बागमती प्रदेशको तीन जिल्लामा एकीकृत बस्ती निर्माण गरिने – Nepal Press

बागमती प्रदेशको तीन जिल्लामा एकीकृत बस्ती निर्माण गरिने

हेटौँडा । बागमती प्रदेशका तीन जिल्लामा एकीकृत बस्ती तथा आवास निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारले मकवानपुर, धादिङ र चितवन जिल्लामा एकीकृत बस्ती तथा आवास निर्माण गर्ने भएको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा एकीकृत बस्ती निर्माणको लागि १२ करोड रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले बताए ।

मन्त्री दुलालको अनुसार तिन जिल्लामा रहेका चेपाङ, बोटे, माझी, बनकरियाका लागि एकीकृत वस्ति तथा आवास कार्यक्रमका लागि भनेर चालु आर्थिक वर्षमा १२ करोड रुपैयाँ खर्च गर्ने तयारी गरिएको हो ।

घर नभएका, घर भएर पनि अत्यन्त जीर्ण अवस्थामा रहेका लक्षित समुदायको लागि एकीकृत बस्तीको अवधारणा ल्याइएको मन्त्री दुलालको भनाई रहेको छ ।

निकै विकट क्षेत्रमा बस्ने चेपाङ तथा बनकरिया र धेरैजसो खोलाको क्षेत्रमा रहेका माझी समुदायको लागि एकीकृत बस्ती निर्माणको काम हुने र सो कामले उनीहरूको जीवनस्तरमा परिवर्तन आउने बुझाई मन्त्रालयको रहेको छ ।

मन्त्रालयले यसअघि धादिङको रुविभ्यालीमा एकीकृत बस्ती निर्माणको योजना सुरु गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *