तीन प्रश्नोत्तरमा बुझौं मणिपुरको जातीय नरसंहारको अन्तर्य – Nepal Press

तीन प्रश्नोत्तरमा बुझौं मणिपुरको जातीय नरसंहारको अन्तर्य

सामाजिक सञ्जालको ‘फेक न्युज’ले फैलायो हिंसा–बलत्कार र क्रुर नरसंहार, मणिपुरका ६३ हजार नेपाली भाषीको अवस्था के छ ?

काठमाण्डौं । शुक्रबार भारतको मुलधारको अंग्रेजी अखबार टेलिग्राफले बनाएको व्यानर न्यूज धेरै चर्चित भयो । भारतमा मात्रै होइन विश्वभरका भारतबारे चासो राख्नेहरुमाझ यो समाचार चल्यो । समाचारको शीर्षकको भावार्थ थियो– गोहीका आँशु झर्न ७९ दिन लाग्यो ।

गत मे ३ बाट सुरु भएको मणिपुरको जातीय दङ्गाको ७९ दिन पुगेपछि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले विरोध र आपत्तिको बक्तव्य जारी गरेकोमा टेलिग्राफले यो हेडलाइन बनाएको थियो । मणिपुरका दुई महिलालाई नाङ्गै परेड गराएकोदेखि सामुहिक बलात्कार गरेको कुरा सामाजिक सञ्जालमा बुधबारबाट भाइरल भएपछि मोदीले बल्ल बोले ।

आफ्नो हृदय पीडा र क्रोधले भरिएको भन्दै मोदीले मणिपुरको घटना मानवीयताकै लागि खराब भएको बताए । मणिपुरका हिंस्रकहरुका कारण १ अर्ब ४० करोड भारतीयकै बेइज्जत भएको भन्दै भन्दै मोदीले दोषीलाई सजाय हुने बताएका थिए ।

यो समाचार मोदीले मौनता तोडे भनेर बेलायती अखबार गार्डियनदेखि अमेरिकी अखबार लस एन्जलस टाइम्ससम्मले प्रचार गरेका छन् । गत मे ४ मा भएको घटनाको भिडियो सामाजिक सञ्जालबाट भाइरल भएपछि मोदीले आफ्नै पार्टीका मुख्यमन्त्री भएको राज्यमा घटनामा जोडिएकालाई कारबाही गर्न कडा शब्दमा चेतावनी दिएका थिए ।

मोदीले चेतावनी दिए पनि प्रतिपक्षी दलका भारतीय संसदहरुले पत्याएनन् । भारतका दुवै सदन शुक्रबार बन्द भए ।

१. दुई महिलाको नग्न परेड र बलात्कारको पृष्ठभूमि के हो?

यसको पृष्ठभूमि फेक न्यूज हो । मैतेइ नर्सलाई अस्पतालमा बलात्कार र हत्या गरिएको भन्दै सुटकेसमा प्याक गरिएको एक लासलाई विज्ञापन गरियो । त्यो मणिपुरको घटना नै थिएन । त्यो मैतेइ समुदायको घटनै थिएन । त्यो कुकी समुदायले गरेको बलात्कार र हत्या थिएन । त्यो त दिल्लीमा आफ्नै आमाबाबुले मारेर फालिएकी आयुसी चौधरीको लासको तस्बिर थियो ।

घटना एक वर्ष अगाडि नोभेम्बर २०२२ को थियो । स्थानीय प्रहरीले तस्बिर फेक भएको र सूचना गलत भएको भनिरह्यो । कसैले पत्याएनन् र उक्त घटना हुनपुग्यो । दिल्लीमा मैतेइ समुदायले गरेको प्रदर्शनमा पनि फेक तस्बिर सार्वजनिक गरेर प्रदर्शनी गरिएको थियो ।

त्यो तस्बिरमा यौन हिंसामा परेका मैतेइ समुदायका महिला भनेर भनिएको थियो । तर, खासमा त्यो पनि फेक थियो । त्यो तस्बिर अरुणान्चलप्रदेशको घरेलु हिंसा पीडित महिलाको भएको पाइएको थियो ।

यस्तै अर्को घटनापनि फेक समाचारकै थियो । मणिपुरको एक अस्पतालमा बलात्कारबाट मरेर ३७ मैतेइ महिलाको लास भएको हल्ला चलाइयो । अस्पतालले आफ्नो संस्थामा पोस्टमोर्टम नहुने भन्दै त्यस्तो लास हुने संभावनै नभएको भन्यो । तर, हल्ला चलिरह्यो । हिंसा चलिरह्यो । यो सबै कुरा इन्टरनेट बन्द हुँदाहुँदै भएको हो ।

यस्तै फेक न्युज सामाजिक संजालमा आएका कारण मैतेइ समुदायका करीव एक हजार व्यक्तिले कुकी समुदायका घरमा आगजनी र तोडफोड गर्न थालेपछि भागेर जंगल जाने क्रममा उनीहरु प्रहरी सुरक्षामा गए ।

गत मे ४ मा प्रहरी घेरामा रहेका कुकी समुदायका दुई महिलालाई थुतेर नाङ्गै परेड गराउँदै शहर घुमाएर बलात्कार भएको थियो । तीमध्ये एक महिलाका बुबा र दाइलाई उनीहरुले हत्या गरेका थिए ।

दुई महिना अगाडि नै महिलाले उजुरी दिएका थिए । तर, प्रहरी र प्रदेश सरकारले चासो दिएको थिएन । मणिपुरमा भारतीय जनता पार्टीकै सरकार छ । मोदीले सार्वजनिक  रुपमा बोलेपछि भने केही पक्राउ परेका छन् । अहिले यो घटनामा चार पुरुष पक्राउ परेका छन् ।

२. मैतेइ र कुकी समुदायको वैमनश्यताको मूल कारण के हो?

मैतेइ समुदाय मणिपुरको वर्चश्वशाली समुदाय हो ।मणिपुरको ६० सदस्यीय सदनमा दुई तिहाइ उनीहरुको छ ।कुनै समयको राजतन्त्र हुँदाको शासक समुदाय हो मैतेइ । मणिपुरमा उनीहरुको जनसंख्या ६५ प्रतिशत हाराहारी छ । तर, उनीहरुको जमिन भने १० प्रतिशत समथर क्षेत्रमा मात्रै छ । बाँकी क्षेत्रमा कुकीलगायतका समुदायको बसोबास छ ।

बंगलादेश र म्यानमारबाट आउनेहरुको कारण आफ्नो समुदायको पहिचान गुम्ने भन्दै मैतेइ समुदायले आरक्षणको माग गरेको छ । आरक्षणबारेमा मणिपुरको उच्च अदालतले दिल्लीको आदिवासी मन्त्रालयलाई मार्च २७मा एकपत्र लेख्यो ।

सन् २०१३ बाट आरक्षणको मागमा मैतेइ समुदाय सक्रिय रुपमा लागेको थियो । यो मुद्धामा कुकी समुदायले प्रदर्शन गरे । चुराचन्द्रपुर जिल्लामा ८ घण्टाको हड्ताल भयो । प्रदर्शन मे महिनामा भएको थियो । त्यसको केही समयपछि हिंसा भयो ।

मैतेइ समुदायले कुकी महिलालाई हिंसा गरेको हल्ला चल्यो । त्यो भन्दा अगाडि मणिपुर सरकारले जंगल संरक्षणको नाममा कुकी समुदायका केहि घरहरु र संरचनाहरु भत्काएर आक्रोशित भएको समुदाय मैतेइ आरक्षणको अर्को मुद्धा आएपछि थप आक्रोशित भयो । त्यसकै कारण अहिले जातीय दंगा र नरसंहार भएको छ ।

भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म साम्प्रादयिक दंगामा १४० मान्छेको मृत्यु भएको छ । ४० हजारभन्दा बढी विस्थापित भएका छन् । ७०० घर ध्वस्त गरिएका छन् । धार्मिक रुपमा पनि मैतेइ र कुकी समुदाय फरक फरक छन् । मैतेइ समुदाय हिन्दु र मुस्लिमधर्मका अनुयायी छन् भने कुकी समुदायहरु इसाई हुन् ।

धार्मिक अन्तर, भूस्वामित्वको विवाददेखि आरक्षणको आन्दोलनले मैतेइ समुदाय र कुकी समुदायमा शत्रुता बढेको छ । सरकारी नीतिकै कारण भएको दुई समुदायको द्धन्द्ध अन्त्य गर्न सरकारले देखिने पहल गरेर समाधान गर्न सकेको देखिँदैन ।

३. मणिपुरको जातिय द्वन्द्वमा नेपालीभाषीको अवस्था के छ?

झण्डै ३५ लाख जनसंख्या भएको मणिपुरमा ६० हजार बढी नेपालीभाषी समुदाय भएको बताइन्छ । बिबिसी नेपाली सेवासँग कुरा गरेका मणिपुरका नेपालीभाषी शिक्षक भवानी अधिकारीका अनुसार सन २०११ को भारतीय जनगणनाले ६३ हजार नेपाली भाषीहरु मणिपुरमा भएको देखाउँछ । तर, अहिलेसम्म नेपाली भाषीमाथि कुनै समुदायस्तरमा हिंसा र तनाव भएको सूचना सार्वजनिक भएको छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर