लिम्पियाधुरामा गरेको सम्झौताबाट पछि हट्न चीनलाई ग्रेटर नेपालको ज्ञापन पत्र – Nepal Press

लिम्पियाधुरामा गरेको सम्झौताबाट पछि हट्न चीनलाई ग्रेटर नेपालको ज्ञापन पत्र

काठमाडौं । ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चाले नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्याच्युनलाई दुई बुँदे ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापन पत्रमा लिम्पियाधुरामा भारत र चीनबीच व्यापार विस्तार गर्ने सम्झौताबाट चीनलाई पछि हट्न आग्रह गरिएको छ ।

ग्रेटर नेपालका संयोजक फणीन्द्र नेपालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भारत चीनको संयुक्त वक्तव्यबाट अलग भई नेपाली जनताका मनमा उत्पन्न चीनप्रतिको अविश्वासको भावना हटाउने सदाशयता देखाउन र नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चा चिनियाँ कम्युनिस्ट पार्टीलाई गरिएको छ ।

त्यस्तै, ज्ञापन पत्रमा सन् १७९२ मा भएको चीन नेपालबीचको सन्धिको धारा ५ को प्रावधानअनुसार हामीमाथि आइपर्न सक्ने सुरक्षासङ्कटको निवारणका निम्ति चीन सरकारको ध्यान जाने उल्लेख गरिएको छ ।

यस्ताे छ ज्ञापन पत्र: 

जुलाई २५, २०२३

नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दुई बुँदे ज्ञापनपत्र

श्रीमान् युआन च्याच्युन पोलिटब्युरो सदस्य , चिनियाँ कम्युनिस्ट पार्टी जनवादी गणतन्त्र चीन हाल: काठमाडौँ , नेपाल । महोदय, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालमा तपाईँलाई न्यानो र हार्दिक अभिवादन गर्दै तलका दुई अनुच्छेदमार्फत् तपाईँ र सिङ्गो चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गर्दछ ।

१. ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ सूत्रीय बेत्रावती सन्धिको धारा ५ मा उल्लेख भएको प्रावधानप्रति चिनियाँ कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गर्न चाहन्छ जसमा `कुनै पनि विदेशी शक्तिले आक्रमण गरेमा चीनले नेपाललाई सहयोग गर्न कुनै कसर बाँकी राख्नेछैन ।’ भनी स्पष्ट गरिएको छ ।

2. नेपालको सार्वभौमसत्तासम्पन्न क्षेत्र कालापानीमा इन्डियाले सन् 1962 देखि सेना राखेर कब्जा जमाउँदै आएकोमा 2015 मा चीन र इन्डियाबीच लिपुलेखबाट व्यापार गर्ने भनी उक्त दुई देशका प्रधानमन्त्रीबीच संयुक्त वक्तव्यमा हस्ताक्षर भएबाट नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध खुला प्रहार भएको छ ।यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिई उक्त संयुक्त वक्तव्यबाट अलग भई नेपाली जनताका मनमा उत्पन्न चीनप्रतिको अविश्वासको भावना हटाउने सदाशयता देखाउन र नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न ग्रेटर नेपाल नेपाल राष्ट्रवादी मोर्चा चिनियाँ कम्युनिस्ट पार्टीलाई विशेष आग्रह गर्दछ । ३. नेपाल सधैँ एक चीन नीतिको समर्थन र चीनको भौगोलिक अखण्डताको पक्षमा वकालत गर्दै आइरहेको छ र गरिरहनेछ । सैनिक शक्तिको घमन्डमा साना मुलुकमाथि गरिने थिचोमिचो नेपाललाई कदापि सह्य हुँदैन । राष्ट्रिय एकता र सार्वभौमसत्ता सानाठूला सबै मुलुकका निम्ति समान हुन्छन् । देशको आकार र सैनिक शक्तिले सार्वभौसत्ताको स्तरीकरण गर्छ भन्नु गलत हो ।अप्ठ्यारो परिस्थितिमा एउटा छिमेकीले अर्कालाई सहयोग गर्नु नै सच्चा मित्रता हो । सन् १७९२ मा भएको उक्त सन्धिको धारा ५ को प्रावधानअनुसार हामीमाथि आइपर्न सक्ने सुरक्षासङ्कटको निवारणका निम्ति चीन सरकारको ध्यान जानेछ भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अपेक्षा रहेको छ । यसले नेपाल र चीनबीचको सम्बन्धलाई अझ सशक्त र प्रगाढ बनाउन मद्दत पुर्याउँनेछ ।

फणीन्द्र नेपाल

अध्यक्ष

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

काठमाडौँ, नेपाल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *