लघुवित्तपीडितको दिनहुँ र्‍याली र धर्ना, किन भए आन्दोलित ? (भिडिओ) – Nepal Press

लघुवित्तपीडितको दिनहुँ र्‍याली र धर्ना, किन भए आन्दोलित ? (भिडिओ)

काठमाडौं । लघुवित्तपीडितहरू केही दिनयता राजधानीकेन्द्रित आन्दोलनमा छन् । जिल्ला-जिल्लाबाट संघर्ष समिति बनाएर सयौंको संख्यामा पीडितहरू माइतीघरमा उत्रिएका छन् ।

माइतीघर चोकको बीच सडकमा पीडीतहरू टेण्ट टाँगेर बसेका छन् । खाजासामलसहित आन्दोलनमा होमिएका पीडीतहरू पानीझरीको प्रवाह नगरी दिनहुँ माइतीघरदेखि संसद भवनसम्म विरोध र्‍याली निकाल्छन् । प्रहरी पछिपछि लाग्छ । यसरी नै बितिरहेको छ उनीहरूको दिनचर्चा ।

आजैमात्र संसद भवन घेर्न पुगेका प्रदर्शनकारीको प्रहरीसँग घम्साघम्सी परेको छ । एभरेष्ट होटलबाट अगाडि बढ्न प्रहरीले अवरोध गर्दा पीडितहरूले प्रहरीको ब्यारिगेट तोड्न खोज्दै प्रतिकार गरेका छन् । प्रहरी घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही प्रदर्शनकारी भने पक्राउ परेका छन् ।

पीडितहरूले लघुवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग राखेका छन् । १२ दिनसम्म आन्दोलनलाई जारी राख्ने बताएका उनीहरूले त्यसपछि आन्दोलनको स्वरूप परिवर्तन गर्ने बताएका छन् ।

लघुवित्तहरूले ऋणभन्दा बढी रकम असुलिरहेको उनीहरूको गुनासो छ ।

हामीले आन्दोलनमा काठमाडौं आएका लघुवित्तपीडितहरूसँग कुरा गरेका छौं-

बर्दियाका गोरख थापामगर आजभन्दा ४०/५० वर्ष पहिला डडेलधुरा गन्यापधुरामा बस्थे । डडेलधुरा बस्दा आफू कांग्रेसी भएको र शेरबहादुर देउवाको भारी समेत बोकेको बताउँछन् उनी ।

उनले भने, ‘मैले शेरबहादुरको भारी बोकेको थिए जमानामा । म २२ सालको कांग्रेस हुँ । ऊ बेलामा आन्दोलन गरेर राजा फलेका हात हुन् । अहिले देउवाले हामीलाई हेरेनन् । अब हामी देउवालाई हराउँछौं ।’

१० वटा लघुवित्तबाट ऋण लिएकी मोरङ जिल्ला बेलबारी नगरपालिका ७ बस्ने ललिता (नाम परिवर्तन) ले २० लाख ऋण लिएकी छिन् ।

उनी भन्छिन, ‘हामीलाई लघुवित्तहरूले ऋण लिन सिकायो र ठग्ने काम गर्‍यो । लघुवित्तहरूले ऋण लिन फकाइफूलाइ गर्छ । ऋण लिनुस् तपाईँलाई भविषयमा सजिलो हुन्छ । बचत गर्नुस् सरकारको सुविधा हो भनेर फकाउँछन् । अब सरकारले हामीलाई न्याय गर्नुपर्छ ।’

दैलेखबाट आएकि एक महिला भन्छिन, ‘म एकल महिला हुँ । मेरा श्रीमान् लघुवित्तकै कारण बेपत्ता हुनुभयो । घरमा गरीखान केही छैन । सरकाले ऋण मिनाहा गर्छ र कतै सहुलीयत हुन्छ भनेर हामी यहाँ आएका छौं ।’

मोरङका दिलबहादुर विश्वकर्मा पढेलेखेकाले अनपढ दिदीबहिनीलाई फकाएर लघुवित्तको जालोमा फसाएको आरोप लगाउँछन् । लघुवित्त खारेज र ऋण मिनाहा हुनुपर्ने उनको माग छ ।

लघुवित्त संघर्ष समितिका उपाध्यक्ष बर्दियाका जीवन सुनार लघुवित्तले गाउँमा बसिखान नदिएपछि न्यायका लागि काठमाडौं धाएको व्यथा सुनाउँछन् ।

‘बर्दियाबाट एक गाडी पीडित आएका छौं । आर्थिक अवस्था निकै कमजोर छ । यहाँ बस्न पनि मुश्किल छ । खानका लागि पनि अप्ठयारो परिरहेको छ ।’

त्यस्तै अर्की पीडित गंगा थापामगर कैलालीबाट धर्ना दिन आएकी छन् ।

‘यसअघि पनि हामी माइतीघरमा आए थियौ । तर, सरकारले हाम्रो समस्या समाधान गरेन । फेरि आएका छौं । लघुवित्तले हामीमाथि ज्यादती गरेको छ, दुख दिएको छ । धेरैकुरा भनेर साध्य छैन । हामीले ऋण तिरिरहेका छौं तर हामीलाई अप्ठयारो पर्दा समय माग्दा पनि समय दिँदैन । हाम्रो क्षेत्रबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर सांसद हुनुहुन्छ । चुनावका बेला हामी चाहिन्थ्यौं तर अहिले हेरेनन् ।’

संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष सल्यानका खेमबहादुर रानाले आफूहरूको माग सम्बोधन नभई आन्दोलन नरोक्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर