प्रेस युनियन गुल्मीको विवाद उत्कर्षमा : केन्द्रीय अध्यक्षले चयन गरेको नेतृत्व बहिष्कार गर्दै अर्को समिति घोषणा – Nepal Press

प्रेस युनियन गुल्मीको विवाद उत्कर्षमा : केन्द्रीय अध्यक्षले चयन गरेको नेतृत्व बहिष्कार गर्दै अर्को समिति घोषणा

रुपन्देही । नेपाल प्रेस युनियन गुल्मीको नवौं जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष शिव लम्सालले हस्तक्षेप गरेर कानून विपरीत अध्यक्षको नाम घोषणा गरेको भन्दै जिल्लाका बहुमत सदस्यले अर्को नेतृत्व घोषणा गरेका छन् ।

बिहीबार उद्घाटन सत्र साँझ अध्यक्षले लम्सालले सार्वजनिक गरेको १९ सदस्यीय कार्यसमिति विरुद्ध बहुमत सदस्यले ३८ जनाको हस्ताक्षरसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेर सार्वजनिक गरेपछि यसको विवाद सतहमा आएको हो ।

बिहीबार राति नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल आफैंले अध्यक्षमा रेशम कुँवरलाई निरन्तरता दिँदै सर्वसम्मत नेतृत्वको चयन भन्दै फेसबुकमा बधाई लेखेका थिए । केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले हस्ताक्षर गरेको कार्यसमितिको नामवली सार्वजनिक भएपनि युनियनका ३८ जना सदस्यले अधिवेशन बहिष्कार गरेको जनाएका छन् ।

विधि बिधान बाहिर गएर मनोनयन र छलफल नगरेर निर्वाचन समितिलाई समेत लत्याएर केन्द्रीय अध्यक्ष लम्सालको ठाडो हस्तक्षेप गरेको आफूहरुलाई मान्य नहुने अध्यक्ष पदका उम्मेदवार प्रकाश घिमिरेले बताए ।

जिल्लामा ५९ जना सदस्यमध्ये ३८ जना बहुमत सदस्यको शुक्रबार बिहान बसेको बैठकले सुमन महतरा अध्यक्ष रहेको १८ सदस्यीय नयाँ नेतृत्व गठन गरेपछि केन्द्रीय अध्यक्षलाई चुनौती थपिएको हो ।

उनीहरुले एकलौटी टाँसिएका १९ जना मध्ये १६ जना असन्तुष्ट रहेकाले आउने अर्को अधिवेशनसम्मको लागि कार्यसमिति शून्य हुन नदिन समिति गठन गरिएको महताराले बताए ।

उनीहरुले निर्वाचन समितिमार्फत केन्द्रमा निर्णय सच्याएर पुनः अधिवेशनको माग गरेका छन् । उनीहरुले पुन निर्वाचन प्रक्रिया अगाडि नबढाएर विद्रोह गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले जारी गरेको निर्वाचितको विवरण अनुसार १९ जनाको कार्यसमितिमध्ये अध्यक्ष रेशम कुँवर, उपाध्यक्ष रमेश विश्वकर्मा र सदस्य मनु सुनारबाहेक उपाध्यक्ष दिपक नेपाली, सचिव सुमन महतरा, सहसचिव सन्तोष महतरा र चन्द्रकला राना, कोषाध्यक्ष नविक कार्कीसहितका १६ जनाले असहमति राखेका थिए । ‘मैले संगठनमा कहिल्यै सहसचिव मागेको छैन ।

व्यक्तिगत आवश्यकता र सहमतिबिना नै सहसचिवमा मेरो नाम राखिएको छ,’उनले भने,‘केन्द्रीय अध्यक्षले नै बहुमतको कदर नगर्ने कस्तो लज्जास्पद विषय ।’

नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्यले केन्द्रीय अध्यक्षकै उपस्थितिमा भएको निर्णय सच्चिने सम्भावना कम रहेको प्रतिक्रिया दिए । उनले सहमतिकै आधारमा समिति निर्माण गरिएको दाबी गरे ।

प्रेस युनियन गुल्मीका पूर्व अध्यक्ष तथा कार्यदलका सदस्य जनार्दन घिमिरेले केन्द्रीय अध्यक्षले जिल्लाका साथीहरुको भावना नबुझेका कारण यस्तो समस्या आएको बताउँदै कानुन मिचेर गरेको घोषणालाई बहुमत सदस्यहरुले अस्वीकार गरेको सत्य भएको बताए ।

नेपाल प्रेस युनियनको नवौ जिल्ला अधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता भिम न्यौपानले केन्द्रले हस्तक्षेप गरेपछि असहमतिको बीचमा आफूले काम गर्न नसकेको नेपाल प्रेसलाई बताए ।

‘अधिवेशनमा निर्वाचन वा सहमतिमध्ये एक हुनुपर्थ्याे । दुवैका आफ्नै प्रक्रिया हुन्छन्, बैधानिक प्रक्रियानै भएनन,बहुमत सदस्यले हस्ताक्षर गरेर पुन निर्वाचनको माग गर्दै हुनुहुन्छ ।, केन्द्रीय अध्यक्षले घोषणा गरेको नाम वैधता छैन, अब सहमतिमा गएर यसलाई स्थगित गर्नुपर्दछ ।’

दुवै पक्षका नाम घोषणा भएका छन्, कानुनी हिसाबले यी दुवै प्रकृया पूरा भएका छैनन्। अब केन्द्रको विधान नहेरी मैले यही हुन्छ भन्न सक्दैन, केन्द्रको अध्यक्षले जिल्लाका साथीहरुको भावना नबुझ्दा यस्तो समस्या आएको मैले देखेँ, अब स्थगित गरेर नयाँ समाधान गरिनुपर्दछ’ उनले भने ।

यसअघि नेतृत्व चयनका लागि जिल्ला सभापतिमा आकाक्षी रहेका तीनै जना सुमन महत्रा, रमेश विश्वकर्मा, प्रकाश घिमिरेले ५ सदस्यीय कार्यदल बनाउने र त्यही कार्यदलको सहमति मानेर जाने निर्णय गरेका थिए ।

कार्यदलमा केन्द्रीय उपाध्यक्ष माधव अर्याल, केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, प्रदेश सचिव सूर्यप्रसाद भुसाल, पूर्व केन्द्रीय सदस्य जनार्दन घिमिरे, पूर्व जिल्ला सभापति हरिकुमार श्रेष्ठ रहेका थिए ।

कार्यदलका सदस्य प्रेमनारायण आचार्यका अनुसार तीनै जनाको सहमतिमा हस्ताक्षर गरेर कार्यदललाई जिम्मा दिएको र सोही अनुसार कार्यदलले निर्णय गरेर बिहीबार राती नै रेशम कुँवरको टीम घोषणा गरिएको र त्यही नै आधिकारिक हुने बताएका छन् ।

उनले कार्यदलमा बहुमतले निर्णय गरेको जनाएका छन् तर तर कार्यदलका सदस्य जनार्दन घिमिरेले भने जिल्लाका बहुमत सदस्यले अस्वीकार गरेर हिंडेपछि अरुले घोषणा गरेको र्वधानिकता नहुने र प्रकृया पूरा नभएकाले निर्वाचन समितिले पनि मान्यता नदिएको दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर