यातायात व्यवस्था विभाग र किताबखानाका महानिर्देशकको पाँच महिना नपुग्दै सरुवा – Nepal Press

यातायात व्यवस्था विभाग र किताबखानाका महानिर्देशकको पाँच महिना नपुग्दै सरुवा

काठमाडौं । सरकारले विभिन्न तीनवटा विभागका महानिर्देशक सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले व्यवस्था विभाग, राष्ट्रिय कितावखाना (निजामती) र हुलाक सेवा विभागका महानिर्देशक सरुवा गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक तीन महिनामा फेरिए

जसमा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको गृह मन्त्रालय अन्तर्गत सरुवा भएको हो । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहँदा उनले यातायात व्यवस्था विभागका महानिर्देशक टिक्दै नटिक्ने समस्या भएपछि कर्णाली प्रदेश लोक सेवा आयोगबाट भट्टराईलाई सरुवा गरेर मन्त्रालय तानेका थिए ।

मन्त्रालय तानेको केहि दिनमा यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । तर, भट्टराईलाई महानिर्देशको जिम्मेवारी दिएको करिव एक महिनाको अवधिमा नै श्रेष्ठले भौतिक मन्त्रालयको जिम्मेवारी छोडेर गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने भौतिक मन्त्रालयको जिम्मेवारी प्रकाश ज्वालाले सम्हालेका थिए ।

श्रेष्ठले यातायात व्यवस्था विभागमा प्रभावकारी काम गर्ने योजनासहित भट्टराईलाई कर्णालीबाट सरुवा गरेर विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

भट्टराई पनि उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन अनुसार काम गर्ने जोस जागरका साथ विभागमा हाजिर भएका थिए । तर, मन्त्री नै फेरिएपछि भट्टराईको काम गर्ने जोश जागर हराउदैँ गएको थियो । नभन्दै विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको तीन महिना वित्ने वित्तिकै उनको गृह मन्त्रालयमा सरुवा भएको छ ।

भट्टराई भन्दा अघिका महानिर्देशक तुलसीनाथ गौतम २० दिनमा नै सरुवा भएका थिए । उनी भन्दा अघिका महानिर्देशक डा.टोकराज पाण्डे पनि पाँच महिनाको अवधिमा नै सरुवा भएका थिए भने उनी भन्दा अघिका महानिर्देशक सुरेश राउत दुई महिनामै सरुवा भएका थिए । त्यस अघिका महानिर्देशक नमराज घिमिरे भने र गोगनबहादुर हमाल भने १५–१५ महिना टिकेका थिए ।

सहसचिव टोकराज पाण्डेको एक वर्षमा तीन पटक सरुवा

राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक डा.टोकराज पाण्डेको एक वर्षको अवधिमा नै तीन पटक सरुवा भएको छ । एक वर्ष अघि गत भदौमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका पाण्डेलाई मन्त्रालयले २०७९ भदौ २० गते यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो ।

महानिर्देशकको जिम्मेवारी सम्हालेको पाँच महिना पुग्ने वित्तिकै उनको २०७९ माघ २४ गते सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएको थियो । आयोगमा मन नलगाई नलगाई करिव एक महिना बस्न नपाउदैँ उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको थियो ।

त्यसपछि गत फागुनमा उनलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उनलाई राष्ट्रिय किताबखाना (निजामती)को महानिर्देशकको जिम्मेवारी दिएर पठाएका थिए । महानिर्देशकको जिम्मेवारी सम्हालेको पाँच महिना पुग्ने वित्तिकै अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

हुलाक सेवा विभागका महानिर्देशक घिमिरेको भने अवधि पुगेर सरुवा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत रहेको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेको भने अवधी पुगेर सरुवा भएको छ ।

उनले विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको १५ महिना वितिसकेको छ । विभागको महानिर्देशकको जिम्मेवारी पाउनु अघि उनी प्रदेशको मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिइन भने त्यस अघि गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा थिईन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *