डोटीका स्थानीय तहको एक अर्ब ३ करोड बजेट फ्रिज – Nepal Press

डोटीका स्थानीय तहको एक अर्ब ३ करोड बजेट फ्रिज

डोटी । आर्थिक वर्ष ०७९र०८० मा डोटी जिल्लाका स्थानीय तहहरूको एक अर्ब ३ करोड ५७ लाख ६९ हजार ७४१ रुपैयाँ फ्रिज गएको छ ।

चालूतर्फ ७ अर्ब ९ करोड ९७ लाख ६३ हजार २०२ र पुँजीगततर्फ २ अर्ब ९२ करोड ८ लाख ३६ हजार गरी जिल्लाका नौ स्थानीय तहमा आएको कुल १० अर्ब २ करोड ५ लाख ९९ हजार २०२ रुपैयाँमध्ये ९ नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार ४६० मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीले जानकारी दिएको छ ।

कार्यालयका अनुसार चालुतर्फ ३९ करोड ४९ लाख ९९ हजार ४१२ र पुँजीगततर्फ ६४ करोड ७ लाख ७० हजार ३३० रुपैयाँ फ्रिज भएको छ ।

कुल रकममा चालु भन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार ७९० र पूँजीगत तर्फ २ अर्ब २८ करोड ६५ हजार ६७० मात्र खर्च हुन सकेको कोष तथा लेखा नियन्त्रक कृष्णबहादुर धामीले जानकारी दिए ।

उनले भने ‘प्रतिशतमा हेर्दा चालुतर्फ ९४.४४ प्रतिशत र पुँजीगततर्फ ८९.६६ प्रतिशत खर्च भएको देखिन्छ ।’

सयल गाउँपालिकाकाको सबैभन्दा बढी रकम फ्रिज गएको धामीले बताए । यस गाउँपालिकामा चालु र पुँजीगत गरी ४ करोड ९ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको हो ।

त्यस्तै, बोगटान फुड्सिल गाउँपालिकाको चालु र पुँजीगत गरी ३ करोड ९० लाख १५ हजार ३९१ रुपैयाँ फ्रिज गएको देखिन्छ । पूर्वीचौकी गाउँपालिकाको ३ करोड ४१ लाख ४३ हजार १८८, शिखर नगरपालिकाको ३ करोड ८ लाख ६१ हजार ३७१ र जोरायल गाउँपालिकाको २ करोड ७५ लाख ५८ हजार ६१९ रकम खर्च हुन नसकी फ्रिज भएको छ ।

आदर्श गाउँपालिकाको २ करोड ४७ लाख ५६५, दिपायल सिलगढी नगरपालिकाको २ करोड २० लाख १४ हजार ७३७, बडीकेदार गाउँपालिको २ करोड ९ लाख १८ हजार १०४ र केआई सिंह गाउँपालिकाको १ करोड ८० लाख ६२ हजार ७९ रुपैयाँ खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ ।

स्थानीय तहमा संघीय सरकारको चालु सशर्त अनुदान, पुँजीगत सशर्त अनुदान, पुँजीगत विशेष अनुदान, समपूरक अनुदान र प्रदेश सरकारको चालु विशेष अनुदान, चालू समपूरक अनुदान रकम मात्र समावेश भएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर