पूर्वब्रिटिस लाहुरेको नक्कली छोरा बनाएर नागरिकता दिलाउने कर्मचारीलाई उन्मुक्ति ! – Nepal Press

पूर्वब्रिटिस लाहुरेको नक्कली छोरा बनाएर नागरिकता दिलाउने कर्मचारीलाई उन्मुक्ति !

विराटनगर । झुटो विवरण पेस गरेर ३ जनालाई नागरिकता बनाएको आरोपमा २ जना पूर्वब्रिटिस लाहुरे जेल चलान भए पनि नागरिकता बनाइदिने जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई भने उन्मुक्ति दिइएको छ । झुटो विवरण पेस गरेर बाबु बन्ने र बाबु बन्न सहयोग गर्ने दुई जना जेल जाँदा पनि नागरिकता बनाइदिने तत्कालीन अधिकारीका बारेमा भने अनुसन्धानसमेत नभएको पाइएको हो ।

मोरङ लेटाङका सूर्यहाङ लिम्बूले नक्कली बाबु बनेर पोखरा- १६ का २९ वर्षीय गणेश गुरुङ, पोखरा-१० का २१ वर्षीय रविन गुरुङ र पोखरा-१२ का १९ वर्षीय प्रशान्त मगरलाई मोरङबाट झुटो विवरण पेस गरेर नागरिकता बनाइदिएका थिए ।

सूर्यहाङ्गले गणेशलाई जेठो छोरो बनाएर सविन लिम्बूका नाममा, रविनलाई माइलो बनाएर साजन लिम्बूका नाममा र प्रशान्तलाई कान्छो बनाएर सुरज लिम्बूको नाममा नागरिकता दिलाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । उनीहरूको २०६५ असार २६ गते ९५, ९६ र ९७ नम्बरमा बेलबारी नगरपालिका वडा नम्बर ११ बाट जन्मदर्ता बनाएको कागज पेस भएको थियो ।

बेलबारीबाट जन्म दर्ता बनाएको भए पनि वडा कार्यालयमा भने यससम्बन्धी कुनै पनि कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।

‘अनुसन्धानका क्रममा हामीले त्यससँग सम्बन्धित कागजात झिकायौं, प्रवक्ता दाहालले भने, ‘वडा कार्यालयले सूर्यहाङका नामबाट २०७८ पुस २९ गतेसम्म बेलबारी-११ मा कुनै राजस्व दाखिला नभएको र बसाइँसराइको अभिलेखमा कुनै विवरण दर्ता नभएको पत्र पठाएको छ ।’

प्रहरीका अनुसार बसाइँसराइ, नाता प्रमाणित तथा जन्म दर्ता प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारीका रूपमा वडा सचिव बाबुराम ढुङ्गानाको हस्ताक्षर, स्टाम्प छाप र कार्यालयको छाप प्रयोग गरेको देखिएको छ ।

तर, हस्ताक्षर, स्टाम्प छाप आफ्नो नभएको तथा कार्यालयको छाप नक्कली रहेको बयान ढुङ्गानाले दिएका छन् । बेलबारीमा सूर्यहाङको जग्गा जमिन र बसोबास नदेखिएको तथा सबै कागजात कीर्ते रहेको वडाध्यक्ष विक्रम राईले बताए ।

नागरिकता दिलाउने तथा प्राप्त गर्नेलाई कानूनअनुसार कारबाही हुनुपर्ने पत्र उनले प्रहरीलाई पठाएका छन् ।

तत्कालीन वडाध्यक्ष यमबहादुर पोखरेलले नागरिकताका लागि अनुसूची फारामलगायतका कागजात आफूले सिफारिस नगरेको बयान दिएका छन् ।

जन्मस्थान ताप्लेजुङ राखी एकै परिवारका दाजुभाइ बनाएर ३ जनाकै नागरिकता वितरण गरिएको रेकर्ड जिल्ला प्रशासन कार्यालय मोरङमा छ । जिल्ला प्रशासन मोरङबाट सविनको नाममा ०५-०१-७८-१०७८२, साजनको ०५-०१-७८-१०७८३ र सुरजको नाममा ०५-०१-०७८-१०७८४ नम्बरको नागरिकता जारी भएको छ । उनीहरूले २०७८ माघ ४ गते नागरिकता लिएका थिए ।

नागरिकता लिन पेस गरेको काजगतमा गणेश (सविन) को २०५२ फागुन २४ गते, रविन (साजन) को २०५५ साउन ९ र प्रशान्त (सुरज) को २०६० पुस २० गतेको जन्म मिति उल्लेख छ । उनीहरूको जन्म दर्ता पनि एकै दिन भएको छ । जन्ममितिअनुसार गणेशले २६, रविनले २३ र प्रशान्तले १८ वर्षको उमेरमा नागरिकता लिएको देखिन्छ ।

नागरिकतामा जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चेतनाथ पोखरेलको हस्ताक्षर छ । मोरङबाट सरुवा भएर पोखरेल हाल लोकसेवा आयोगको कार्यालय पोखरामा कार्यरत रहेको प्रशासनले जनाएको छ ।

‘प्रशासनबाट २६ र २३ वर्षको उमेरसम्म नागरिकता किन बनाइएन भन्ने कुराको खोजी नै गरेको पाइएन,’ एक कर्मचारी भन्छन्, ‘सामान्यतया नागरिकता लिने उमेर बढी भएपछि सर्जिमन गर्ने प्रचलन छ । तर उनीहरूको केसमा प्रहरीको सर्जिमन नगरी नागरिकता दिएको भेटिन्छ ।’

जन्म मिति अस्वाभाविक देखिँदासमेत ध्यान नदिएकाले कर्मचारीको भूमिका पनि शंकास्पद देखिने उनको भनाइ छ ।

‘नागरिकता लिनेको उमेर धेरै थियो । त्यहाँमाथि १ जनाले बाबु बनेर एकै दिन ३ छोराको नागरिकतामा सनाखत गरिदिएका छन्,’ उनले भने, ‘राम्ररी छानबिन नगरेको पाइयो । फाँटकै ‘सेटिङ’ पनि हुनसक्छ ।’

उपभोक्ता अधिकारकर्मी उत्तम ढुङ्गेल यस घटनाले प्रशासनको भूमिकामा प्रश्न उठेको बताउँछन् ।

‘२६ वर्षको उमेरमा नागरिकता लिनलाई मान्छे आउँदा प्रशासन चनाखो भएको देखिएन । जन्म मिति हेरेर पनि चासो राख्नुपर्ने थियो,’ ढुङ्गेल भन्छन्, ‘मिलीभगत नै हुनसक्छ । प्रशासनको भूमिका शङ्कास्पद छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रकरण अदालतमा गइसकेकाले आफूले केही नबोल्ने बताए ।

‘मुद्दामा दोषी देखिएकाहरूलाई कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘यसको अनुसन्धान गर्न प्रशासनले नै प्रहरीलाई लेखेर पठाएको हो ।’

सेटिङ्ग मिलाउने अझै फरार

झुटो विवरण बनाउने र नक्कली बाबु बन्न पैसा दिने व्यवस्था मिलाउने भने फरार रहेका छन् ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी दाहालले नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात पोखरा-१० का अन्दाजी ८० वर्षीय टेकबहादुर गुरुङ र पोखरा-१६ का अन्दाजी २५ वर्षीय विवेक गौचन थकालीले तयार पारेको अनुसन्धानबाट खुलेको बताए ।

‘सुरूमा टेकबहादुरमार्फत सूर्यबहादुरले सूर्यहाङसँग सम्पर्क गरेको देखिन्छ,’ उनले भने, ‘सूर्यबहादुरले पोखरेली युवाको नागरिकता बनाउन टेकबहादुर र सूर्यहाङको बिचमा पुलको काम गरेका रहेछन् ।’

सूर्यबहादुरमार्फत नागरिकता लिने ३ जना र त्यसका लागि कागजपत्र तयार पार्ने विवेक र टेकबहादुरको भेट सूर्यहाङसँग भएको अनुसन्धानबाट खुलेको छ ।

सन्तान छोरीमात्रै रहेकाले पनि अरूलाई छोरा बनाएर नागरिकताको सनाखत गरिदिन सूर्यहाङलाई सहज भएको प्रहरीको निष्कर्ष छ । रकम खर्चिएर नागरिकता बनाए पनि युवाहरू बेलायत जान नपाएपछि मोरङ प्रशासनमा मौखिक उजुरी पर्‍यो ।

प्रशासनकै जाहेरीका आधारमा मोरङ प्रहरीले अनुसन्धान अघि बढायो । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली खटाएर यस घटनाको अनुसन्धान अघि बढाए ।

पोखरेलको निर्देशनमा सुरू भएको अनुसन्धानबाट पोखराका ३ जनालाई नक्कली बाबु खडा गरेर नागरिकता दिलाएको पुष्टि भयो । नागरिकता प्राप्त गर्नेहरू सूर्यहाङका छोरा नभएको खुल्यो । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विकाश थपलिया नेतृत्वको टोलीले असार ५ गते सूर्यहाङलाई पक्राउ गर्‍यो । सूर्यबहादुर पनि धरानबाट पक्राउ परे ।

नागरिकता लिने, दिलाउने तथा दिलाउन भूमिका खेल्ने ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै यस प्रकरणमा संलग्न विरुद्ध झुटो नागरिकता बनाएको कसुरमा मुद्दा दायर गरेको हो ।

अभियुक्तमध्ये सूर्यहाङ र सूर्यबहादुर मात्रै पक्राउ परेका छन् । उनीहरूलाई न्यायाधीश प्रकाश कोइरालाको इजलासले गत सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आदेशपछि दुवै जनालाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

कीर्ते गरेर नागरिकता लिने गणेश, रविन र प्रशान्त तथा झुटा विवरण तयार पारेर उनीहरूलाई नागरिकता दिलाउन भूमिका खेल्ने टेकबहादुर र विवेक फरार छन् । अदालतबाट उनीहरूलाई पक्राउ गर्नका लागि ३५ दिने पुर्जी जारी भइसकेको बुढाथोकीले बताए । नागरिकता बनाउने युवासँग टेकबहादुर र विवेकले कति पैसा लिए भन्ने खुल्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *