कर्णालीका तीनजना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? – Nepal Press

कर्णालीका तीनजना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

सुर्खेत । कर्णाली प्रदेशका तीनजना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री नियुक्त भएको साढे तिन महिनापछि आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्ग बहादुर पोखरेल, र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

गत वैशाख ७ गते नियुक्त भएका कर्णालीका तीनजना मन्त्री नेपाली कांग्रेसबाट मन्त्री बनेका थिए ।

विवरणअनुसार अर्थमन्त्री सिंहको जाजरकोटको बारेकोट गाउँपालिका–८ नम्बर वडामा पुर्ख्यौली २ वटा घर रहेका छन् । त्यस्तै, भेरी नगरपालिका–३ मा साढे तीन तलाको पक्की घर छ । उक्त घरको स्रोत पुर्ख्यौली नै रहेको उनले उल्लेख गरेका छन् ।

सिंहको नाममा बारेकोट–८ मै ३ रोपनी जग्गा छ । उक्त जग्गा अंश भाग रहेको र बाँकेको कोहलपुर–६ मा १.५ कट्टा जमिन रहेको छ । उनले उक्त जग्गा ऋण सापट गरेर जोडेको उल्लेख गरेका छन् । चल सम्पत्तिमा सिंहसँग २० तोला सुन छ भने १५ तोला चाँदी रहेको छ । सुन विभिन्न स्रोतबाट रु. ५ लाखमा खरिद गरेको उल्लेख गरेका छन् भने चाँदी ५० हजारमा खरिद गरिएको उल्लेख छ ।

यस्तै, उनले ऋण सापट र अन्य स्रोतबाट जाजरकोटमा रहेको लक्ष्मी बैंकमा २ लाख रकम मौज्दात रहेको र एनएमबी बैङ्क सुर्खेतमा सेवा सुविधा बापतको १ लाख रकम मौज्दात रहेको उल्लेख गरेका छन् ।

उनले धितो पत्र, शेयर वा ऋणपत्र विवरण शीर्षकमा शेयर लगानी उल्लेख गरे पनि कुन कम्पनी भन्ने उल्लेख गरेका छैनन् ।

उनीसँग ६० लाख मूल्यपर्ने इसुजु हाइलेण्डर गाडी रहेको छ भने ३२ लाख पर्ने बोलेरो पनि रहेको छ । यस्तै, २ लाख ५ हजार बराबरको स्कुटर पनि राखेका उनले उक्त सम्पत्ति व्यवसायबाट जोडेको उल्लेख गरेका छन् । तर, कुन व्यवसायमा संलग्न छन् भन्ने कुरा उल्लेख गरिएको छैन ।

उनीसँग २ लाख मूल्यका विभिन्न १० वटा मोबाइल पनि रहेका छन् ।

यस्तै, सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलसँग सुर्खेतको सिम्ता–६ मा एउटा घर रहेको र घर पैतृक सम्पत्ति भनी उल्लेख गरेका छन् ।

सिम्तामा पोखरेलका ९ ठाउँमा जग्गा रहेको छ । उक्त जग्गा पनि पुर्ख्यौली सम्पत्ति नै रहेको उल्लेख गरेका छन् । उनीसँग २५ तोला सुन ६० तोला चाँदी रहेको छ । सुनमा १० तोला ९ लाख ५० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति र चाँदी ३५ तोला ४० हजारमा खरिद गरिएको र बाँकी पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनीसँग लक्ष्मी बैङ्क सुर्खेतमा १ लाख ७० हजार रकम मौज्दात छ ।

उक्त रकम तलब र कृषि पेसाबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनले १ भैँसी र ३० वटा कुखुरा पालन गरिरहेका छन् । साथै उनीसँग २५ हजारको मोबाइल, ४० हजारको टिभी २८ हजारको फ्रिज र २५ हजारको घडी रहेको उल्लेख गरेका छन् । उक्त सामाग्री विभिन्न ठाउँबाट खरिद र उपहार आएको उल्लेख गरेका छन् ।

साथै, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीसँग दैलेख गुराँस गाउँपालिका–६ मा ३ हजार ७८० वर्ग मिटर क्षेत्रफलमा घर रहेको छ । यस्तै, वीरेन्द्रनगरमा २ ठाउँमा घर छन् । त्यो सबै पुर्ख्यौली सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै, उनीसँग विभिन्न ६ ठाउँमा जग्गा जमिन रहेको छ । उनको नाममा गुराँस गाउँपालिका–६ मा तीन ठाउँमा र वीरेन्द्रनगरका दुई ठाउँमा घडेरी रहेको छ । त्यसको स्रोत पनि उनले पैतृक सम्पत्ति नै उल्लेख गरेका छन् ।

उनीसँग १५ तोला सुन, ३० तोला चाँदी र १५ केजी तामा रहेको छ । त्यो पनि पैतृक सम्पत्ति नै हो । उनको तीन वटा बैंकमा गरी ४ लाख २ हजार बराबर रकम मौज्दात रहेको छ । साथै उनीसँग त्यो भन्दा बढी ऋण रहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कबाट उनले २० लाख ऋण लिएको र अहिलेसम्म ११ लाख ऋण तिरेको उल्लेख छ । यस्तै एनएमबि बैकबाट पनि उनले २० लाख नै ऋण लिएका थिए । त्यसमध्ये अहिलेसम्म १ लाख बराबर ऋण तिरिसकेका छन् भने बाँकी उनीसँग २८ लाख ऋण छ ।

मन्त्री सिंहकाे सम्पत्ति विवरण:

मन्त्री पाेखरेलकाे सम्पत्ति विवरण:

 

मन्त्री बीसीकाे सम्पत्ति विवरण:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर