अर्थमन्त्रीको दाबी- सूचना दिनेलाई मैले पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन समातियो (भिडिओ) – Nepal Press

अर्थमन्त्रीको दाबी- सूचना दिनेलाई मैले पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन समातियो (भिडिओ)

रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै सक्रियताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको दाबी गरेका छन् ।

बुटवल पुगेका अर्थमन्त्री महतले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको दाबी गरे ।

रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ ।

यस्तै एक फरक प्रशंगमा अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गराउने बताएका छन्। नयाँ मौद्रिक नीतिले व्याजदरमा केही कम गराएकाले अब निजी क्षेत्रमा लगानी बढेर जाने र अर्थतन्त्र चलायमान हुने उनले बताए ।

‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भएपछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ,’ अर्थमन्त्री महतले भने ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’ उनले भने ।

उनले व्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने बताए । मन्त्री महतले पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनुपर्ने र गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने गरी सरकारले योजना बनाएको बताए ।

काङ्ग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले पार्टीको बैठक लाइभ गर्दा बाहिर यथार्थ कुरा बाहिर आएको तर्क गरेका छन् ।

ुपार्टीभित्रका धेरै भ्रमहरु बैठकको लाइभ प्रकृयाले चिरेको छ, पार्टीभित्र धेरै किचलो भएको भ्रम फैलाइएको थियो, अब सबैलाई क्लियर भयो’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर