नदी नियन्त्रणको माग गर्दै स्थानीयले वडा कार्यालयमा लगाए ताला – Nepal Press

नदी नियन्त्रणको माग गर्दै स्थानीयले वडा कार्यालयमा लगाए ताला

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- ७ कीर्तिपुरका ५० परिवार अहिले जोखिममा छन् । कन्द्रा र डोडा नदीको संगमस्थलका स्थानीय यस वर्ष विस्थापित हुने चिन्तामा छन् ।

स्थानीयले आफूहरू डुबान र कटानको ठूलो जोखिममा रहेको जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएपछि वडा नम्बर ७ को कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले नदी नियन्त्रणको पहल नगर्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

‘हामीलाई बढीले बगाएपछि वा मरेपछि मात्रै सरकारले चासो दिने हो ? अहिले के हाम्रो जनधनको सुरक्षा गर्न राज्यको दायित्व होइन’, वडा नम्बर ७ का पूर्वअध्यक्ष धनबहादुर बमले भने, ‘सरकारलाई उत्तरदायी बनाउन हामीले तालाबन्दी गरेका हौं । सरकार गम्भीर नहुँदासम्म ताला खुल्दैन ।’

वडा कार्यकालमा तालाबन्दी गर्न नदी कटानको जोखिममा रहेका सयौं नागरिकहरू पुगेका थिए ।

सामान्य पानी पर्दा पनि नदीमा बहाव बढ्ने र पानी बस्तीमा पस्ने समस्याले आजित स्थानीय गत वर्ष जस्तै यस वर्ष पनि विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

अघिल्लो वर्ष नदी उर्लेर बस्तीमा पसेपछि मध्यरातमा उद्धार गरिएको सम्झँदै स्थानीय भुली सार्कीलाई अहिले पनि त्यही नियति झेल्नुपर्ने हो कि भन्ने चिन्ता छ ।

‘अघिल्लो वर्ष राति २ बजे बच्चा र सुत्केरी महिला लिएर उच्चो ठाउँमा गएर बसेका थियौं । अहिले पनि फेरि राति राति कहाँ भाग्नु पर्ने हो भन्ने चिन्ताले राम्ररी सुत्न सकेका छैनौं’, उनले सुनाइन् ।

२०६४ सालदेखि यहाँ कन्द्रा र डोडा नदीले खेतीयोग्य जग्गा कटान गर्दै आएका छन् । अहिलेसम्म सयौं बिगा कटान गरिसकेको स्थानीय प्रदीप चौधरीले बताए ।

स्थानीयले केही वर्षअघि सम्म खेती गर्दै आएको जग्गा अहिले गौचरमा परिणत भएको छ । नदीले कटान नगरेका जग्गामा पनि अहिले खेती हुन छोडिसकेको छ ।

‘यहाँ निरन्तर कटान भइरहेको छ । हामी आफ्नो खेती गर्ने जग्गा छाडेर विस्थापित भएका छौं’, उनले भने, ‘बगर नभएको जग्गामा पनि खेती गरिएको छैन । बाढीले कतिखेर लान्छ भन्ने त्रास छ ।’

स्थानीयले पटक पटक तीनै तहको सरकारलाई नदी तटबन्ध गर्न र आफूहरूलाई जोगाउन अपिल नगरेका होइनन् । तर, निर्वाचनका बेला भोट माग्नबाहेक अन्य बेलामा ठूला नेता नआउने गुनासो छ उनीहरुको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर