडिप्लोमामा ८४ हजार ७१७ जनालाई अध्ययन गराउन सकिने क्षमता रहेको छ ।

कसरी दिने निशुल्क पढ्नलाई छात्रवृत्तिको आवेदन ?

सीटीईभीटीले असार १८ गते शुल्क तिरेर र २९ गते छात्रवृत्तिको लागि आवेदन खोलेको छ । विद्यार्थीले आगामी साउन १२ गतेसम्म सीटीईभीटीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । सीटीईभीटी मान्यता प्राप्त शिक्षालयहरूमा पढ्नको लागि आवेदन दिन सकिन्छ ।

छात्रवृत्तिमा पढ्न चाहनेले सीटीईभीटीको वेबसाइट वा सीटीईभीटी परीक्षाको वेबसाइट गएर अनलाइनबाट आवेदन दिन सकिने छ ।

छात्रवृत्तिमा डिप्लोमातर्फ आवेदन दिन १ हजार र र प्रि-डिप्लोमा तहको छात्रवृत्तिको लागि आवेदन दिन ५ सय शुल्क लाग्नेछ । सो शुल्क कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्न सकिन्छ । परीक्षा केन्द्रको विषयमा साउन १५ गते सूचना आउने सीटीभीईटीले बताएको छ ।

कति कलेजमा पढाइ हुन्छ प्राविधिक शिक्षा ?

सिटीईभीटीमार्फत सञ्चालित आंगिक शिक्षालय ६५, साझेदारी शिक्षालय ५२, सामुदायिक विद्यालय ६ सय ३६ र निजीस्तरका ४ सय २२ वटा कलेजमा अध्यय गर्न सकिन्छ । सबै गरेर १ हजार १७६ शैक्षिक संस्थामा प्राविधिक शिक्षा लिन सकिन्छ ।

कति लाग्छ प्राविधिक शिक्षा पढ्न शुल्क ?

डिप्लोमा अन्तर्गत ४९ वटा विषय पढ्न आंगिक मान्यता पाएका कलेजहरुमा विषयअनुसार ८५ देखि १ लाख ६० हजार शुल्क लाग्छ । सामुदायिक र सरकारी अनुदान भएका कलेजहरुमा विषय अनुसार ९० हजारदेखि १ लाख ९० हजार शुल्क लाग्छ । सरकारी अनुदान नपाउने साझेदारी कलेजहरुले २ लाख ५ हजार शुल्क लाग्ने सीटीईभीटीले बताएको छ ।

त्यस्तै, प्रि-डिप्लोमा अन्तर्गत विषयहरूमा आंगिकमा १५ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ५५ हजार रूपैयाँ शुल्क लाग्छ ।

प्रि-डिप्लोमाकै इन्जिनियरिङ अध्ययन गर्दा आंगिकमा २२ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ६५ हजार रूपैयाँ लाग्नेछ । प्रि-डिप्लोमाको व्यवस्थापन र अन्य प्राविधिक विषयमा भने आंगिक शिक्षालयमा १८ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानहरूमा ५५ हजार शुल्क तोकिएको सीटीईभीटीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर