६ वर्षअघि सडक मार्गबाटै भित्रिएको थियो ८८ केजी सुन – Nepal Press

६ वर्षअघि सडक मार्गबाटै भित्रिएको थियो ८८ केजी सुन

काठमाडौं। नेपालको इतिहासमै सबैभन्दा ठुलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। हवाई मार्गबाट आएको सुन ब्रेक सुभित्र लुकाइएको अवस्थामा भन्सार पास भएर बाहिरिन लागेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको हो।

विभागले करिब एक क्विन्टल सुन बरामद भएको अनुमान गरेको छ। परिणाम जाँचका लागि राष्ट्र बैंक पठाइएको छ। रेडी ट्रेडर्स प्रालीले स्कुटरमा प्रयोग हुने भनी ल्याएको ब्रेक सुभित्र सुन भेटिएको हो।

चीनबाट कार्गो प्लेनमा आएको उक्त सामान विमानस्थल भन्सार कार्यालयमा सोझै झरे पनि सजिलै भन्सार जाँच पास भएको थियो। यसअघि त्रिभुवन विमानस्थलको यात्रु कक्षबाट विभिन्न बहानामा सुन तस्करी हुने गरेको देखिएको थियो।

कपडामा दलेर ल्याउनेदेखि फल्स बटन बनाएर लुकाउनदेखि विभिन्न जुक्ती अपनाएर भित्र्याउने गरेको देखिएको थियो। उता भन्सार कार्यालयमा आइपुगेको इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याइएको १० केजी सुन विमानस्थलकै कर्मचारीको मिलेमतोमा गायब भएको हालैको घटना सार्वजनिक भएको थियो।

यसअघि एकै पटक यति ठुलो परिमाणमा तस्करीको सुन बरामद भएको थिएन। २०७४ भदौमा ठमेलमा रोकी राखेको गाडीभित्रबाट ८८ केजी सुन बरामद भएको थियो।

नेपालको इतिहासमा तस्करीको एकै पटक बरामद भएको त्यही सबैभन्दा धेरै सुन हो। उक्त सुन चीनबाट रसुवा नाका हुँदै सडक मार्ग भएर नेपाल भित्रिएको थियो। चिनियाँ गिरोहले नेपालीसँग मिलेर उक्त सुन काठमाडौंसम्म ल्याइपुर्‍याएका थिए। साँझ ल्याएर पार्क गरिएको गाडीबारे प्रहरीले सुराकी पाएको थियो।

२०७४ भदौ १९ गते रोकी राखेको गाडीलाई काठमाडौं उपत्यकाका विभिन्न प्रहरी युनिटले रातभर निगरानी गरे पनि त्यसलाई लिन कोही नआएपछि तत्कालीन अपराध महाशाखाले टेकुस्थित कार्यालयमा ल्याएर खानतलासी गरेको थियो।

त्यस क्रममा फल्स बटम बनाएर ल्याइएको अवस्थामा ठुलो परिमाणमा सुन बरामद भएको थियो। उक्त सुन काठमाडौं होटल इनका सञ्चालक चिनियाँ नागरिकको भएको पाइएको थियो। उनीहरूले होटलकै गाडीलाई चीनबाट सुन ल्याउन प्रयोग गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *