कास्की फुटबल संघको आन्तरिक किचलोले खेलाडी मारमा, पाएनन् छनोटमा सहभागी हुन – Nepal Press

कास्की फुटबल संघको आन्तरिक किचलोले खेलाडी मारमा, पाएनन् छनोटमा सहभागी हुन

पोखरा । भुटानमा आउँदो भदौ १५ गतेदेखि हुने साफ यु-१६ च्याम्पियनसीपको छनोट अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोट कार्यक्रम पोखरा रंगशालामा आइतबार र सोमबार तोकिएको थियो ।

प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागीका लागि टीम पठाउन प्रदेश फुटबल संघले साउन २ गते जिल्ला फुटबल संघ रहका ८ जिल्लालाई पत्राचार पनि भइसकेको थियो । सोही बमोजिम ७ वटा जिल्ला फुटबल संघले आफ्नो टिम प्रदेशस्तरीय छनोटमा सहभागी बनाए ।

कास्कीले भने प्रदेश स्तरीय छनोट बहिष्कार गर्यो । जिल्ला फुटबल संघले आफू मातहतका खेलाडीलाई प्रदेशस्तरीय छनोट कार्यक्रममा सहभागी बनाएन । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले आफूहरुसँग प्रदेश फुटबल संघले समन्वय नगरेकाले छनोटमा सहभागी नभएको बताए ।

‘खेलाडी सहभागिताका लागि पत्र आएपनि समन्वयका लागि कुनै पत्र आएको छैन’, उनले भने, ‘प्रदेशले हामीलाई समन्वय गरेन न त उसले हामीलाई कुनै खबर नै गर्यो । यति ठूलो कार्यक्रममा कास्की फुटबल संघसँग समन्वय नगरेका कारणले नै हामीले सहभागिता जनाएनौं ।’

कास्कीले छुट्टै छनौट प्रतियोगिता गरी २२ जना खेलाडी सोझै केन्द्रीय स्तरको छनौटमा पठाउने निर्णय गरिएको अध्यक्ष रञ्जितले जानकारी दिए ।

छनोट प्रतियोगिताका संयोजक तथा प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले छनौटका लागि सबै जिल्ला संघलाई समान प्रकारको पत्र पठाइएको बताए । ‘हामीले समान प्रकारको पत्र सबै जिल्लालाई पठाएका छौं । सबैलाई जानकारी छ । यसरी संघभित्रको विवादका कारण खेलाडीहरुको भविष्यमाथि खेलवाड गर्नु हुँदैनथ्यो’, उनले भने, ‘कास्कीले गलत गरेको छ ।’

जिल्ला फुटबल संघ कास्कीले छनोट प्रतियोगिता बहिष्कार गर्दा तयारीमा रहेका खेलाडीहरु छनोट प्रतियोगिता सहभागी हुन पाएनन् । केही खेलाडी व्यक्तिगत रुपमा छनोट प्रतियोगिता सहभागी भएपनि धेरै खेलाडी छनोटमा सहभागी हुनबाट वञ्चित भए ।

महिनौंदेखि यु–१६ प्रतियोगितका लागि तयारी गरिरहेका कास्कीका खेलाडीहरु छनोट कार्यक्रममा सहभागी हुन पाएका छैनन् । छनौट प्रतियोगितामा गोखा, नवलपुर, बागलुङ, मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी र लमजुङका गरी करिब २ सय भन्दा बढी खेलाडीहरु सहभागी भएको संघका महासचिव बिनोद गुरुङले बताए । प्रदेशस्तरीय छनोट कार्यक्रम आइतबार र सोमबार चल्नेछ ।

यसो त जिल्ला फुटबल संघले सहभागीता नजनाउनुमा समन्वय मात्रै नभई जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष रञ्जितको इगो पनि भएको जिल्ला संघकै पदाधिकारी बताउँछन् ।

रञ्जितसँग हारेका विनोद गुरुङ हाल प्रदेश फुटबल संघका महासचिव छन् । संघका एक पदाधिकारीका अनुसार आफूसँग हारेको व्यक्तिले भनेको मान्नुपर्ने कारण खेलाडीलाई सहभागी हुनबाट रोकेका हुन् ।

कास्कीको सहभागिताको विषयमा गम्भीर रुपले छानबिन हुने गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उल्लेख गरे ।

‘जिल्ला खेलकुद मार्फत स्पष्टीकरण संघको लिन्छौं । यूवा खेलाडीहरुको भविष्य माथी कसैले व्यक्तिगत इगोको कुरा उठाएर खेलवाड गर्न पाइदैन’, उनले भने, ‘गम्भीर विषय हो । कास्की एन्फाले किन खेलाडी पठाएन हामी यसको समिक्षा गर्छाैं । गलत रहेछ भने कार्वाही समेत गर्छौं ।’ साफ यु-१६ च्याम्पियनसिप २०२३ भुटानमा भदौं १५ गतेदेखि २५ गतेसम्म हुँदैछ ।

तस्बिरहरू: सुदर्शन रन्जित

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर