विमानस्थलमा नासुदेखि अफिसरसम्मले हेर्छन् भन्सारका सामान, कसरी छुट्यो १०० किलो सुन ? – Nepal Press

विमानस्थलमा नासुदेखि अफिसरसम्मले हेर्छन् भन्सारका सामान, कसरी छुट्यो १०० किलो सुन ?

काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराजले एकपटक भनेका थिए, ‘म नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिन सक्छु ।’

उनको त्यही भनाइलाई पुष्टि गर्दै त्रिभुवन विमानस्थलबाट हिजो १०० किलो सुन भन्सार पास भयो ।

विमानस्थलबाट बाहिरिएर गन्तव्यमा लैजाने क्रममा राजस्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको थियो । यस विषयमा अनुसन्धान जारी छ । तर, सबैको मनमा उब्जेको प्रश्न हो, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार पास भयो कसरी ? के कर्मचारीको सेटिङविना यो सम्भव छ ?

चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो । रेडी ट्रेड प्रालिले ८ वटा कार्टुनमा हालेर ‘ब्रेक सु’ का नाममा सुन भित्र्याएको हो । उक्त सुन जुलाई १६ देखि १७ सम्म त्रिभुवन विमानस्थलको गोदाममा बसेको थियो ।

१८ जुलाई ०२ः२२ मा गोदामबाट एक्सरे भएर सुन बाहिर गएको देखिएको छ । सामान पास गराउने भन्सार प्रतिनिधिले ३ जना भन्सार एजेन्टको कार्ड प्रयोग गर्ने गरेको स्रोतले बताएको छ ।

विदेशबाट ल्याइएका सामान लामो प्रक्रिया पूरा गरेरमात्रै त्रिभुवन विमानस्थलबाट छुट्ने गर्छ । विदेशबाट सामान आएपछि सम्बन्धित एयरलाइन्सले त्रिभुवन विमानस्थलको गोदाममा ल्याइदिन्छ । त्यसपछि सामान आयातकर्ताले भन्सार एजेन्ट वा भन्सार प्रतिनिधिलाई आफ्नो सामान भन्सार जाँचपास गर्न जिम्मा दिने गर्छन् ।

आयातकर्ताले भनेअनुसार सामान भन्सार जाँचपास गराउने भन्सार एजेन्ट वा प्रतिनिधिले प्रज्ञापनपत्र भरेर भन्सारमा दिन्छन् । त्यसमा नै सामान कसको हो, के-के सामान छ, कति छ र कुन गाडीबाट गन्तव्यमा लाने हो भन्ने कुरा उल्लेख भएको हुन्छ ।

त्यसैअनुसार भन्सार कार्यालयको सिस्टमले मेसिनबाट सामान भनेअनुसार ठीक छ कि छैन भनेर हेर्छ । त्यसपछि भन्सारको जाँचकीले सामान रुजु गरेर हेर्ने गर्छन् ।

भन्सारको जाँचकीले प्रज्ञापनपत्रमा उल्लेख भएअनुसारको सामान छ भनेपछि पुनः भन्सारका नासु, अफिसर र प्रमुख भन्सार अधिकृतले पनि आयातकर्ताले उल्लेख गरेको सामान ठीक छ कि छैन भनेर हेर्ने गर्छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले एक्सरे गरेर अवैध सामान छैन भन्ने एकिन गरेरमात्रै सामान जाँचपास हुने विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका खनालले नेपालप्रेसलाई बताए ।

एक्सरेमा नदेखाउने गरेर सुनमा कुनै केमिकल प्रयोग गरेको वा तरिका अपनाइएको भनेर अध्ययन र अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो ।

सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई पक्राउ गरिएको छ । अन्य २ जनाको नाम खुलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *