डिएसपी ठगबहादुरलाई बरखास्तीको सिफारिस, निर्णय कार्यान्वयन नगराउन चलखेल – Nepal Press

डिएसपी ठगबहादुरलाई बरखास्तीको सिफारिस, निर्णय कार्यान्वयन नगराउन चलखेल

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालय नक्सालले सिफारिस गरेको छ ।

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका उनी बुटवलमा रहँदा उनको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।

शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत पुस ११ गते पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी अर्को दिन बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो ।

स्थानीय व्यवसायी खिलेन्द्र जिसीले बोकेको झोलामा सुन फेला परेको थियो । जिसीसँग डीएसपी केसीको संलग्नता रहेको जानकारी आएपछि सीआईबीको टोलीले अनुसन्धान गर्दा ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार नगदै फेला परेको थियो ।

यो विषयमा प्रहरी प्रधान कार्यालय नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयबाट भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी पत्र गइसकेपनि गृहबाट निर्णयबारे जानकारी आइसकेको छैन ।

लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृहमा उनलाई बर्खास्त गर्न सिफारिससहित पत्राचार गरेको एक महिना पुग्न लागेपनि गृहले कुनै निर्णय गरेको छैन ।

एक वर्षअघि तिलोत्तमा नगरपालिका–२ जानकरी नगरमा रहेको अवैध कल सेन्टरसँग पनि १५ लाख रुपैयाँ माग गरेका थिए । त्यसको लेनदेनका कुरा नमिलेपछि छापा मारेर झण्डै १ सय ५० कर्मचारी पक्राउ गरेका थिए । त्यस्तै, बुटवलका अन्य केही व्यवसायी पनि केसीबाट पीडित भएको गुनासो गर्दै आएका थिए ।

डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाअध्यक्षलाई धकेलेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधिले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए । केसीले आफूलाई तत्कालीन गृह मन्त्री बालकृष्ण खाणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *