चलचित्र ‘लुङा’ : पूर्वेली भावको अर्ग्यानिक प्रभाव – Nepal Press

चलचित्र ‘लुङा’ : पूर्वेली भावको अर्ग्यानिक प्रभाव

काठमाडौं । धेरै समयपछि चलचित्रको प्रिमियम सोमा जाने अवसर जुट्यो । कतिपय चलचित्र फगत सिनेमा मात्रै रहँदैनन् मनमा अमिट छाप नै छोड्ने खालका हुन्छन् । जसले मनोरञ्जन मात्र नभएर मनोगतिमा नै ठूलो प्रभाव देखाउँछन् । त्यसैले पनि समय मिल्दा पछिल्ला चलचित्र हेर्न मन लाग्छ ।

त्यही क्रममा ‘लुङा’को प्रिमियम सोमा पुगियो । भुवन सिंह राईले लेखेको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन् । चलचित्रलाई किरण राईले निर्देशन गरेका छन् भने सञ्जिव राईले निर्माण गरेका हुन् । विशेषगरी पूर्वेली कलाकारहरुको लकडाउन अघिको मेहनतमा बनेको चलचित्र ‘लुङा’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । पछिल्लो समय सामान्य कथावस्तुलाई फरक ढंगले प्रस्तुत गरिएका सिनेमाहरुले बजार तताएका छन् । त्यही भीडमा आफूलाई स्थापित गर्न खोजेको ‘लुङा’ बारे सामान्य टिप्पणी गर्ने प्रयास गरिएको छ ।

यसरी सुरू हुन्छ चलचित्र

पूर्वी पहाडकाे प्राकृतिक सुन्दरताकाे पृष्ठभूमिमा फिल्मकाे सुरूवात हुन्छ । अहिलेको आम परिवेश भनेको मानिसहरु भौतिकभन्दा भर्चुअलरुपमा जोडिएर प्रत्यक्ष भेटिन्छन् । यहाँ पनि त्यही टिपिएको छ । मुख्य पात्र भुवन सिंह राई (लुङा)ले आफूलाई मन परेकी केटी सारा लोहोरुङ राई (सेजुङ) को फेसबुक आइडी खोज्न थाल्छ । उसको साथी प्रकाश दाहाल (रुद्र) ले आइडी फेला पार्छ । त्यसपछि उनीहरुको चिनजान सामान्य नभएर प्रेमील बन्दै जीवनको गोरेटोमा सँगै यात्रा गर्ने निर्णयमा पुग्छन् ।

लुङाले एक हजारको नोट सलको टुप्पोमा बाँधेर विवाहको प्रस्ताव राख्छ (लिम्बू संस्कृतिमा हुने चलन) र भगाउँछ । दाम्पत्य जीवनको खुशीयालीलाई अनुभूति गर्न नपाउँदै पुनः अन्य कथामा जस्तै यहाँ पनि केटीको बाबु भिलेन बनेर आउँछन् । फेसबुकबाट जोडिएको त्यो जोडी छुटेपछिको अवस्था स्वभावैले दुवैलाई तनावपूर्ण छ नै । तर कसरी के कारणले छुट्यो, पुनः उनीहरुको मिलन हुन्छ हुन्न होला जस्ता जिज्ञासा तपाईंलाई पनि लागेकै होला होइन त ? त्यसको लागि भने हलमै गएर फिल्म हेर्न नै न्यायोचित हुनेछ ।

समग्रमा कस्तो छ त फिल्म ?

सदाबहार यथार्थवादी अभिनयमा पोक्त बुद्धि तामाङ, पशुपतिप्रसाद जस्ता चलचित्रमा भूमिका निभाइसकेका प्रकाश दाहालको अभिनयले सबैलाई मनोरञ्जन तथा केही भावुकता समेत प्रदान गर्दछन् । लिड रोलको चरित्र निभएका भुवनको अभिनयले अभिनयका बादशाह भन्दा फरक नपर्ने दयाहाङ राईको झझल्को दिएको आभास गराउनु अब्बल पक्ष हो । उनको यो पहिलो प्रयासमै यो तहको अभिनयलाई उत्कृष्ट पक्षको रुपमा सहजै लिन सकिन्छ । चलचित्रले नामकाे अर्थलाई निभाएकाे महसुस हुन्छ । साथीत्व र समर्पण राम्ररी झल्किन्छ । त्यस्तै, सेजुङको रोल निभाएकी साराको अभिनय पनि प्रशंसनीय हुनु अर्को राम्रो पक्ष हो । त्यस्तै, भिम शेरमा लिम्बू, अनुप, सुदीप जंग कार्कीलगायत सबै कलाकारहरुले आफ्नो पात्रलाई निकै हदसम्म न्याय गरेको देखिन्छ ।

आम मानिसले सजिलै बुझ्न सक्ने किसिमको भाषाको सरल प्रयोग, गाउँले परिवेशको फिल्मिङ, प्राकृतिक अभिनय देखिइनु, कथावस्तुको उठान आदि पक्षहरु सकारात्मक छन् । यसले दर्शकलाई जोड्न सक्छ । के होला भन्ने केही सस्पेन्सका दृश्यहरु समेटिनु अर्को दमदार विषय हो । केही राजनीतिक झलकहरुलाई स्थान दिनुले चलचित्रले जीवन्तता र यथार्थता प्रदान गर्न खोजेको पनि महसुस हुन्छ । हाँस्यविनोदका पक्षहरु पनि रहनुले यथेष्ट मज्जा पनि दिएकै हो ।

यो चलचित्र नि कमजोरीबाट भने अछुतो छैन । हुन त पूर्णता केही हुँदैन पनि । यही स्रोत साधनमै अझै राम्रो बनाउन सकिन्थ्यो । निकै मेहनतका बाबजुद पनि कथावस्तु सलल नबगेको जस्तो पनि दर्शकलाई लाग्न सक्छ । चलचित्र स्लो छ । फास्ट मुभिङका हलिउड र बलिउडका चलचित्रका स्वाद पाएका दर्शकहरुलाई बोरिङ नि हुन सक्छ । हाफ टाइमसम्म त कथाबारे दर्शकलाई अनुमान गर्न कठीन हुने भएपनि चलचित्रको मिठास यही हो कि दर्शकलाई कौतुहल बनाइरहने । यो सिनेमा प्रेम कथानक हो तर निर्देशकले प्रेमील पक्षहरुलाई उति धेरै फूलबुट्टा भरेको देखिँदैन ।

चलचित्र अन्त्यको मूल्यांकनका लागि दर्शकलाई छोडिएको छ । यो राम्रो प्रयोग हो । तर सुखान्तको बानी परेका नेपाली दर्शकलाई यसले पनि केही अमिलो भने बनाउनेछ । जसलाई निर्देशकले अझै रोचक ढंगले शानदार इण्डिङ गर्न सक्थे । पाँचथरमा सुटिङ भएको यस फिल्ममा त्यहाँका पाखा पखेरा, चिया बगानलगायत मनोरम स्थानका दृश्यलाई कथामै समेटर पनि खिच्न सकिन्थ्यो । त्यसमा निर्देशक र टीम केही चुकेको हो कि भन्ने भान हुन्छ । कतिपय अभिनय बनावटी पनि लाग्छन् । जस्तै लुङाले अक्सर भावुकरुपमा मात्रै प्रस्तुत हुनु र रूद्रले बिना प्रसंग पनि अट्टहास प्रदर्शन गरेको जस्तो देखिनु । यो कथाले मागेर हो वा पात्रको आफ्नै स्वभाव हो ।

खैर समग्रमा चलचित्रले निराशै भने बनाउदैन । सुरुदेखि अन्त्यसम्म बेलाबेलै हाँस्न पाइन्छ । फाइटको सिन पनि स्कुले जीवनमा साथीहरुसँग मुक्का हानाहान खेलेजस्तो देखिन्छ । जसले पनि रोमाञ्चक नै बनाउँछ । निर्देशकले आगामी दिनमा आफूलाई निखार्ने र राम्रो गर्न सक्ने दृष्टान्तका रुपमा ‘लुङा’लाई दिन सकिन्छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *