चेक बाउन्समा फरार सोनारले मोरङ प्रशासनभित्रै पिए विष – Nepal Press

चेक बाउन्समा फरार सोनारले मोरङ प्रशासनभित्रै पिए विष

विराटनगर । चेक बाउन्स मुद्दा लागेपछि विनित सोनारले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमै विष सेवन गरेका छन् ।

कटहरी गाउँपालिका-३ का ३२ वर्षीय सोनारले दिउँसो ४ बजेतिर कीटनाशक विषादी सेवन गरेका हुन् ।

उनी प्रहरीको खोजी सूचीमा लामो समयदेखि फरार रहेका थिए ।

उनी जिल्ला प्रशासन कार्यालय पुगेको जानकारी पाएपछि पक्राउ गर्न प्रहरी पुगेको थियो । आफूलाई पक्राउ गर्न प्रहरी आएको थाहा पाउनासाथ उनले गोजीमा बोकेको कीटनाशक विषादी सेवन गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

‘ट्रिक्कल’ नामक विषादी सेवन गरेपछि उनलाई तत्काल प्रहरीले उद्धार गरेर कोशी अस्पताल लगिएको प्रहरीले बताएको छ । अवस्था गम्भीर रहेका सोनारको उपचार कोशीमा सम्भव नभएपछि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको दाहालले बताए ।

सोनारले माटोको ठेक्कापट्टा गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङमा सोनारविरुद्ध चेक बाउन्ससँग सम्बन्धित २ वटा जाहेरी अलग अलग मितिमा परेको थियो ।

विराटनगर महानगरपालिका-१२ का प्रदीप भुजेलले २०७९ चैत २६ गते र विराटनगर–१ का विनोद ढकालले गत जेठ २२ गते उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । भुजेलले २ लाख र ढकालले ६ लाख रकम उल्लेख गरेर जाहेरी दिएपछि प्रहरीले अलग अलग पक्राउ पुर्जी जारी गरेर उनलाई खोजी राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *