डोटीको हिमशिखरले रकम नदिएकाे बचतकर्ताकाे गुनासाे बढ्दाे – Nepal Press

डोटीको हिमशिखरले रकम नदिएकाे बचतकर्ताकाे गुनासाे बढ्दाे

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का गोरखबहादुर भण्डारी सिलगढी बसपार्क नजिक नास्ता पसल चलाउँछन् । उनले दैनिक बचाएको पैसा हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरे । आफूले जम्मा गरेको रकम माग्न जाँदा हिमशिखरले उनलाई बहाना बनाएर फिर्ता पठायो ।

‘बैङ्कको किस्ता तिर्नुपर्ने थियो, पैसा झिक्न गएको, दिएनन्’, भण्डारी भने भने, ‘अप्ठेरोमा काम लाग्ला भनेर दुःख गरेर कमाएको पैसा जम्मा गरें, अहिले माग्दा आफ्नै पैसा पनि दिँदैनन् ।’

संस्थाले दिन्छु दिन्छु भन्ने तर नदिने गरेको उनको भनाइ छ । छोरा, नाति र नातिनीको नाममा एक लाख ६९ हजार ९२४ रुपैयाँ जम्मा गरेको उनी बताउँछन् ।

दिपायल सिलगढी नगरपालिका- ६ का दीपक श्रेष्ठले करिब दुई लाख रुपैयाँ जम्मा गरेका थिए । अप्ठेरो परेका बेला काम लाग्ला भन्दै एकदुई सय दैनिक बचत गर्दै आएका उनले पनि चाहिएको बेला आफ्नो पैसा फिर्ता पाएका छैनन् ।

‘पैसा माग्न गयो भने लगानी लाएको रकम फिर्ता नभएका कारण समस्या भएको भन्छन्’, दीपकले भने, ‘आफूलाई समस्या परेको बेला आफ्नै पैसा पनि नपाइने भयो ।’

दिपायल सिलगढी नगरपालिका- ६ का रुपक थापाले पनि हिमशिखरमा छोराको नाममा दैनिक एकदुई सय जम्मा गर्दै आएका थिए । उनको करिब ५० हजार रुपैयाँ संस्थामै थन्किएको छ ।

‘पैसा जसरी पनि फिर्ता गर्छौं त भनिरहेका छन् । तर, आफूलाई समस्या परेको बेला दिँदैनन्’, रुपकले भने ।

हिमशिखरमा दैनिक बचत गर्दै दुई लाखभन्दा माथि पुर्‍याएका रमेश भण्डारीले आफ्नो पैसा फिर्ता पाएका छैनन् । उनी ५० हजारको चेक लगेर गए तर साटिएन ।

दिपायल सिलगढी नगरपालिका- ५ की शोभा खरेलको बचत दुई लाख नाघेको छ । आफ्नो बचत रकम फिर्ता लिन उनी पटक पटक संस्था धाइन्, तर आफ्नो रकम फिर्ता पाएकी छैनन् ।

अचेल संस्थाको कार्यालयसमेत बन्द भएका कारण आफूलाई थप शंका लागेको शोभाको भनाइ छ ।

दिपायल पिपल्लामा बैंकिङ कारोबार सञ्चालन गरेको हिमशिखरले बजार प्रतिनिधिमार्फत घरघरमै गएर दैनिक बचत संकलन गरेको थियो । विगतमा कोरोना महामारीले देशकै अर्थतन्त्रमा तरलता सिर्जना भएको कारण देखाउँदै सो संस्थाले २०७९ साल पुस २२ गते एक सूचना जारी गर्दै एक महिनासम्म चेक भुक्तानी दिन नसकिने जनाएको थियो । संस्थामा बचत भुक्तानीको दर बढ्दै गएको तर कर्जा असुलीको दरमा कमी आई आर्थिक असन्तुलन भएको सूचनामा उल्लेख थियो ।

सूचना प्रकाशन भएको एक महिनापछि पनि बचतकर्ताहरुले आफ्नो पैसा फिर्ता पाउन सकेनन् । तर, बचतकर्ता सबैको रकम फिर्ता हुने संस्थाका सचिव खडकविक्रम शाही बताउँछन् । ‘हामीले बचत संकलन गरेर लगानी लगाएका छौं, लगानीको रकम किस्तामा संकलन भइरहेको छ’, उनले भने, ‘त्यसकारण सबै बचतकर्ताको रकम एकमुष्ट फिर्ता गर्न नसकिएको मात्रै हो ।’

आफूहरु स्थानीयबासी भएकाले बचतकर्ताको पैसा खाएर कतै भाग्ने ठाउँ नरहेको शाही बताउँछन् । उनले किस्ता किस्ता गरेर सबै बचतकर्ताको रकम फिर्ता हुने बताए । कर्मचारीहरु लगानी असुल गर्न फिल्डमा खटिरहेकासमेत उनले दाबी गरे ।

यसअघि शिवशिखर सहकारी संस्थाबाट ठगिएको भन्ने गुनासा आएपछि प्रहरीले सो संस्थाविरुद्ध उजुरी संकलन गरेको थियो । जिल्ला प्रहरी कार्यालय डोटीले सूचना प्रकाशन गरी उजुरी माग गरेपछि ६१८ जनाले आफ्नो ६ करोड ४० लाख ६२ हजार ९९० रुपैयाँ हिनामिना भएको भन्दै उजुरी गरेका थिए ।

शिवशिखरले डोटीमा स्थापना गरेको शाखा कार्यालयसमेत बन्द गरेर भागेपछि हिमशिखरका बचतकर्ताहरु समेत डराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर