ओहो, कत्रो ठूलो लाखेको मुकुन्डो ? – Nepal Press

ओहो, कत्रो ठूलो लाखेको मुकुन्डो ?

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका कलाकार सोम तामाङको ग्यालरीमा अहिले अजंगको लाखेको मुकुन्डो बनिरहेको छ । साढे पाँच फिट उचाइ र ६ फिट लम्बाइको लाखेको अजंगको उक्त मुकुन्डो हालसम्मकै ठूलो भएको उनको दाबी छ ।

नाचमा प्रयाेग हुने सामान्य एकदुई फिटकाे मात्रै लाखेकाे मुकुन्डाे बनाउँदै आएकाेमा यस पटक यत्राे विशाल मुकुन्डाे बनाएकाे साेमले बताए ।

‘मैले अहिलेसम्म यत्रो ठूलो मुकुन्डो देखेको छैन । मैले पनि यत्रो ठूलो मुकुन्डो पहिलोपटक बनाएको हुँ’, उनले भने ।

सोमले यो आकारको मुकुन्डो एकैपटक तीनवटा बनाएका हुन् । जसमध्ये दुइटा  उनले बेचिसकेका छन् । यो भने बिक्रीमा रहेको उनले बताए । तीन महिना लगाएर बनाइएको अजंगका दुई मुकुन्डो काठमाडौंको ठमेलस्थित एउटा रेस्टुरेन्टलाई अर्डरअनुसार उपलब्ध गराइसकेको सोमले सुनाए ।

नेपाली कागज र पुनर्प्रयोग गरिएको कागजबाट बनाइएको यो मुकुन्डो धेरै गह्रौं पनि छैन । होटल, रेस्टुरेन्ट तथा घरका कोठाका भित्तामा सहजै झुन्ड्याउन सकिने उनले जानकारी दिए ।

‘कसैले अर्डर गरे योभन्दा ठूलो पनि मुकुन्डो बनाइदिन्छौं’, कालिगढ तामाङले भने, ‘अर्डर गर्नेको आवश्यकताअुनसारका मुकुन्डो र मूर्ति बनाउँछौं ।’

गाईजात्रा आउन अब धेरै समय बाँकी छैन । यस वर्ष भदौ १४ गते गाईजात्रा परेको छ । गाईजात्रा सुरु भएलगत्तै नेपालभाषी समुदायको बाक्लो बसोबास भएको क्षेत्रमा लाखे नाच सुरु हुन्छ । मुकुन्डो लगाएर नाचिने लाखे नाच नेपालभाषी समुदायको पहिचान पनि हो ।

यो नाच विशेषगरी काठमाडौं उपत्यकामा प्रख्यात छ । तर, पछिल्लो समय यो नाच नेपालभर व्युँतिन थालेको छ । जसले गर्दा नेपालभाषी समुदायको बसोबास भएका अधिकांश क्षेत्रमा लाखे नाचले निरन्तरता पाउँदै आएको छ । लाखे नाच नेपालमा मात्रै सीमित नभएर पछिल्लो समय भारतको सिक्किममा पनि व्युँतिन थालेको छ ।

यसरी लाखे नाच व्युँतनुमा सोम तामाङको योगदान पनि कम छैन । नाचका लागि लाखेको मुकुन्डो लिन नेपाल र भारतका अधिकांश व्यक्ति तथा समुदाय सोमकहाँ नै पुग्छन् । उनी पनि खुशीसाथ आफ्नो सीप प्रयोग गरेर अर्डरअनुसारको मुकुन्डो बनाइदिन्छन् ।

गैरनेपालभाषी समुदायका सोम तामाङ नेवाः चित्रकलामा पारंगत छन् । नेपालभाषी गुरुबाट सीप पाएका उनी नेपालभाषी नाचमा प्रयोग हुने विभिन्न देवदेवीका मुकुन्डो बनाउन खप्पिस छन् । त्यसैले नेपाल र भारतका नेपालभाषी समुदाय लाखेलगायतका मुकुन्डो चाहिए सोमकहाँ नै पुग्दै आएका छन् ।

उनका अनुसार अहिले पाल्पा, काभ्रे र ओखलढुंगाका नेपालभाषी समुदायले एकएक वटा लाखेको मुकुन्डो अर्डर गरेका छन् । नाचमा प्रयोग गर्न अर्डर गरिएको उक्त मुकुन्डो अहिले बनिरहेको छ ।

‘साउन १५ गतेपछि डेलिभरी दिनेगरी काम भइरहेको छ’, तामाङले भने ।

नाचमा प्रयोग हुने मुकुन्डोमा भने नेपाली कागज र माटो प्रयोग हुने उनको भनाइ छ । अघिल्लो वर्ष नेपालका ५–६ वटा जिल्लासँगै भारतको सिक्किमबाट समेत लाखेको मुकुन्डो बनाउन अर्डर आएको उनले बताए ।

सोम नाचमा प्रयोग हुने मुकुन्डोमात्रै बनाउँदैनन् । उनी विभिन्न आकारप्रकारका मुकुन्डो, माटोका मूर्ति एवं क्युरियोका सामानसमेत बनाउँछन् । तर, अहिले कलाकारहरुको अभाव हुन थालेको उनले गुनासो गरे । सोम आफैं मुकुन्डो बनाउने तालिम दिन्छन् । तर, युवाहरुलाई यो पेसामा टिकाइराख्न हम्मेहम्मे भएको उनी बताउँछन् ।

‘तालिम दिएको दुईतीन महिना काम गर्छन्’, उनले भने, ‘त्यसपछि फेरि उस्तै समस्या । काम गर्ने कलाकार कता हराउँछन् हराउँछन्, खोजेर पनि पाइँदैन ।’

उनलाई तालिम प्राप्त कलाकार हराए जस्तै नेपालको मौलिक एवं परम्परागत कला र सीप पनि हराउला भन्ने चिन्ता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *