पुरस्कारविरोधी हाङयुग अज्ञातलाई प्रश्न- अहिले किन आफैंले ग्रहण गर्नुभो ? – Nepal Press
नेपाल टक

पुरस्कारविरोधी हाङयुग अज्ञातलाई प्रश्न- अहिले किन आफैंले ग्रहण गर्नुभो ?

काठमाडौं । सृजनशील अराजकता साहित्यिक आन्दोलनका अभियन्ता हाङयुग अज्ञातले यस वर्षको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार पाए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति प्रवर्द्धनमा टेवा पुर्‍याएको भन्दै अज्ञात र नाट्यकर्मी घिमिरे युवराजलाई उक्त पुरस्कार प्रदान गरेको थियो ।

तर, राज्यले दिने पुरस्कार ग्रहण गरेका कवि अज्ञात आफैं भने पुरस्कारका विरोधी थिए । उनको छवि नै पुरस्कारविरोधी थियो । झनै सृजनशील अराजकता आन्दोलनमार्फत् राज्यसत्तामाथि प्रश्न गरिरहनुपर्छ भन्थे । तर, यसपटक भने राज्यसत्ताले नै उनलाई पुरस्कारको पगरी गुथाइदियो । उनले पनि निःसर्त लिए ।

एक त पुरस्कारको विरोधी, अर्कोतर्फ राज्यसत्तालाई प्रश्न गरिरहनुपर्छ भन्ने साहित्यकार ! आखिरी अज्ञातले के कारणले पुरस्कार ग्रहण गरे त ? हामीले यिनै विषयमा कवि हाङयुग अज्ञातसँग कुराकानी गरेका छौं ।

– तपाईं त पुरस्कारको विरोधी हुनुहुन्थ्यो । तर, अहिले आएर पुरस्कार नै थाप्नुभयो है ?

विरोधी नै त हैन । तर, पुरस्कारसित गाँसिएर आउने गलत पद्धति र गतिविधिहरूसित चाहिँ असहमति थियो र छ । राणातन्त्रको विरुद्धमा कविता लेख्ने क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको नाममा नेपाल सरकारले प्रदान गरेको यो पुरस्कार मैले प्राप्त गर्दा व्यंग्य कस्नैपर्छ भन्ने मलाई लाग्दैन ।

– राज्यसत्तालाई निरन्तर गाली गरिरहनुभएको मान्छे तपाईं । यसपटक राज्यले नै पुरस्कारको पगरी गुथाइदिँदा कस्तो महसुस भइरहेको छ ?

राज्यसत्ताको एकलवादी र प्रतिगामी चरित्रलाई प्रशंसा गर्ने कुरा पनि भएन । २०७२ सालमा जारी भएको संविधानप्रति थोरबहुत असहमति हुँदाहुँदै पनि अघिल्ला संविधानभन्दा यो निकै अग्रगामी छ भन्ने बुझाइ रह्यो मेरो । यसमा अग्रगामी विचार बोक्ने जो कोहीले हर्ष व्यक्त गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

– राज्यसत्ताको विरोध गर्दै तपाईं, राजन मुकारुङ र उपेन्द्र सुब्बा मिलेर सृजनशील अराजकता साहित्यिक आन्दोलन चलाउनुभयो । अहिले आएर राज्यले दिएको पुरस्कार लिनुभयो । मुकारुङ प्राज्ञ बनेर एकेडेमीमा पुगेका छन् । यो अलि विरोधाभाष जस्तो देखिएन र ? कि सृजनशील अराजकता आन्दोलनको अन्त्य भएको हो ?

हैन, हैन । सिर्जनाको आन्दोलन निरन्तर चलिरहने प्रक्रिया हो । यो सरकारले हाम्रो आन्दोलनलाई ममार्फत् सम्मान गर्ने प्रयत्न गर्‍यो । विसर्जन नै गर्‍यो भन्ने भाष्य निर्माण गर्दा पुनर्निर्माणको प्रक्रियामा नै धक्का लाग्नसक्छ । तपाईं आफैं सोच्नुस् त, कुलपति भूपाल राईको नेतृत्वमा एकेडेमीले ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारा ल्याएर त्यहीअनुरूप काम पनि गरिरहेको छ नि ! तर, पहिचानवादी लेखन निरन्तर चलेको थियो र चलिरहनेछ । पुरस्कारलाई आन्दोलनको अन्त्यको रुपमा अर्थ्याउँदा त तमाम प्रतिरोधी आवाजलाई खारेज गरे जस्तो भइहाल्यो नि !

– पछिल्लो समय तपाईंहरुमा घटिरहेका घटनाक्रमहरु सृजनशील अराजकता आन्दोलनको विसर्जन त कतै होइन ?

यी घटनाक्रमहरुलाई त सिर्जनशील अराजकताको फैलावटको रूपमा बुझ्नुपर्छ । सही दिशामा बढिरहेको राज्यलाई विद्रोह र अराजकताका नाममा बन्दी बनाइरहनु हुँदैन भन्ने लाग्छ मलाई ।

– तपाईंको कविता संग्रह ‘करङको हिरासत’मा ‘आऊ सामूहिक आत्महत्या गरौं’ कविता छ । अहिले तपाईंहरु सत्ताको नजिक रहँदै गर्दा सृजनशील अराजकताले आत्महत्या गरेको त हैन ?

राज्यसत्ताले आम मान्छेसँग गर्ने व्यवहार, भौगोलिक दुर्गमतालाई अनदेखा गर्ने प्रवृत्ति र सामाजिक मुद्दाहरूप्रति उसको निराशा नै ‘आऊ सामूहिक आत्महत्या गरौं’ कविताको आवाज थियो । अहिले समय फेरिइसकेको छ । हामीले हाम्रो आन्दोलनका प्रारुपहरु पनि बदल्दै वर्तमान समयसँग तालमेल गर्नुपर्ने हुन्छ । जसरी अगाडि बढे पनि हाम्रो आन्दोलन त निरन्तर छँदैछ । त्यसकारण यस्ता घटनाहरुका कारण सिंगो आन्दोलनले नै आत्महत्या गर्ने प्रश्न नै आउँदैन नि !

– हिजो पञ्चायतकालमा राजा महेन्द्रले पञ्चायतलाई बलियो बनाउन राम्रा प्रतिभाहरुलाई एकेडेमी लगेर, पुरस्कार बाँडेर हिँड्ने गरेका थिए । आज तपाईंहरु कोही एकेडेमी पुग्दा, कोही पुरस्कार थापिरहँदा पञ्चायतकै झल्को आइरहेको छ नि ?

अहिलेको संस्कृति मन्त्रालयले देशका कुनाकाप्चाबाट स्रष्टाहरूको पहिचान गरेर सम्मान गर्दा राजा महेन्द्रकै जस्तो भयो भनेर दाँज्न मिल्दैन । किनभने नियत फरक छ । अहिले जुन रूपमा स्रष्टाहरूको सम्मान गरिएको छ, त्यसमा भनेको सिङ्गो राष्ट्रलाई समेट्ने नियत प्रस्ट देखिन्छ । कला-साहित्यप्रेमी हुँदाहुँदै पनि महेन्द्रले पञ्चायत समर्थकहरूलाई मात्रै सम्मान गरेका थिए ।

– तपाईंका लागि पुरस्कार के हो ?

पुरस्कार संयोगमात्रै हो ।

– यो पुरस्कारले तपाईंको तीन दशकको लेखनलाई न्याय गरेको होे र ?

न्याय अन्यायभन्दा पनि थप ३० वर्ष यही क्षेत्रमा निरन्तर लागिरहने प्रेरणा मिलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर