समाचार लेखेको भन्दै बराहक्षेत्रका मेयर कार्कीको सचिवालयबाट पत्रकारलाई हात खुट्टा भाँचिदिने धम्की – Nepal Press

समाचार लेखेको भन्दै बराहक्षेत्रका मेयर कार्कीको सचिवालयबाट पत्रकारलाई हात खुट्टा भाँचिदिने धम्की

विराटनगर । सुनसरी बरहाक्षेत्रका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको विषयमा घरमै गएर ज्यान मार्ने धम्की दिइएको छ ।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले हिजो घरमै गएर धम्की दिएका हुन् ।

मेयर कार्कीका विषयमा सुविनले हिजो हाम्रो शब्द अनलाइनमा समाचार लेखेका थिए ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका कार्य समिति सदस्य तथा ग्रामीण पत्रकार समाज वराहक्षेत्रका सचिव विश्वकर्मालाई समाचार प्रकाशित भएपछि क्षेत्रीले भेट्न भनेका थिए ।

विश्वकर्माले भेट्न मानेनन् । भेट्न नमानेपछि क्षेत्रीले ‘तिमी बढी भयौ बसेर लामो कुराकानी गर्नु पर्ने छ’ भन्दै फोन राखेका थिए । विश्वकर्माले भेट्न नमानेपछि क्षेत्री घरै पुगेर धम्क्याएको पत्रकार विश्वकर्माले बताए ।

स्कुटी चढेर विश्वकर्माको घर पुगेका क्षेत्रीले ‘तिमी बढी भयौ घरमा रहेछौ बाहिर भए हात खुट्टा भाँचिदिन्छु’ भन्दै धम्क्याएको अडियो रेकर्ड नेपाल प्रेससँग सुरक्षित छ ।

घरमा पुगेका क्षेत्रीलाई पत्रकार विश्वकर्माले बस्न आग्रह गर्छन् । उनको आग्रहलाई अस्वीकार गर्दै क्षेत्रीले ‘म बस्न आएको होइन’ भन्दै विश्वकर्मालाई धम्क्याउँछन् ।

कार्की नेपाली कांग्रेसका तर्फबाट वराहक्षेत्र नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । पत्रकार विश्वकर्मालाई धम्की दिने क्षेत्री मेयरका आफन्त समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *