उपप्रधान एवम् रक्षामन्त्री खड्कासँग कोरियाली राजदूतको भेटवार्ता – Nepal Press

उपप्रधान एवम् रक्षामन्त्री खड्कासँग कोरियाली राजदूतको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग दक्षिण कोरियाका राजदूत पार्क तैयोङले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

भेटमा रक्षामन्त्री खड्काले नेपाल र मित्रराष्ट्र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउन कोरिया सरकारको योगदानको प्रशंसा गर्दै गणतन्त्र कोरियाका राजदूतको कार्यकालको सफलताको लागि शुभकामना दिए ।

उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्‍वास व्यक्त गर्नुका साथै नेपाल र कोरियाका जनताबीच सद्‍भाव, स्नेह र एकता रहेको विचार समेत व्यक्त गरे ।

सोही क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष पुगेको अवसरमा दुई देशको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन दुई देशले काठमाडौ र सियोलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लागेकोमा खुशी व्यक्त गरे ।

साथै, मित्रराष्ट्र कोरिया लामो समयदेखिको भरपर्दो विकास साझेदार भएको कुरा स्मरण गर्दै उर्जा, शिक्षा, स्वास्थ्य, मानव संसाधन र ग्रामीण विकासमा कोरिया सरकारले गरेको सहयोग नेपालको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भएको धारणा समेत व्यक्त गरे ।

त्यस्तै, उनले नेपाली युवालाई ठूलो संख्यामा रोजगारी उपलब्ध गराएकोमा कोरिया सरकारलाई धन्यवाद व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको रक्षा मन्त्रालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

कोरियाका राजदूत तैयोङले मन्त्री खड्काले भेटका लागि समय उपलब्ध गराएकोमा धन्यवाद दिँदै नेपालले सातौं पार्टनरसीप फर टेक्नोलोजी इन पीकीपीङ इन्टरनेशनल सिम्पाइज्म (पीटीपीआईएस) सफलतापूर्वक आयोजना गरेकोमा नेपाल सरकारलाई बधाई दिएको विज्ञप्तिमा भनिएको छ ।

उनले रक्षा क्षेत्रमा दुई देशबीच थप सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको कुरा औंल्याउँदै इम्प्लोएमेन्ट पर्मिट सिस्टम (ईपीएस) अन्तर्गत नेपाल पहिलो प्राथमिकतामा रहेको र आगामी वर्ष दशहजार जनालाई रोजगारीको अवसर उपलब्ध गराउने कुरा समेत व्यक्त गरे ।

त्यस्तै, उनले नेपाल कोरीयालीका लागि पर्यटकको मुख्य गन्तव्य रहेको जनाउँदै आफ्नो कार्यकालमा पर्यटनको संख्यामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गरे ।

भेटमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, कोरियन दुतावासका थर्ड सेक्रेटरी तथा भाइस कन्सुल समेतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *