कैलालीको रातोपानी वन फडानी आरोपमा पूरै उपभोक्ता समितिलाई मुद्दा दायरको तयारी – Nepal Press

कैलालीको रातोपानी वन फडानी आरोपमा पूरै उपभोक्ता समितिलाई मुद्दा दायरको तयारी

फडानी क्षेत्रमा १ महिनापछि मन्त्रीसहितको टोलीको अनुगमन

कैलाली । कैलालीको गोदावरी नगरपालिका-१२ स्थित रातोपानी सामुदायिक वन फडानीको आरोपमा उपभोक्ता समितिलाई मुद्दा दायरको तयारी गरिएको छ । एक महिना अघि उक्त सामुदायिक वनमा १६ वटा सालका रुख फडानी भएको थियो । असार २ गते २ सय क्युफिट काठ बरामद गरेको थियो । त्यो बाहेकका काठ निकासी भइसकेको सव डिभिजन वन कार्यालय गोदावरीका प्रमुख निरन्जन कडालले जानकारी दिए ।

वन फडानीमा संलग्न आरोपमा वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्य टेकराज ओझा र कर्णबहादुर विकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अहिले पूरै पदाधिकारी संलग्न भएको खुल्दै गएकाले मुद्दा दायरको तयारी भएको कडालले बताए ।

कडालले भने ‘यति धेरै रुख कटान हुँदा पनि उहाँहरूलाई थाहा नहुने कुरा हुन्छ ?’

उपभोक्ता समितिविरुद्ध विनाइजाजत वन पैदावार ओसारपसार मुद्दा दायरको तयारी गरिएको हो । ४९९ हेक्टरमा फैलिएको सामुदायिक वनमा यसअघि पनि फडानी हुने गरेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष कैलाश विकले आफूहरूसहित १० जना पदाधिकारी र सदस्यहरुलाई बयानका लागि बोलाइएको बताए ।

वन फडानीको करिब १ महिनापछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावर मन्त्री रमेश धामीसहितको टोली निरीक्षणमा पुगेको छ । बिहीबार मन्त्री धामी मन्त्रालयका सचिव वेदकुमार ढकालसहितको टोलीले फडानी भएको क्षेत्रको निरीक्षण गरेको हो । वन फडानी क्षेत्रको निरीक्षण गर्दै मन्त्री धामीले फडानीमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिन निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *