चन्द्रनिगाहपुरका डीएसपीले उजुरी नलिँदा पटकाले आँखा गुमाएकी सरस्वतीलाई थप पीडा – Nepal Press

चन्द्रनिगाहपुरका डीएसपीले उजुरी नलिँदा पटकाले आँखा गुमाएकी सरस्वतीलाई थप पीडा

जनकपुरधाम । पटाका पड्केर उडेको विस्फोटक पदार्थको टुक्राले रौतहटको चन्द्रनिगापुर मोतियाहीकी २० वर्षीया सरस्वती ठाकुरको आँखा नै गुमेको छ ।

तिहारको बेला १३ कार्तिक ०७९ मा सुनिल शाह कलवारका भाई (नाम नखुलेको)ले पटाका पड्काउँदा सरस्वतीको आँखामा लागेको थियो । उनी तत्कालै उपचारका लागि वीरगञ्ज पुगिन् । त्यतिबेला उनलाई आँखाको अप्रेशन गराउनु पर्यो । तर अप्रेशन गराउँदा पनि आँखा ठिक भएन ।

घर चन्द्रनिगापुर भएपनि उनी सिधुन्लीमा बसेर पढ्दै आएकी थिइन् । तिहार मनाउन घर गएको बेला पटाकाले उनको आँखामा चोट लागेको थियो । उनी अविवाहित हुन् । उनी रेन्जर पढेर लोकसेवाको तयारी गरिरहेकी थिइन् । आँखा गुमाएपछि उनी लोकसेवाको तयारी गर्नबाट पनि बञ्चित भएकी छन् ।

उपचारमा अहिलेसम्म ३ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेकी छन् । अहिले आँखामा लेन्स राख्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । तर आर्थिक अवस्था कमजोर भएकाले उनी आँखामा लेन्स हाल्न सकेकी छैनन् ।

वीरगञ्जमा अप्रेशन भएका बेला सुनिलले सरस्वतीलाई २५ सय रुपैयाँ तिरेको थियो । त्यसपछि सुनिलले उपचारमा सघाएका छैनन् । सरस्वती भन्छिन्, ‘ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा सुनिलले उपचारमा लाग्ने सम्पूर्ण रकम सम्झौता त्यतिबेला गरेको थियो । अहिले उपचार खर्च दिन मानेका छैनन् ।’

सरस्वती अहिले काठमाडौंको तीलगंगा अस्पतालमा आँखाको उपचाररत छिन् । उनलाई आँखाको नियमित चेकअप गराउनुपर्छ । चिकित्सकले आँखामा लेन्स राख्न भनेका छन्, जुन लेन्सको करिब ५० हजार रुपैयाँ पर्छ ।

आँखामा लेन्स राख्नुपर्ने भएकै कारण सरस्वती अहिले दिनहुँ ईलाका प्रहरी कार्यालय चन्द्रपुर धाइरहेकी छन् । उनी भन्छन्, ‘उपचार खर्च तिर्छ भनेका सुनिल सम्पर्कमा आउन चाहेका छैनन् । प्रहरीले पनि वास्ता गरिरहेको छैन । हिजो त उजुरी लिएरै गएको थिए ।’

यता, ईप्रका चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले सरस्वतीलाई उपचार खर्च दिलाउने पहल गरिरहेको बताए । उनले भने, ‘पहल गरिरहेको छु । तर उपचार गर्न तिर्न तयार भएन भने कारबाही अगाडी बढाउँछौं । अंगभंग मुद्दा चल्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *