निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने सामान्य प्रशासन मन्त्रालयको निर्णय – Nepal Press

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने सामान्य प्रशासन मन्त्रालयको निर्णय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको विशेष उपस्थितिमा आज बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो ।

यस निर्णयसँगै मन्त्रालयले निमित्तमार्फत् सञ्चालन भइरहेका स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी खटाइनेछन् । यसअघि करिब ३५० स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकोमा संख्या १ सय ४२ मा झारिएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘स्थानीय तहका यस मन्त्रालयबाट खटाई पठाउने प्रमुख प्रशासकीय अधिकृतको दरबन्दीमा कानून बमोजिम निर्धारण गरेको पद तथा श्रेणीका कर्मचारी मात्र खटाउने नीति लिने तथा निमित्त खटाई कामकाज गर्ने प्रचलन निरुत्साहित गर्ने नीति लिने ।’

यसैगरी बैठकले प्रदेश सचिवको जिम्मेवारीमा पनि कानुन बमोजिम तोकिएको पद तथा श्रेणीको कर्मचारी पठाउँदा जेष्ठताका आधारमा मात्रै पठाउने निर्णय पनि गरेको छ । बैठकले स्थानीय तहले वेबसाइट, सफ्टवेयर लगायत सूचना प्रविधिको उपयोग गर्दा साइबर सुरक्षाको संवदेशीलताप्रति विशेष सजगता अपनाएर मात्र उपयोग गर्ने गराउने प्रबन्ध मिलाउने निर्णय पनि गरेको छ ।

बैठकमा मन्त्रालयका सचिव डा.कृष्णहरी पुष्करले मन्त्रालयले सबै क्षेत्रमा उल्लेख्य सुधारका काम गरिरहेको बताए । त्यस्तै मन्त्री मोदीले पदमा रहुन्जेलसम्म इमानदारितापूर्वक देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए । उनले प्रशासनिक र व्यवस्थापकीय क्षेत्रको उल्लेख्य सुधारमार्फत् सुशासन कायम गर्ने आफ्नो प्राथमिकतामा सबैले साथ दिन आवश्यक रहेकोसमेत औल्याए ।

बैठकमा मन्त्रालयका सहसचिव, मन्त्रालय मातहतका कार्यालयका प्रमुखले आ–आफ्नो कार्यालयबाट भइरहेको कामको प्रगतीसहित आगामी कार्ययोजनाबारे धारणा राखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *