मोरङका जाँगरिला महिला, जाे निगुरोबाट नूनभुटुन जोहो गर्छन् – Nepal Press

मोरङका जाँगरिला महिला, जाे निगुरोबाट नूनभुटुन जोहो गर्छन्

मोरङ । पूर्वपश्चिम राजमार्जबाट यात्रा गर्नेहरुले उत्तरी मोरङको कानेपोखरी क्षेत्रमा पुग्दा प्रायः देखिरहने बिक्रीको सामान हो निगुरो । इटहरी र दमकको बीचमा पर्ने उक्त राजमार्ग क्षेत्रमा कतिपयले सडक किनारमा मुठामुठा बनाएर राखेका त कतिले गाडीको झ्यालमै आएर बिक्री गर्न निगुरो लिएर आउँछन् ।

बैशाखदेखि साउनसम्म नियमित सडक किनारमा धेरै बिक्री हुने निगुरो बाँकी महिना सडक किनारबाट हराउँछ । साउनदेखि चैतसम्म आठ महिना लगभग निगुरोको सिजन सकिन्छ ।

निगुरोको सिजन सकिए पनि निगुरो टिपेर नूनभुटुन गर्ने विमला थामीको घरमा निगुरोको कुनै न कुनै उपस्थिति रहन्छ । जस्तो उनले आफ्ना तीन स्कुले सन्तानलाई किनिदिएका कापीकलममा कतै न कतै निगुरो जोडिन्छ । उनले चाडबाडमा जोडिदिएका बच्चाका लत्ताकपडामा पनि कतै न कतै निगुरोकै सम्बन्ध हुन्छ । उनले भान्सामा किन्ने कुनै न कुनै सामग्रीहरुमा निगुरोको कुनै न कुनै साइनो हुन्छ हुन्छ । श्रीमानले अटो चलाएर आर्थिक जोहो गरे पनि विमलाको मूल आम्दानीको पाटो निगुरो नै हो ।

विमला उत्तरी मोरङको कानेपोखरी गाँउपालिका- ७ को २५ बिगे क्षेत्रकी रैथाने हुन् । उनको माइती र घर त्यही क्षेत्र हो । बिहे गरेर पनि गाउँमै बसेकाले नै हो, विमला गाउँकी निगुरोसँग जोडिएकी सबैभन्दा लामो अनुभव लिएकीमध्ये एक अनुहार हुन् । ३५ वर्षकी थामी निगुरोसँग जोडिएको २३ वर्ष भयो । यो अवधिमा तीन सन्तानलाई दिएको समय कटाउँदा उनी पाँच वर्ष हाराहारीमात्रै निगुरो टिप्न गइनन् । बाँकी सबै वर्षहरुमा उनी निगुरो टिप्न गइन् ।

विमला थामी र उनकी आमा ।

उसो त विमला वंशजले निगुरो टिप्ने महिला हुन् । भोजपुरबाट मोरङ बसाइ सरेर आएपछि उनकी आमाले निगुरो टिप्न सुरु गरेकी थिइन् । आमा नरमाया थामीकै पाइला पच्छ्याएर उनी लेटाङको जंगल क्षेत्रसम्म निगुरो टिप्न पुगिन् । ‘मैले थाहा पाउँदा सबैभन्दा पहिले बेचेको निगुरो १५ रुपैयाँको थियो’, विमला भन्छिन्, ‘सबैभन्दा धेरैको चैं पाँच सय बढीको बेचे होला ।’

पहिले पहिले निगुरो टिप्न बिहान १ बजे नै उठेर पाँच घण्टा पैदल हिँडेर जाने, चारपाँच घण्टा जंगलमा व्यस्त हुने र बाँकी पाँच घण्टा हाराहारीमा घर आउने बिमलाले सुनाइन् ।

‘बिहान १ बजे आसपास हिँडेर साँझ ५ बजे आसपास घरमा आइन्थ्यो’, पहिले पहिलेको निगुरो कथा सुनाउँदै उनी भन्छिन्, ‘साइकलमा जान थालेको ६ वर्ष मोटामोटी भएको होला । साइकलमा पुग्न पनि एक घण्टा त लाग्छ ।’

विमलाले निगुरो टिप्ने जंगल उत्तरी मोरङको लेटाङ क्षेत्रको फायर लाइन भनिने वन क्षेत्र हो । जहाँ बैशाखबाट साउनसम्म जताजतै निगुरो पाइन्छ । निगुरो टिप्नेहरुको लर्को लाग्छ । त्यही लर्कोमा दोहोरिरहने एक अनुहार विमलाको हो । आमाको पालाबाट सिकेर आफूले निगुरो टिपेको बताउने उनी आफ्नी १५ वर्षीया छोरीले पनि निगुरो टिपेको अनुभव बोकेको सुनाउँछिन् । आफ्नी ७३ वर्षकी आमासँगै उभिएर उनी भन्छिन्, ‘हाम्रोमा त निगुरो टिप्ने अंश पाए जस्तो पो भयो ।’

निगुरो टिपेरै १० कक्षा पढ्ने १५ वर्षकी छोरी, ६ कक्षा पढ्ने १२ वर्षका छोरा र २ कक्षामा पढ्ने ९ वर्षकी छोरीलाई पुग्ने सामान्य खर्चबर्च चलेको विमला बताउँछिन् ।

‘चार महिनामात्रै हुने निगुरोले १२ महिनै सबैथोक त पुग्दैन’, विमला भन्छिन्, ‘आफ्नो सामान्य घर खर्च चलाउन निगुरो धेरै सहयोगी भएको छ ।’

निगुरो नभएको भए आफ्नो परिवार धान्न थप सकस हुने उनको भनाइ छ । विमलाकी पुरानो निगुरो टिप्ने सहपाठी हुन् दुर्गा श्रेष्ठ । भक्तपुरमा बिहे गरेर पुनः माइती आएकी दुर्गाको अरु दिगो र दरिलो आम्दानी छैन । उनी निगुरोबाटै दिनचर्यालाई सहज बनाउने लाइनमा पुनः २५ बिगेमा आएकी छन् । ३८ वर्षकी दुर्गाले निगुरो टिप्न थालेको १० वर्षबाट हो । प्रतिमुठा आधा रुपैयाँमा बेच्ने सयममा निगुरो टिपेकी उनले अहिले मुठाको बीस रुपैयाँसम्म बेचेकी छन् ।

दुर्गा श्रेष्ठ ।

श्रीमानसँगै अहिले २५ बिगेमा बस्ने दुर्गाको गाउँमा घरभन्दा अरु थोक छैन । निजी जमिन छैन । उनलाई जंगलमा चार महिना हुने निगुरो व्यापारले केही भरथेग गरेको छ ।

‘मेरो खास कमाइ निगुरोकै हो’, दुर्गा भन्छिन्, ‘निगुरोको चार महिनाबाहेक म मेलापातमा लागेर पैसा कमाउँछु ।’

कुनै समय पैदल यात्रा गरेर अहिले साइकलमा गएर निगुरो टिप्छन् विमला र दुर्गा । तर, उनीहरुसँगै निगुरो टिप्दै आएकी रेणुकादेवी दाहाल भने अहिलेसम्म पैदल यात्रामा गएरै निगुरो टिप्छिन् । आफूलाई साइकल चलाउन नआउने भएकाले पैदल जान बाध्य भएको उनी सुनाउँछिन् ।

५० वर्षीया तीन सन्तानकी आमा रेणुकादेवी २५ बिगेमा झापाबाट विवाह गरेर २०४९ सालमा आएकी हुन् । उनी आएसँगै उनीसँग जोडिएको कर्म हो निगुरो टिपाइ । त्यही निगुरो टिपाइको सीपले अहिले दाहालको घरलाई थोरै भरथेग भएको छ ।

‘चार महिनाको निगुरोले ६ महिना जत्ति चैं घरमा नूनभुटुन र चामल पुग्छ’, रेणुकादेवी दाहाल भन्छिन्, ‘यति हुनु पनि धेरै सुविस्ता हुनु हो । निगुरो नभएको भए गाह्रो थियो ।’

रेणुकादेवी दाहाल ।

निगुरोले घरमा सामान्य भरथेग भए पनि निगुरो टिप्न सहज भने नभएको रेणुकादेवीको भनाइ छ । उनी भन्छिन्, ‘कहिलेकाहीं त बिहान एक दुई बजेर हिँडेर साझ पाँच बजे घरमा आएर बिहान र बेलुकाको खाना एकैपटक पो हुन्छ ।’

निगुरोबाहेकको सिजनमा अरु खेतीकिसानीका काममा लागेर घर खर्च चलाउने रेणुकादेवी निगुरोलाई आफ्नो संघर्षशील तर राम्रो आम्दानी मान्छिन् । आठ आना मुठाबाट बेच्न सुरु भएको उनको निगुरो बेचेको अनुभव मुठाको बीस रुपैयाँसम्मको छ । दिनको ५०० रुपैयाँसम्मको बेचेको उनको अनुभव छ ।

विमला, दुर्गा र रेणुकादेवीको बस्ती नजिकै जंगल छ । राजमार्गसँगै जोडिएको उक्त जंगलमा पनि निगुरो अलेली हुन्छ । पर्याप्त भने हुन्न । यसो हुनुमा उनीहरुलाई मुख्य कारण डढेलो लाग्छ ।

‘यता लेटाङमा जस्तो धेरै निगुरो हुन्न’, विमला भन्छिन्, ‘समय समयमा आलो र डढेलो लगाउनाले यस्तो भएको हुनसक्छ ।’

दुर्गा भने गाउँकै जंगलमा निगुरो भएको भए धेरै सहज हुने बताउँछिन् ।

निगुरो टिपाइका तनाव- हात्तीदेखि मान्छेसम्मका आतंक

कानेपोखरीको २६ बिगेबाट लेटाङको फायर लाइन राष्ट्रिय वनसम्म पुगेर साइकलमै निगुरो टिप्न सहज छैन । पैदलका दुःख झन कति हो कति । बजार नपाउने अरु दुःख उत्तिकै छ । कानेपोखरीका महिलाहरुले ६ वर्ष अगाडिसम्म एक मुठाको दाम तीन रुपैयाँ हाराहारीमात्रै पाउँथे । रंगेलीतिरका व्यापारीहरुले तीन रुपैयाँमा किनेर निगुरो लान्थे ।

तर, काठमाडौंबाट नयाँ व्यापारी बलराम राई आएपछि मात्रै दाम बढ्यो । ‘उहाँ आउनु अगाडिसम्म दामै थिएन भन्दा हुन्छ’, विमला भन्छिन्, ‘उहाँले सीधै गाडीबाट काठमाडौं लान थालेपछि दाम ह्वात्तै बढेको हो ।’

उनका अनुसार बलरामले पछिल्ला दुई वर्षबाट कारोबार छोडेका छन् । तर, निगुरो क्षेत्रमा सक्रिय महिलाहरुले बलरामले निर्धारण गरेको दाम भने छोडेका छैनन् ।

निगुरो टिपाइका मान्छेले सिर्जना गरेका दुई समस्याहरु छन् । पहिलो समस्या बजार हल्ला हो । हल्लाले भन्छ- निगुरोमा रासायानिक मल हालिएको हुन्छ । टिप्नेहरुका आआफ्नो इलाका हुन्छ । त्यो इलाकामा उनीहरुले गएर मल हाल्छन् । यो कुरामा विमलाको धेरै आपत्ति छ । जंगलमा निगुरो टिप्नेहरु एकदुई जना नभएर हुलका हुल भएकाले मल हाल्न र इलाका बाँड्न सम्भवै नहुने बताउँछिन् उनी ।

उनी भन्छिन्, ‘त्यस्तो जंगलमा पुग्ने मल कसरी ल्याउने ? आफ्नो इलाका भनेर राखेर कसरी आफ्नो हुन्छ ? जसले पनि टिप्न पाइहाल्छ ।’

मान्छेले सिर्जना गरेको अर्को आतंक हो, जंगलमा बेला बेला निस्किने नग्न पुरुषहरु । उनीहरुले महिलाहरुमात्रै भएको समूहलाई लक्षित गरेर त्यस्तो हर्कत गर्ने निगुरो टिप्ने महिलाहरुको भनाइ छ ।

‘मैले आफैं त त्यस्तो देखेको छैन । तर, धेरै दिदीबहिनीहरुले यस्तो गुनासो गर्नुभएको छ’, विमला भन्छिन्, ‘एक दुई वर्ष अगाडि पनि यस्तै गुनासो आएको थियो ।’

रेणुकादेवीले नांगा पुरुषहरुले गरेको तनावका बारेमा कानेपोखरी प्रहरीलाई भन्दा टेरपुछर नलाएको गुनासो गर्छिन् । ‘हामीले पुलिसलाई भन्दा किन गएको त जंगल नजानु नि भन्दै डन्डा हल्लाँउछन्’, रेणुकादेवी भन्छिन्, ‘कतिपय दिदीबहिनी त्यो देखेर बेहोस पनि हुनुभएको छ ।’

हात्ती आगमन निगुरो टिपाइको अर्को सकस हो । रेणुकादेवी दाहालले आफूले तीस वर्षको अन्तरालमा तीन पटक हात्ती देखेको बताउँछिन् । ‘हात्तीहरु एउटा दुइटामात्रै आउँदैनन्, धेरै हुलका हुल आउँछन्’, रेणुकादेवी भन्छिन्, ‘तर, तिनीहरु आउँदा रुखपात हल्लिने र सर्‍याकसुरुक हुने भएकाले थाहा पाएर भाग्न सजिलो हुन्छ ।’

हात्तीका अतिरिक्त हरियो सर्पदेखि खजुरो, बिच्छीसम्मको समस्या उत्तिकै छ । अहिलेसम्म कानेपोखरी क्षेत्रका महिलाहरुलाई सर्पले टोकेर ज्यान लिएको छैन । दुःख भने पटकपटक दिएको छ । विमलाका अनुसार स्थानीय महिलाहरु बिजुला र अप्सरालाई सर्पले टोकेको थियो । सर्पले मात्रै होइन बिच्छीले टोकेका महिलाहरु पनि छन् । यस्तै एक पीडित हुन् मनमाया थामी ।

भावी आशाः बाह्रै महिना काम र कामअनुसारको दाम पाइयोस्

कानेपोखरीमा निगुरो टिप्ने महिलाहरुका धेरै ठुलो सपना छैनन् । उनीहरु जंगलमा निगुरो पाइरहोस् भन्ने चाहन्छन् । निगुरो टिप्न जाँदा मान्छेदेखि जीवजन्तुको तनाव नहोस् भन्न चाहन्छन् । निगुरोको दाम र काम बढ्दै जाओस् भन्ने चाहन्छन् । निगुरोलाई प्रशोधन गर्नेदेखि भण्डारण गर्नेसम्मका ठूला योजना र सपनाहरु पनि छैनन् उनीहरुका । सबैभन्दा धेरै चाहना नै उनीहरुको नियमित काम पाइयोस् भन्ने छ ।

निगुरो चार महिनामात्रै पाइने बाँकी समय खाली जस्तै हुने भएकाले काम पाइयोस् भन्ने उनीहरुको माग छ । ‘हामी अहिले १२ महिनामा ४ महिनामात्रै निगुरोमा लाग्छौं’, विमला भन्छिन्, ‘अब हामीलाई ८ महिना गाउँघरमै सरकारले केही काम गर्ने अवसर दिएर दाम दिए धेरै हुन्थ्यो । हामीलाई चाहिएको काम हो । कामअनुसारको दाम हो ।’

यो वर्षबाट ५० कटेकी रेणुकादेवीलाई अब धेरै दुःख गरेर निगुरो टिप्न पैदल जाने उमेर बाँकी छ जस्तो लाग्दैन । तर, उनमा काम गर्ने जाँगर भने उत्तिकै छ । उनी भन्छिन्, ‘उमेर बढे पनि काम गर्ने जाँगर घटेको छैन । बाह्रै महिना काम पाइयोस्, कामअनुसारको दाम पाइयोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर