अष्ट्रेलियाको तटमा पनि मृत फेला परे ५१ पाइलट ह्वेल – Nepal Press

अष्ट्रेलियाको तटमा पनि मृत फेला परे ५१ पाइलट ह्वेल

पर्थ । स्कटल्याण्ड पछि पश्चिमी अस्ट्रेलियाको तटमा ५० भन्दा बढी पाइलट ह्वेल मरेका छन्।

बुधवार बिहान पार्क्स एण्ड वाइल्डलाइफ सर्भिसले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने, ‘पश्चिमी अष्ट्रेलियाको चेनेस किनारामा ठूलो मात्रामा फसेको कारण रातारात ५१ पाइलट ह्वेल मरेको भेटिए।’ यससँगै ४६ पाइलट ह्वेललाई गहिरो पानीमा ल्याउने प्रयास भइरहेको पनि जानकारी दिइएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार मङ्गलवार बिहान पाइलट ह्वेलहरूको समूह अल्बानीबाट ६० किलोमिटर पूर्वमा चेनेस बीचमा पौडी खेलिरहेको देखिएको थियो । साँझ पर्न थालेपछि पाइलट ह्वेलको समूह किनारतर्फ सरेका थिए ।

रात परेपछि डीबीसीए पार्क र वन्यजन्तु सेवाका कर्मचारीहरू आइपुगे र संरक्षित क्षेत्रमा ह्वेलहरूको कल्याणको निगरानी गर्न रातभर बस्नको लागि शिविर स्थापनासमेत गरे।

टोलीमा पर्थ चिडियाखानाका पशु चिकित्सक र समुद्री जीव वैज्ञानिकहरू, जहाजहरू र स्लिङहरू लगायतका विशेष उपकरणहरू समावेश गरिएको थियो ।

स्मरण रहोस्, एक हप्ता अघि स्कटल्याण्डको लुईस आइलको ट्राघ म्होर समुद्र तटमा ५५ ह्वेलहरूको समूह मृत फेला परेको थियो।

स्थानीय समयअनुसार आइतबार बिहान सबेरै ह्वेलको समूह नराम्ररी फसेको सूचना पाएपछि प्रहरी, समुद्री उद्धार टोली र तट रक्षक टोलीलाई घटनास्थलमा बोलाइएको थियो । यहाँ पुगेपछि उद्धार टोलीले ५५ ह्वेलको समूहमा रहेका अधिकांश ह्वेल मरेको थाहा पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर