नेकपा एस तनहुँ अध्यक्ष श्रीरामको घरमा पीएस गुरुङ, फर्किएलान् एमालेमै ? – Nepal Press

नेकपा एस तनहुँ अध्यक्ष श्रीरामको घरमा पीएस गुरुङ, फर्किएलान् एमालेमै ?

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एस तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीको घरमा पुगेका छन् । कार्कीले आफ्नो फेसबुक वालमा एमाले उपमहासचिव गुरुङसँगको भेटको फोटो सार्वजनिक गरेका छन् ।

फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘महत्त्वपूर्ण पारिवारिक भेटघाटका क्रममा आदरणीय नेता गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री नेकपा एमाले केन्द्रीय उपमहासचिव कमरेड पृथ्वी सुब्बा गुरुङसँग …..’

उनले एकीकृत समाजवादी छाडेर एमालेमै फर्कने मनसाय देखाएको बताइएको छ । कार्कीले गत वैशाखमा भएको उपनिर्वाचनमा पनि एमाले फर्कने संकेत गरेका थिए । उनीसहित एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष शंकरनारायण श्रेष्ठ पनि एमालेसंग संवादमा थिए । यी नेतासँग गुरुङले पोखरा, तनहुँमा पटकपटक संवाद गरेका थिए । तर, टिकट नपाएपछि तत्कालका लागि एमाले प्रवेश गर्ने बाटो रोकिएको थियो ।

नेकपा एस तनहुँका एक पदाधिकारीले ढिलोचाँडो एमालेमै फर्कने बताए ।

‘ढिलोचाँडो एमालेमै फर्कने हो, उताकाले राम्रो व्यवहार गर्नुपर्‍यो,’ उनले भने, ‘हाम्रो पार्टी (एकीकृत समाजवादी) सँग विचार सिद्धान्त केही छैन, बसिरहन सकिँदैन ।’

समाजवादी केन्द्र माओवादी बन्ने लाइनमा भएको ती नेताको टिप्पणी छ । ‘समाजवादी केन्द्र माओवादी बन्ने लाइनमा छ, हामी माओवादी बन्न सकिदैन, कांग्रेसमा पनि जाँदैनौं, रास्वपामा पनि जादैनौं, बरु एमालेमै फर्किन्छौं’, उनले भने ।

उपनिर्वाचनमा एमालेको मत घटेको देख्दा दु:ख लागेको समाजवादी तनहुँका अर्का एक नेताले बताए ।

‘एमालेको भवन हामीले बनाएको, पार्टी सदस्यता, संगठन विस्तार हामीले गरेको हो । मत घट्दा दु:ख लाग्यो’, ती नेताले भने ।

उपनिर्वाचनमा नेकपा माओवादीले एसलाई सक्नुपर्छ भनेर लागेको उनको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर