सर्पदंशबाट तराईवासीले अकालमा ज्यान गुमाउँदै, अधिकांशलाई उपचारको अभाव – Nepal Press

सर्पदंशबाट तराईवासीले अकालमा ज्यान गुमाउँदै, अधिकांशलाई उपचारको अभाव

रुपन्देही । केही दिनअघि कपिलवस्तुमा एकै दिन ४ जनाको सर्पले टोकेर ज्यान गयो । उनीहरूमध्ये एकै घरका दुई बालक र सर्वसाधारण थिए । तर उनीहरू चारै जनाको अस्पतालमा उपचारका लागि ढिलो आएका कारण मृत्यु भएको स्वास्थ्यकर्मीको भनाइ छ । यही असारमा मात्रै कपिलवस्तुमा ५ जनाले सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउनुपर्‍यो ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँकेमा सर्पको टोकाइ बढी रहेकोछ । गत आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म ३२५ जनालाई सर्पले टोकेको छ, जसबाट २६ जनाको मृत्यु भएको छ । असारको तथ्यांक नसमेटिए पनि निकै धेरै प्रभावित भएका छन् ।

कपिलवस्तु, रुपन्देही, दाङमा बढी प्रभावित छन् असारमा । पहाडी तीन जिल्ला गुल्मी, अर्घाखाँची, रुकुम पूर्व जिल्लामा भने यो आर्थिक वर्षदेखि अहिलेसम्म सर्पले टोकाइका बिरामी अस्पताल नआएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।

पाल्पामा ३३ जना, रोल्पामा ७ जना, प्युठानमा १ जनालाई सर्पले टोकेकोमा उपचारपछि निको भएका छन् । पश्चिम नवलपरासीमा तीन जनालाई टोकेकोमा एक जनाको मृत्यु भएको छ ।

जेठ महिनासम्म सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला रुपन्देही हो, जहाँ ११३ जनालाई सर्पको टोकेकोमा ११ जनाको मृत्यु भएको छ । यस्तै, कपिलवस्तुमा १७ जनालाई टोकेकोमा ४ जनाको मृत्यु भएको जनाइएको छ ।

दाङमा ४२ जनालाई टोक्दा १ जनाको मृत्यु भएको छ भने बाँकेमा ९८ जनालाई टोक्दा ८ जनाको मृत्यु भएको छ । बर्दियामा ८ जनालाई टोक्दा १ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा अहिले १४ वटा सर्प दंश उपचार केन्द्र रहेका छन् । ३ वटा नेपाली सेना र अन्य स्वास्थ्य मन्त्रालयले आफ्ना अस्पताललाई सर्पदंशको उपचारको केन्द्रको रूपमा खडा गरेको छ । तर सर्पदंशका उपचार केन्द्रहरू भए पनि सुरुमा झारफुक वा घरेलु उपचार विधिमा लाग्दा या उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु हुने संख्या धेरै देखिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेका अनुसार साउनदेखि जेठ मसान्तसम्म सर्पको टोकाइबाट २५ जनामध्ये १३ जनाको अस्पताल नल्याउँदै बाटोमै मृत्यु भएको छ । तर असारमा मात्रै प्रदेशमा ७ जनाको मृत्यु भएको छ । निर्देशनालयमा यो तथ्यांक अद्यावधिक गरिएको छैन ।

रुपन्देहीमा सर्पले टोकेर मृत्यु भएका ११ जनामध्ये ४ जनाको अस्पताल ल्याउन नपाउँदै मृत्यु भयो । बाँकेमा ८ जना मध्ये ५ जनाको, कपिलवस्तुमा ३ जनामध्ये २ जनाको, नवलपरासीमा ३ जनामध्ये १ जनाको बाटोमा मृत्यु भयो । पाण्डेले धेरै बालबालिका र पिछडिएको वर्गलाई सर्पको टोकाइको लक्षण थाहा नहुने अर्कोतिर सर्पदंश उपचार केन्द्र पुर्‍याउन ढिलाइ गर्दा मृत्यु भएको बताए । ढिलो उपचार गर्दा सर्पको विष शरीरमा अन्य भागमा पुगेर मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीका अनुसार प्रदेशमा रहेका सर्पदंश उपचार केन्द्र तथा अन्य अस्पतालहरू प्रभावकारी बनाउन नसक्दा सर्पले टोकेका बिरामीहरूले ज्यान गुमाउनुपरेको बताउँछन् ।

वातावरणविद् युवराज कँडेलका अनुसार बढ्दो शहरीकरण र वनविनाशको कारणले सर्पको वासस्थान र आहारा मासिँदै गएकोले सर्पहरू संकटमा परिरहेका छन् । सर्पदंशको कारणले ठूलो संख्यामा मानिसहरूको मृत्यु हुनु जति दुखद कुरा हो त्यति नै दुखद कुरा वातावरण चक्रका सञ्चालक सर्पहरू मासिनु पनि हो ।

सर्पदंशपछि केही घटनाहरूमा भने विषका गम्भीर असरहरू जस्तै: रगतको जम्ने गुणमा परिवर्तन हुने, डसेको ठाउँ बाहेक शरीरका अन्य भागबाट समेत रक्तस्राव हुने, डसाई भएको ठाउँ वरपरका तन्तुहरू कुहिने वा बिग्रिने र मिर्गौला सम्बन्धी समस्या हुन सक्दछ,’ कँडेलले भनेका छन् ‘मानिसहरूले विषविहीन, कम विषालु र अति विषालु सर्पहरू पहिचान गर्न नसक्दा सबै सर्पहरूलाई खतरनाक मान्ने गरेका छन् । सर्पलाई चिन्न नसक्दा विषहीन सर्पले टोक्दा समेत मनोवैज्ञानिक त्रास, गलत चिकित्सकीय उपचार र प्रतिविषको कारणले ठूलो संख्यामा मानिसले ज्यान गुमाएको समेत देखिन्छ ।

कँडेलको विश्लेषणमा मानिसहरूले खतरनाक माने पनि सामान्य अवस्थामा सर्प निकै नै शान्त प्रकृतिको जीव हो र प्रत्यक्ष रूपमा यिनीहरूले कसैलाई हानी पुर्‍याउँदैनन् तर जब यिनीहरूले आफूलाई असुरक्षित ठान्दछन्, तब मात्र यिनीहरू आक्रामक हुन्छन् । आफ्नो बाटोमा कुनै अवरोध भएमा वा कसैले यसको वासस्थान भत्काइदिएमा वा कुल्चेमा वा यसको अण्डा, बच्चालाई मार्न खोजेमा वा जिस्काइएको खण्डमा मात्र सर्पहरू हिंस्रक बन्छन् ।

डाक्टर कृष्ण आचार्यले सर्पले टोक्ने बित्तिकै नआत्तिने तर छिटो अस्पतालमा जानुपर्ने बताउँछन् । ‘हामीकहाँ रहेका सर्पहरूमध्ये १० प्रतिशत सर्प मात्रै विषालु हुन्छन्, ९० प्रतिशत विषालु हुँदैनन् त्यस कारण टोक्ने बित्तिकै नआत्तिने, आराम गर्ने, शरीर नचलाउने, केही खाने प्रयास नगर्ने, सकेसम्म अरूको सहायताले छिटो सर्पदंश उपचार हुने अस्पताल पुग्ने गर्नुपर्दछ’, उनले भनेका छन् ‘यो बिरामी र उनका आफन्त छिमेकी सबैले मनन गर्नुपर्दछ । यसबाट नै छिटो उपचार हुन सक्दछ ।

सुनवल, सालझण्डी, ठाकुरबाबामा नाम मात्रको उपचार केन्द्र

नवलपरासीको सरावल–१ का उत्तम चौधरीलाई केही समयअघि सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल–११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रतर्फ लगे । केन्द्र आउन करिब पाँच सय मिटर बाँकी रहँदा फोन सम्पर्कबाट उपचार केन्द्रमा ‘एन्टी स्न्याक भ्यानम’ नभएको जानकारी पाए । उत्तम र उनका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवलतर्फ कुदाए ।

उनी मात्र होइन सुनवल–११ जर्गाहाकै ४१ वर्षीया रेनुका चापागाईँलाई गत आइतबार सर्पले टोक्यो । चापागाईँका छिमेकीले वडाध्यक्ष कमल चुवाईलाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा फोन गरे । तर, केन्द्रबाट प्राप्त जवाफले उनलाई निकै निराश बनायो । केन्द्रले सर्पदंशको उपचार गर्न नसकिने बताएपछि चापागाईँलाई तुरुन्तै परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगेर उपचार गरियो ।

नवलपरासी सर्पदंशको उच्च जोखिम जिल्ला हो । वर्षा यामसँगै विषालु सर्पको टोकाइबाट ज्यानै जान सक्ने जोखिम उच्च हुँदा तत्कालै नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गर्न सके जोखिम कम हुन्छ । वडा अध्यक्ष चुवाईले उपचार केन्द्र नियमित सञ्चालन र औषधि व्यवस्थापनका लागि पटक–पटक नगरपालिकामा आवाज उठाउँदै आएको बताए ।

केन्द्रको २०७५ फागुन २७ गते तत्कालीन नगर प्रमुख भीमबहादुर थापा ‘भरत’ले उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिमा केन्द्रका लागि आवश्यक पर्ने औषधि उपलब्ध गराउँदै आएको बताउँछन् ।

२०७५ साल फागुन २७ गतेदेखि सञ्चालनमा आएको उपचार केन्द्रले २०७५ सालमा तीनजना, २०७६/०७७ मा २२ जना, ०७७/०७८ मा ७२ जना, ०७८/०७९ मा ५८ जना र २०७९ माघसम्म ५९ जना सर्पदंशका बिरामीलाई उपचार गरेको केन्द्रका डाक्टर हिमशैल खड्काले बताए ।

उनका अनुसार ‘उपचार केन्द्र सञ्चालन भएपछि गत माघसम्म २१४ जना सर्पदंशका बिरामीलाई उपचार गरिएको छ ।’ भौतिक संरचना, दक्ष जनशक्ति र औषधिको अभावको कारण देखाउँदै हाल उपचार केन्द्र बन्द छ । डाक्टर खड्का भन्छन्, ‘उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर छैन । यस्तो अवस्थामा उपचार गर्दा जुनसुकै बेला बिरामीलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने हुनसक्छ ।’

गत माघमा केन्द्रमा कार्यरत डाक्टर विनोदकुमार यादव नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सरुवा भए । उनी सर्पदंशको उपचार गर्नका लागि तालिम प्राप्त थिए । उनी गएसँगै उपचार केन्द्रमा सर्पदंशको उपचार हुन सकेको छैन । न त तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । डाक्टर खड्काका अनुसार अस्पतालमा रहेको एन्टी स्न्याक भ्यानमको गत चैत्र महिनामा डेट सकिएको हो ।

त्यसयता अस्पतालमा कुनै पनि निकायले भ्यानम उपलब्ध गराएको छैन भने तालिम प्राप्त जनशक्तिको व्यवस्थापन पनि भएको छैन । केन्द्र स्थापना गर्नका लागि सुनवल नगरपालिकाको पनि सहयोग रहेकोले औषधि सकिएसँगै डाक्टर खड्काले औषधि मागको पत्र लिएर नगरपालिका गएको बताए ।

खड्काले नगरपालिकासँग औषधि माग गरिएको बताए पनि सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले भने सर्पदंशको उपचार निरन्तरताका लागि नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयबाट कुनै पनि समन्वय गर्न नआएको बताइन् । उनी भन्छिन्, ‘नगरसँग उपचार केन्द्रका लागि कसैले औषधि माग गरेको छैन । दुईवटा एसी माग गरिएको थियो जुन उपलब्ध गरायौँ ।’ औषधि सकिएकै समयमा औषधि उपलब्ध नगराएको नगरले उपचार केन्द्रमा एसी भने उपलब्ध गराएको छ । नगर प्रमुख अर्यालले सर्पदंशको उपचार केन्द्र सञ्चालन गर्न आवश्यक समन्वय गर्न तयार रहेको बताइन् ।

प्रदेशमा नेपाली सेनाले सर्पदंशको उपचारका लागि ४ वटा केन्द्रमा नेतृत्व गरेको छ । कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको सालझण्डी, दाङको गढका र बर्दियाको ठाकुरबाबामा सेनाले यसको काम थालेपनि यी मध्ये गोरुसिंगे र गढवा केन्द्रले मात्र नियमित सेवा दिएका छन् ।

स्वास्थ्य निर्देशनालय आपूर्ति शाखाका कर्मचारी हरि आचार्यका अनुसार रुपन्देहीको सालझण्डी केन्द्र र ठाकुरबाबा केन्द्रले कार्यविधि बनाउन नसकेका कारण रोकिएको छ । त्यसैगरी नवलपरासीको सुनवलले भने भ्याक्सिन लगे पनि नियमित गर्न सकेको छैन । प्रदेशमा रहेका १४ उपचार केन्द्रमा सबैमा आवश्यक भ्याक्सिन पुराइएको उनले बताए ।

प्रदेशमा कहाँ कहाँ हुन्छ सर्पले टोकेपछिको उपचार ?

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही

भीम अस्पताल भैरहवा रुपन्देही

त्रिवेणी सर्पदंश केन्द्र नवलपरासी

गोरुसिंगे सर्पदंश केन्द्र कपिलवस्तु

कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा

भेरी अस्पताल नेपालगन्ज बाँके

बर्दिया अस्पताल बर्दिया

राप्ती प्रादेशिक अस्पताल घोराही दाङ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही

लमही सर्पदंश केन्द्र दाङ

पृथ्वीचन्द्र अस्पताल परासी

चिसापानी अस्पताल नवलपरासी

रामपुर अस्पताल पाल्पा

युनाइटेड मिसन अस्पताल तानसेन पाल्पा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *