६ लाख ऋण लिएर २१ लाख बुझाएकी सीताको नाममा १७ लाखको तमसुक, चेक बाउन्स मुद्दामा जेल परिन् – Nepal Press

६ लाख ऋण लिएर २१ लाख बुझाएकी सीताको नाममा १७ लाखको तमसुक, चेक बाउन्स मुद्दामा जेल परिन्

पोखरा । पोखरा महानगरपालिका २७ रिठ्ठेपानीकी सीता दर्जीले २०७४ जेठ ८ गते स्याङ्जा गल्याङ नगरपालिका ७ घर भएका कमल थापासँग ६ लाख ऋण लिइन् ।

आर्थिक लेनदेन मिलाउन तथा घर खर्चका लागि भनेर ६ लाख रुपैयाँ लिएकी दर्जीले २ वर्षमा पटकपटक गरी २१ लाख १० हजार बुझाइसकेकी छन् । तर, साँवा ब्याज कट्टी हुनुको सट्टा सीताको नाममा १७ लाख रुपैयाँको तमसुक छ ।

सीताले ऋण लिएपछि थापाले विभिन्न जालझेल गरी १७ लाख रुपैयाँको तमसुक बनाएका थिए । तमसुक रद्द गर्न आग्रह गरे पनि उनले च्यात्नु नपर्ने भन्दै टारेको परिवारको भनाइ छ । त्यतिमात्र होइन, सीताको एनआइसी एसिया बैंक र एसबिआई बैंकका २/२ वटा चेक फकाइफुलाई तथा विभिन्न बहाना बनाइ लगिसकेका थिए । जुन चेक उनले सीताका विरुद्ध प्रयोग गरे ।

‘६ लाख ऋण लिएपछि हामीले २ वर्षमा २१ लाखभन्दा बढी उहाँलाई बुझाइसक्यौं । तर, उहाँले पटकपटक हाम्रो घरमा आएर अनावश्यक टर्चर गर्ने, गाली गर्ने, धम्की दिने, बेइज्जत गर्ने गर्नुहुन्थ्यो’, सीता दर्जीकी छोरी दिप्सा दर्जी भन्छिन्, ‘सावाँको करिब ४ गुणा तिर्दा पनि ऋण चुक्ता भएन ।’

६ लाख ऋण दिएका थापाले चेकमार्फत ४ लाख ९० लाख, नगद १० हजार, दिनेश दर्जीको एटिएम कार्डबाट ३ लाख ८०, विपाशा दर्जीको हातबाट १ लाख ३० हजार, विमला नेपालीको साक्षीसहित सीता दर्जीबाट पिनाकल एकेडेमीभित्र २ लाख, गीता सापकोटा साक्षी राखेर सीता दर्जीबाट १ लाख, दिनेश दर्जी साक्षी राखेर सीता दर्जीबाट ८ लाख गरी जम्मा २१ लाख १० हजार बुझेका हुन् ।

छोरी दिप्सा दर्जी भन्छिन्, ‘यो त प्रमाण भएको मात्रै हो । अझ खुद्रा रकम त धेरै पटक बुझायौं । पैसा बुझाइसकेपछि सीताले चेक माग्दा थापाले चेक हराएको बताएको उनी सुनाउँछिन् ।

थापाले २१ लाख १० हजार रुपैयाँ लिएको स्वीकार नगरी सीता दर्जीविरुद्ध १७ लाखको चेक बाउन्सको मुद्दा दायर गरे । उनले २०७७ पुस २१ गते जिल्ला अदालत कास्कीमा सीता दर्जीविरुद्ध १७ लाख चेक बाउन्सको मुद्दा दर्ता गराएका थिए ।

जिल्ला अदालत कास्कीले सीता दर्जीलाई २०७८ असोज १३ गते चेक अनादरमा दोषी ठहर गरेको थियो । उनलाई चेकमा उल्लेखित रकम र सो भरिभराउ हुँदासम्मको ब्याज भराउन जिल्ला अदालतले आदेश दियो । आदेशपछि थापाले अदालतमा उपस्थित हुन नपर्ने बताए । तर, पछि बारम्बार टर्चर दिन थालेपछि सीताले उच्च अदालत पोखरामा पुनरावेदन गरिन् । तर, त्यतिबेलासम्म उनले पुनरावेदन गर्ने पाउने समय घर्किसकेको थियो ।

त्यसकारण अदालतको अवहेलना गरेको भन्दै गत असार २९ गते सीता दर्जीलाई पक्राउ गर्यो । उनी अहिले जिल्ला कारागार कास्कीमा जेल जीवन कटाइराखेकी छन् ।

चेक बाउन्सको मुद्दामा जेल पुगेपछि छोरी दीप्सा अहिले आमाको न्यायमा भौतारिरहेकी छन् । उनले आमालाई फँसाइएको भन्दै संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिएकी छन् ।

संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै सीतालाई फँसाइएकाले थापालाई पक्राउ गर्नुपर्ने माग गरेको छ । सीताले पटकपटक गरी २१ लाख १० हजार रुपैयाँ भुक्तानी गरिसकेकाले सीता निर्दोष रहेको संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षलाई छलफलमा राख्दा सीता पक्ष जवाफदेही र प्रमाण साक्षी ल्याउन तयार भएको तर आरोपित कमल थापा छलफलमा समयमा नआउने गरेको संघर्ष समितिका संयोजक दामबहादुर विकले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

2 thoughts on “६ लाख ऋण लिएर २१ लाख बुझाएकी सीताको नाममा १७ लाखको तमसुक, चेक बाउन्स मुद्दामा जेल परिन्

  1. यस्ता समस्या मुलुक भरि छ काठमाडौंमा डन र गुण्डाहरूले पनि यस्तो धन्दा चलाइरहेको बग्रेल्ती सुनिन्छ कतै कतै त कानुन का रखवाला सुरक्षाकर्मी कर्मचारी नेता व्यापारीहरू यस्तै धन्दा गुण्डा मार्फत चलाएको प्रत्येक चोकचोकमा सुनिन्छ ।

  2. विचारा त्यो पिडित दिदी साह्रै सोझी हुँनुहुदो रहेछ । निज थापालाई कारबाही हुनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *