बाढी पहिरोका कारण जन धनको क्षति हुन नदिन पूर्व सर्तकता बढाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन – Nepal Press

बाढी पहिरोका कारण जन धनको क्षति हुन नदिन पूर्व सर्तकता बढाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ ।

आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधान तथा गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु समेतको उपस्थिति थियो ।

छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासमक्ष सम्बन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएका थिए ।

मन्त्री खड्काले बाढी पहिरो लगायतका कारण जन धनको क्षति हुन नदिन तथा अवरुद्ध भएका राजमार्ग तत्काल सुचारु हुने व्यवस्था मिलाउनका साथै विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

साथै, उनले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाइ राहत वितरणका सम्बन्धमा कुनै कानूनी बाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए ।

देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरुलाई विपद्को पूर्व आंकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *