कांग्रेसको इजलासमा प्रचण्ड बहस- खाणलाई राज्यले फसायो, पार्टीभित्रकै विभीषणहरुले जग हँसाए (भिडिओ) – Nepal Press

कांग्रेसको इजलासमा प्रचण्ड बहस- खाणलाई राज्यले फसायो, पार्टीभित्रकै विभीषणहरुले जग हँसाए (भिडिओ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं पार्टी केन्द्रीय बालकृष्ण खाणको विषयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा चर्को बहस भएको छ । आरोप लागेपछि पार्टीले निलम्बन गर्नुपर्ने इतर पक्षका नेताहरुले चर्को आवाज उठाए पनि संस्थापन पक्षका अधिकांश नेताहरु खाणको बचाउमा उत्रिए ।

मंगलबारदेखि जारी केन्द्रीय समितिको बैठकमा देउवा निकटका पदाधिकारीदेखि मनोनीत केन्द्रीय सदस्यसम्म खाणलाई कारबाही गर्न नहुने पक्षमा उभिए । अदालतमा विचाराधीन मुद्दालाई पूर्वाग्रही साँधेर अदालतलाई प्रभाव पार्न खोजेको उनीहरुको आरोप छ ।

देउवा पार्टीको बैठकमा खाणको विषय प्रवेश नै नगराउने पक्षमा थिए । बैठकको एजेण्डा पनि थिएन । तर, जनचासोको विषय भएकाले इतर पक्षका नेताहरुले चर्को बहस चलाए । बैठकमा संस्थापन पक्ष पूर्ण रुपमा खाणको बचाउमा लाग्यो ।

तर, कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने भन्दै लिखित प्रस्ताव दर्ज गराए । फौजदारी अभियोग लागेको व्यक्तिलाई पार्टीसँग अलग राख्न निलम्बन गर्नुपर्ने उनको मत छ ।

यस्तै इतर पक्षको नेतृत्व गरिरहेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने कानून नै बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम कांग्रेसबाटै हुन लागेको टिप्पणी गरेका थिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि अदालतको फैसला नै अन्तिम हुने बताए ।

इतर पक्षका नेताहरुले निलम्बन गर्नुपर्ने दबाब बढाइरहे पनि राज्यपक्षबाट खाणलाई फसाइएको भन्दै संस्थापन पक्ष कारबाही नगर्ने निष्कर्षमा पुगेको छ ।

परराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले अदालतको फैसला नआउँदासम्म खाणलाई पार्टीले कारबाही नगर्ने बताए ।

हेरौं खाणको बचाउमा संस्थापन पक्षका कुन नेताले के भने ?

लक्ष्मी खतिवडा

भ्रष्टाचाररहित समाजको परिकल्पना गर्नु हामी सबैको दायित्व हो । कांग्रेस विधि, विधान र पद्धति मान्ने पार्टी हो । कांग्रेस कानूनी राज्य मान्छ । कांग्रेस न्यायिक सर्वोच्चता मान्छ । कांग्रेसका हरेक कार्यकर्ता कानूनी राज्यको पक्षमा उभिनुपर्छ । तर, कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा कांग्रेसका केन्द्रीय सदस्य तथा नेताहरु गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन । त्यस्तो अभियोग लागेको अमुक पार्टीको नेताका बारेमा प्रश्न उठ्दा उहाँहरु केही बोल्नुहुन्न । उहाँहरुको मुख फुट्दैन । बोली फुट्दैन । लागेको होला उहाँहरुलाई कुनै एउटा फरक विचार समूहको फरक गुटको मान्छेलाई खुइल्याउन डेक्चीमा बसालेको तातोपानी आफूलाई मन परेको मान्छेतिर पनि खनिनसक्छ । त्यो पनि विचार पुर्‍याउनुहोला ।

राधा घले

भ्रष्टाचारको विषयमा कांग्रेस संवेदनशील छ, हुनुपर्छ । विधिको शासनमा चल्ने कांग्रेस भएकाले भ्रष्टाचारको विषयमा संवेदनशील हुनुपर्छ । तर, आज एउटा नेतालाई, कांग्रेसको एउटा साथीलाई विनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीका साथीहरू सवेदनशील नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छ ? एउटा साथीलाई दुःख पर्दा काँध हाल्न सक्दैनौं । आरोप लाग्नेबित्तिकै कोही दोषी भइहाल्दैन । आरोप लाग्नसक्छ । तर, जबसम्म दोषी सावित हुँदैन, कमसेकम एउटालाई पर्दा हामीभित्रकै साथीहरूले साथ दिदैनौं भने त्यो पार्टीभित्र आज एउटालाई खाने बाघले अरुलाई पनि खान्छ । त्यसैले यो कुरा विचार गर्न जरुरी छ ।

उदय शमशेर जबरा

कतिपय ठाउँमा हाम्रै पार्टीका साथीहरु समस्यामा पर्दाखेरी हाम्रै पार्टीका साथीहरुले खुच्चिङ भन्ने गरेका छन् । त्यो नगर्नुहोला । हामी एउटा परिवार पनि हौं ।

चन्द्रबहादुर केसी

अहिले यहाँ भ्रष्टाचारका ठूल्ठूला कुराहरु उठे । भ्रष्टाचारी को हो, कसले गर्‍यो भनेर नाम लिन कोही पनि नचाहने । तर, अस्ति सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई चोख्याउन मिल्ने, अदालतमा विचाराधीन मुद्दाहरुलाई किनारा नलाग्दै आफैं न्यायालय, आफैं न्यायाधीश बनेर भैलो गाउँदै हिँड्ने हाम्रा नेताहरुमा अलि बुद्धि भए हुन्थ्यो कि !

गोपालमान श्रेष्ठ

एउटा साथी पुर्पक्षमा थुनिएको छ । उनलाई त्यहाँ पुग्न रोक्न पनि सकिन्थ्यो होला । त्यो किन रोकिएन ? त्यो विषय अहिले अदालतमा भएको हुनाले उहाँले गल्ती गरेको या नगरेको भन्ने निर्णय आएकै छैन ।

मीन विश्वकर्मा

हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी वकिल राख्छौं कि थपक्क लगेर थानामा बुझाउँछौं ? मलाई यति जवाफ चाहियो । होइन भने कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेशन जाने ? त्यत्रो ठूलो आदर्शवादी भइसक्यौं हामी ? यही कार्यसमितिले दोषी ठहर गर्छ भने वकिल पनि राख्नुभएन नि ! अदालतले ठहर नगरुञ्जेलसम्म दोषी हो कि निर्दोष पत्ता नलाग्दा नेपाली कांग्रेस त्यस्तो सर्वोच्च अदालतले हो, त्यसले दोषी अहिले नै ठहर गर्ने ? अरु पार्टी आफ्नो सदस्य बचाउन लाग्ने, हाम्रो पार्टीका साथीहरु पक्राउ गर्न डेलिगेशन जाने, केन्द्रीय समितिमै ल्याउने ? अदालतमा विचाराधीन मुद्दामा पक्ष र विपक्षमा छलफल गर्ने हो भने अदालत किन चाहियो ?

ईश्वरी न्यौपाने

हामी कांग्रेसीहरु, हाम्रा नेताहरु जेल पर्दै जाँदा न्याय दिने हामीले होइन । हामीले अदालत बनाएका छौं । न्याय दिने हामीले होइन होला अदालत र अख्तियार बनाएका छौं होला । कांग्रेसका नेताहरु न्यायालयको कठघरामा जाँदै गर्दा बचाएन नि त ! हाम्रा नेताहरु खुमबहादुरदेखि खाणजी पनि जेल जीवन बिताइराख्नुभएको छ । हामीले छेक्न गएका छैनौं । तर, कांग्रेस भनेको एउटा घर हो । घरभित्र गल्ती कमीकमजोरी हुन्छ । घरका साथीलाई अफ्ठ्यारो पर्दा हामीलाई त दुःख लाग्नुपर्ने हो नि ! तर, हाम्रो पार्टीका नेताहरु पक्राउ पर्दा वाहवाही गर्नुहुन्छ । कांग्रेसले भ्रष्टाचारविरोधी अभियान चलाउँदा पनि पार्टीका साथीहरुकै कारणले पक्षपोषण गरेको जस्तो किन देखियो ? गल्ती गरेकालाई सजाय दिनुपर्छ ।

अजय चौरसिया

आज बालकृष्ण खाणजी थुनामा हुनुहुन्छ । गृहमन्त्री हुँदा उहाँको समयमा कति मान्छे भुटानी शरणार्थी बनेर बाहिर गए ? कति आरोप सत्य छन् ? आरोप लगाउनेहरुले न बयानमा उहाँको नाम भनेका छन् न त कुनै साक्षी प्रमाण छ । तर, मिडियामा जसरी कांग्रेसकै मान्छेहरुलाई बाहिर कारबाही गर्नुपर्ने कुरा बोलेका छन् । त्यो कुराले उहाँको मुद्दामा सजाय गर्दा असर पर्छ कि पर्दैन ? उहाँको पक्षमा फैसला गर्न न्यायाधीशले आँट गर्छ कि गर्दैन ? यी कुराहरुमा पार्टीले छलफल गर्नपर्छ । मुद्दा लाग्दैनमा मान्छे दोषी हुन्छ भन्ने छैन । भोलि कोर्टले सफाइ दियो भने आज बाहिर बोल्नुहरुको अभिव्यक्ति के हुन्छ ? गृहमन्त्रीलाई बधाई दिनुभएको छ । उहाँहरुले गरेको काम फिर्ता लिनुहुन्छ ? अदालतको फैसला नआएसम्म पार्टीले निर्णय गर्नु उपयुक्त हुँदैन ।

ध्रुव वाग्ले

आज बालकृष्णजी जेलमा हुनुहुन्छ । २०३७ सालमा जब म नेविसंघको केन्द्रीय सदस्य थिएँ, मैले खाणजीलाई नेविसंघको जिल्ला अध्यक्ष बनाएको थिएँ । आज उहाँ जेल जाँदा मलाई दुःख लागेको छ। यो कानूनी राज्यमा कानूनको निर्णय हुनुपर्छ । अदालतको फैसलापछि मात्रै को दोषी, को निर्दोष भन्ने टुंगिन्छ । त्यसैले हामीले न्यायालयको फैसला कुर्न पर्छ कि पर्दैन ?

शंकर भण्डारी

पार्टीका नेताहरुको नाम जोडियो । दुःख पनि लाग्यो, अभियोजन लाग्यो । म धेरै डिटेलमा जान चाहन्न ।

पुष्पा भुसाल

हामी विधान, कानून र सुशासन मान्छौं । तर, हामीले देख्यौं अहिले न्यायपालिकामा विचाराधीन भएको कुरालाई मलाई लाग्छ कांग्रेसको पार्टीभित्र बहसको विषय बनाउनु हुँदैन । न्यायपालिकामा कुनै मुद्दा चलिरहेको छ भने त्यसलाई फेरि पार्टीको एजेण्डा बनायौं भने हामी फेरि विधान, संविधान र कानून मान्छौं भनेर कसरी भन्दै हिँड्ने हामी कांग्रेसका नेता कार्यकर्ताले रु त्यसैले म युवा साथीहरुलाई भन्छु, त्यस्ता कुराको याद चाहिँ राख्नुपर्‍यो ।

जीतजंग बस्नेत

धेरै ठूला ठूला कुरा गर्नुहुन्थ्यो गृहमन्त्री नारायणकाजी श्रेष्ठ । आज सुन तस्करको कुरा आएको छ । आज १५० केजी सुन पक्रेको स्थिति छ । गृहमन्त्री र माओवादी नेता महराको नाम आएको छ । केपी ओलीको नाम आएको छ यो विषयमा । हाम्रो साथीहरुले बोल्ने कि नबोल्ने ? कांग्रेसले बोल्ने कि नबोल्ने ? हाम्रा साथीहरुको नाम आए चर्को चर्को कुरा गर्ने, केही साथीहरु गृहमन्त्रीकहाँ जानुभएको थियो । आज म पनि गृहमन्त्रीकहाँ जान चाहन्छु । उहाँको नाम आइसकेको छ । राजीनामा माग्नुभयो ? सुन तस्करीमा परेकाहरुको छानबिन हुनुपर्‍यो । हाम्रा साथीहरु अब गृहमन्त्रीकहाँ जाने कि नजाने ? आफ्नै नेता र खुइल्याउने ?

महालक्ष्मी उपाध्याय डिना

हाम्रै पार्टीको एकजनालाई आरोप लगाइएको छ । न्यायालयमा विचाराधीन मुद्दा छ । तर, हाम्रै पार्टीका साथीहरु आरोपलाई प्रमाणित गराउन दबाब बढाइराख्नु भएको छ । यो न्यायालयले गर्ने काम हो । स्वतन्त्र न्यायपालिका कांग्रेसको एउटा आधार हो । त्यसैले न्यायालयमा विचाराधीन भएको मुद्दालाई कांग्रेसकै साथीहरुले दबाब दिएर प्रभाव पार्न खोज्नुभएको छ ।

महेन्द्र यादव

हाम्रो आदरणीय नेता बालकृष्ण खाणलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ न त कुनै प्रमाण भेटिएको छ । तर, थप राजद्रोहसमेत मुद्दा लगाइएको छ । लेनदेन र ठगीको मुद्दामा राजद्रोह लगाउनै मिल्दैन । उहाँ हाम्रै साथी हो । उहाँलाई अहिले अभियोगमात्रै लगाइएको हो । संविधानको धारा २० (५) मा भनिएको छ, ‘कुनै अभियोग लागेको व्यक्तिलाई निजको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन ।’ हामीले हस्ताक्षर गरेको संविधानमा छ । उहाँ अन्तिम निर्णय नभएसम्म हाम्रै परिवारको साथी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर