मेलम्ची नगरपालिकामा चालूभन्दा बढी पूँजीगत खर्च – Nepal Press

मेलम्ची नगरपालिकामा चालूभन्दा बढी पूँजीगत खर्च

सिन्धुपाल्चोक । देशभरका अधिकांश सरकारी कार्यालयहरूमा पूँजीगत खर्चभन्दा चालू खर्च बढी हुने गर्दछ । पूँजीगत खर्च कम र चालू खर्च बढी भयो भनेर प्रत्येक आर्थिक वर्षमा सरकारी कार्यालयहरूको आलोचना हुने गर्दछ । तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले भने गत आर्थिक वर्षमा चालू खर्चको तुलनामा पूँजीगत खर्च बढी गरेको छ ।

मेलम्ची नगरपालिकाको २०७९/०८०मा चालु तर्फ विनियोजन गरेको कुल रकमको ८० दशमलव ६७ प्रतिशत रकम खर्च गरेको छ भने पुँजीगत तर्फ विनियोजित रकमको ८० दशमलव ७६ प्रतिशत खर्च भएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए ।

नगरपालिकाले २०७९/०८०मा चालुतर्फ ९५ करोड ३ लाख १९ हजार विनियोजन गरेकोमा ७६ करोड ६६ लाख ५० हजार खर्च गरेको छ । त्यस्तै पुँजीगत तर्फ ७८ करोड ५३ लाख ३२ हजार खर्च भएको हो । यसरी हेर्दा नगरपालिकाको चालुभन्दा पुँजीगत खर्च बढी गरेको देखिन्छ । मेलम्चीले २०७८/०७९मा चालुतर्फ ७६ दशमलव १६ प्रतिशत र पुँजीगत तर्फ ५४ दशमलव २ प्रतिशत मात्रै खर्च गरेको नगरपालिकाले २०७९/०८०मा भने उल्लेख्य सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

देशभरका संघ, प्रदेश र स्थानीय तहको बजेटमा चालु भन्दा पुँजीगत खर्च बढी गर्ने भनिए पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन तर मेलम्ची नगरपालिकाले यसलाई आफूहरूले प्रमाणित गरेको लेखा अधिकृत पुडासैनीले बताए । सरकारी तथ्यांक हेर्दा सम्भवतः चालुभन्दा पुँजीगत खर्च बढी गर्ने मेलम्ची नगरपालिका देशकै पहिलो नगरपालिका हुनसक्ने अनुमान समेत गर्न सकिन्छ ।

गत आर्थिक वर्षमा संघीय सरकारको चालुतर्फ ८५, पुँजीगततर्फ ६१ दशमलव ४४ र वित्तीय व्यवस्थातर्फ ८२ दशमलव ५८ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङकबाट देखिन्छ ।

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले समीक्षा बैठकमा आफ्नो कार्यकालको पहिलो वर्षमा यो उपलब्धि हासिल भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू लाई यो उपलब्धिका लागि धन्यवाद दिएका छन् । उहाँले आगामी वर्षमा चालुभन्दा पूँजीखर्च बढाउनका लागि नगरपालिका लागी परेको बताए ।

यो उपलब्धि हासिल गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिहरु,सम्पूर्ण शाखाका कर्मचारी,इन्जिनियर तथा प्राविधिक टोलि, उपभोक्ता समिति लगायतको निरन्तर प्रयासबाट मात्र सम्भव भएको नगर उपप्रमुख उमा प्रधानले बताइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर