कांग्रेस बैठकः बालकृष्ण खाणबारे आरोप-प्रत्यारोप, माओवादीप्रति आक्रामक ! – Nepal Press

कांग्रेस बैठकः बालकृष्ण खाणबारे आरोप-प्रत्यारोप, माओवादीप्रति आक्रामक !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । बैठकको तेस्रो दिन पनि नेताहरुले आफ्नो धारणा राखेका छन् । १० वटा एजेन्डामाथि केन्द्रित रहेर धारणा राखेका नेताहरुले पार्टी नेतृत्वमाथि पनि प्रश्न उठाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको टकराबको कारणले पार्टी तल्लो तहसम्म गुट मौलाएको नेताहरुले बताएका छन् । तर, इतर पक्षका नेतृत्व गरिरहेका डा. शेखर कोइराला पछिल्लो समय मौन बसेकाले उनीप्रति नेताहरु सकारात्मक देखिएका छन् ।

एक-अर्कोविरुद्ध आरोप-प्रत्यारोपमा लाग्दा पार्टी कमजोर भएको केन्द्रीय सदस्य उदयशमशेर राणाले बताए । उनले भने, ‘पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पार्टी पंक्तिमा निराशा छाएको छ । तर, पार्टीमा रुपान्तरण चाहिएको छ । शुद्धीकरणका नाममा आफूले आफूलाई गाली गरेर रुपान्तरण हुँदैन । यो कुरा सबैले ख्याल गर्नुपर्छ ।’

अर्का केन्द्रीय सदस्य उमेश श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कुरामात्रै नभएर काम गर्न आग्रह गरे ।

उन भने, ‘आपसी हिलो छ्याप्नुभन्दा अबको दिनमा जिम्मेवारी नभुलिकन जो ठूलो पदमा बस्छ, उसको मर्यादा र जिम्मेवारी पनि बुझौं । मिडियामा जुन कुरा गर्छौं, त्यहीअनुसार कार्य गरौं, फरक नगरौं । जुन कुरा बैठकमा गर्छौं, त्यही कुरा मिडियामा लैजाऔं । आफ्नो स्वार्थको लागि विधि र विधान मिच्ने, अनि नमिल्ने विधि र विधान मिच्यो भनेर चर्को आलोचना गर्नुको अर्थ हुँदैन । भाषण कम गरेर काम गरौं ।’

पार्टीमा विधान कार्यान्वयन गर्ने र विधिले शासन गर्ने विषयमा नेतृत्व प्रतिबद्ध नदेखिएको अर्का केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गुनासो गरे । पार्टीको बैठक लाइभ गरेकोप्रति असन्तुष्टि पोख्दै उनले पार्टी विधि र विधानले चल्नुपर्नेमा जोड दिए ।

‘पार्टीमा टिकट कसले बाँड्ने हो ? मन्त्री कसले बनाउने हो ? संसदीय बोर्ड छैन । हामीले यो परिस्थितिलाई कसरी मूल्यांकन गर्ने ? कि यहाँहरू राजा हो र हामीले यहाँहरूको हुकुम मान्नुपर्ने ?’, उनको प्रश्न छ ।

माओवादीप्रति आक्रामक

त्यसो त माओवादीसहित गठबन्धनबाट चुनाव लडेको कारणले आफूहरु पहिलो दल बन्न सकेकोमा केही नेताहरु सकारात्मक देखिएका छन् । तर, केही नेताहरु अहिले आफूहरु संघीय र प्रदेशको सरकारमा भए पनि माओवादीको छायाँ बनेको टिप्पणी गरेका छन् ।

बैठकमा बोल्दै टेकबहादुर गुरुङले चितवनमा सीडीओ कार्यालयदेखि क्यान्सर अस्पतालसम्म सबै माओवादी केन्द्रको कब्जामा रहेको बिफ्रिङ गरे ।

उनले भने, ‘तीन तहको निर्वाचन भयो । हामीले बेलैमा समीक्षा गर्नुपर्ने थियो । उपनिर्वाचनमा उम्मेदवार भएर प्रतिनिधि भएर पठाए पनि जिल्लालाई थाहा भएन । निर्वाचनमा हामीले अत्यन्तै कम मत ल्याएर हार्नुप¥यो । हामीसँग कुनै सल्लाह नगरी भएको केन्द्रको निर्णयमा हामी पछि लागे पनि सफल हुन सकेनौं ।’

उनले मेयर, सीडीओ, एसपी, भूमि आयोगको अध्यक्ष क्यान्सर अस्पतालको अध्यक्ष, सरकारी अस्पतालको अध्यक्षलगायत सबै माओवादी भएको बताए ।

उनले भने, ‘चितवनमा सबै अरुलाई बुझाइसकेपछि हामीले केही गर्न सक्ने अवस्था छैन । अब कांग्रेसले गर्ने के ? हाम्रो कुरा सुनुवाइ हुँदैन । कुनै कार्यालयमा वाईसीएलको साधारण सदस्यले भन्यो भने काम हुन्छ, हाम्रो भनाइ सुनुवाइ हुँदैन । गठबन्धन भनेर बसेका छौं । तर, हाम्रो काम जिल्लामा केही हुँदैन ।’

यस्तै, अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले कांग्रेस सरकारमा भए पनि आफूहरुले अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।

उनले भने, ‘अहिलेको अवस्थामा महामन्त्रीज्यूको प्रतिवेदनमा हामी सबै केन्द्रीय सदस्यहरु जिल्लामा जाने भन्ने कुरा आएको छ । के लिएर जाने हामी ? यही भाषण, यही खोक्रो नारा लिएर जाने ? कसले मान्छ अहिलेको जमानामा ? केन्द्र र प्रदेशमा सरकार कांग्रेसको छ । खै नेपाली कांग्रेसका कार्यकर्ताहरुले त्यसको प्रत्याभूति गर्न पाएको ? सबै ठाउँमा माओवादी छ । हरेक ठाउँमा हाम्रो चितवनको मित्रले भन्नुभएको जस्तो माओवादी छ ।’

खाणबारे आरोप-प्रत्यारोप

त्यसो त नकक्ली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको विषयमा बैठकमा नेताहरुबीच आरोप-प्रत्यारोप भएको छ । संस्थापन पक्षका अधिकांश नेताहरु खाणको बचाउमा उभिए पनि इतर पक्षका नेता अजयबाबु शिवाकोटीले बैठकबाट ठोस निर्णय लिन माग गरे ।

उनले भने, ‘सुशासनको हिमायती कांग्रेस । कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न सक्दैनन् । बरु बाघ खाए खाओस्, तर कुनै पनि भ्रष्टाचारीलाई काँध थाप्न सक्दैन र हुँदैन पनि । तर, भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाड्दिनुपर्छ । यस्तै प्रकरणमा व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ ।’

कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा रहेको उल्लेख गर्दै उनले यही सरकारले पार्टीको नेतालाई थुनामा पठाएपछि स्पष्ट धारणा आउनुपर्ने माग गरे ।

उनले भने, ‘सभापतिज्यू, यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ । वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो । होइन भने आफ्नै साथीहरू संलग्न सरकारले थुनामा पठाउँदा आरोपिहरूलाई निलम्बन गर्नुपर्छ कि पर्दैन ? यसमा कि थुनामा गएका दोषी हुनुपर्‍यो कि सरकारमा रहेका हाम्रै मन्त्रीहरू पूर्वाग्रही भएको हुनुपर्‍यो । यो विषयमा पार्टीले प्रस्ट भन्नुपर्‍यो । यो बैठकबाट पनि भ्रमपूर्ण प्रचार हुनुभएन । सरकार र साथीमध्ये एक के रोज्ने टुंगो लगाउनुपर्छ ।’

यस्तै अर्का नेता प्रकाश रसाइलीले भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै पार्टीले मुख थुन्ने गरेको भन्दै नेतृत्वको आलोचना गरे ।

उनले भने, ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउनेबित्तिकै मुख र कान थुन्छ, आँखा बन्द गरिहाल्छ । एउटा व्यक्तिको बारेमा होइन, हाम्रा पार्टीका कोही नेताहरू होला वा नहोलान् । त्यो विषयमा होइन ।’

उनले अहिले महामन्त्रीद्वयलाई कुनै अधिकार नदिएर विचरा बनाइएको टिप्पणीसमेत गरे । ‘महामन्त्रीहरु विचरा बबुरा चरी जेलैमा, सबै अधिकार सभापतिलाई हुने रहेछ । अनि केही कुरा हुँदैन, त्यही भएर सबै कुरा बाहिर आउँछ । सभापतिले पनि महामन्त्रीलाई सघाउनुपर्छ’, उनको भनाइ छ ।

समानुपातिक निर्वाचन प्रणाली खारजेको माग

त्यसो त बैठकमा निर्वाचन प्रणालीबारे पनि छलफल भइरहेको छ । छलफलको क्रममा कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र केसीले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताए ।

उनले भने, समानुपतिक निर्वाचन प्रणाली स्थिर सरकारको बाधक बनेको छ । गठबन्धनबाट चुनावमा जाँदा देशलाई स्थिर सरकार दिन्छौं भनेका थियौं । तर, ४० प्रतिशत समानुपातिक सांसद हुने व्यवस्था स्थिर सरकारका लागि बाधक छ । सरकार निर्माणको तागत समानुपातिक निर्वाचन प्रणालीमा छ ।’

समानुपातिक सांसदलाई राष्ट्रियसभामा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

त्यसो त कांग्रेस रुपान्तरण अभियानले पनि समानुपतिक निर्वाचन प्रणाली खारेज गर्न नेतृत्वलाई सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर