६ वर्षअघि मृत्यु भएकी धनाढ्य महिलालाई ‘आमा’ दाबी गर्दा हिरासत पुगेका सतराज – Nepal Press

६ वर्षअघि मृत्यु भएकी धनाढ्य महिलालाई ‘आमा’ दाबी गर्दा हिरासत पुगेका सतराज

काठमाडौं । मकवानपुरका ४५ वर्षीय सतराज गुरुङ जेठको तेस्रो साता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयसँग जोडिएको करिब ३१ आना जग्गा बिक्री गर्ने तयारीमा थिए । त्यसका लागि उनले बैनासमेत बुझिसकेका थिए । त्यहीबेला उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

गुरुङले आफूलाई छोरा दाबी गर्दै वैशाख २७ गते मात्र उमादेवी गुरुङको नाममा रहेको उक्त जग्गा कलङ्की मालपोतबाट आफ्नो नाममा नामसारी गरेका थिए । प्रहरीको दाबी थियो, सतराज उमादेवीका छोरा होइनन् ।

उता उमादेवी आफ्नो श्रीमती भएको र तीन सन्तान रहेको भन्दै भारतीय नागरिक मोहन चन्द्र (एमसी) परेरा प्रहरी सम्पर्कमा आए । परेराकै जाहेरीमा प्रहरीले अनुसन्धान अगाडि बढायो । त्यसपछि उमादेवीको दिदिबहिनी दाबी गर्नेहरु पूर्णीमा गुरुङ र उर्मिला गुरुङ पनि प्रहरी सम्पर्कमा पुगे । उनीहरुको दाबी थियो, ‘उमादेवीले विवाह नै गरेकी छैनन् । उनको दाहसंस्कार हामीले गरेका हौँ । त्यसैले जग्गा हामीले पाउनुपर्छ ।’

तर परेरासँग केही प्रमाण थिए । उनले नाता प्रमाणित प्रमाणपत्र, जन्मदर्ता, विवाह दर्ता, परिवारकै तस्बिरसहित थुप्रै प्रमाणहरु प्रहरीलाई बुझाएका थिए । परेराका अनुसार उमादेवीको २०७४ भदौ २६ गते भारतको कर्नाटकमा मृत्यु भएको थियो । उनले २०७५ असार १९ गते बनाइएको श्रीमतीको मृत्यु दर्तासमेत पेश गरेका छन् ।

सन् १९७४ देखि २ वर्ष भारतको इलाहाबादस्थित कलेजमा उमाले बीएसस्सी होम साइन्स अध्ययन गर्नेक्रममा एमसी परेराको उनीसँग भेट भएको थियो । परेरा पनि सोही कलेजमा पढ्थे । भेटघाटकै क्रममा उनीहरुबीच माया बस्यो ।

पछि नेपाल फर्किएर आफूहरु जावलाखेलस्थित चर्चामा क्रिस्चियन परम्पराअनुसार विवाह बन्धनमा बाँधिएको परेराको भनाइ छ । २०३८ माघ ७ गते आफूहरुको विवाह भएको प्रमाण उनले पेश गरेका छन् । त्यस विवाहमा उमादेवीका दिदिबहिनीहरु पनि सहभागी रहेको दाबी पनि उनको छ ।

विवाहपछि उनीहरु चितवनको हालको भरतपुर महानगरपालिका–१९ पुगेर स्थायी बसोबास गरेका थिए । परेरा–गुरुङबाट २०४३ कात्तिक २४ गते डेरेन प्रिया परेरा गुरुङ, २०४४ पुस ३० गते आलरिया परेरा गुरुङ र २०५१ पुस ११ गते अमन आदित्य परेरा गुरुङको जन्म भएको सरकारी अभिलेखबाट देखिएको छ । परेराका अनुसार उमादेवीले २०४१ सालदेखि रामपुर कृषि क्याम्पसमा पढाउन पनि थालेकी थिइन् ।

उमादेवीको नाममा दर्ता रहेको नमुना कृषि फार्म उनले चलाउने गर्थे । परेरा भारतीय नागरिक भएका कारण सबै सम्पत्ति उमादेवीको नाममा किनिएको थियो । २०४२ माघ २७ गते कीर्तिपुरको उक्त ३१ आना जग्गा उमादेवीको नाममा आएको सरकारी अभिलेखबाट देखिएको छ ।

हालसम्मको प्रहरी अनुसन्धानमा उमादेवीको नाममा भरतपुरमै पौने २ बिघा र ललितपुरमा ६ रोपनी जग्गा भएको पाइएको छ ।

‘देशभर उमादेवीको नाममा कहाँ–कहाँ जग्गा रहेछ भनेर खोजी गर्ने काम भइरहेको छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

सरकारी अभिलेखअनुसार उमादेवी २०१२ कात्तिक २० गते स्याङ्जामा जन्मिएकी हुन् । परिवारका तीन छोरीमध्ये उनी माहिली हुन् । क्रिस्चियनहरुकै सम्पर्कमा पुगेका कारण उनले पछि राम्रो शिक्षादिक्षा पाएको हुनसक्ने अनुसन्धान अधिकारी बताउँछन् ।

यता उमादेवीलाई आमा दाबी गर्ने सतराज २०३५ साल साउन ७ गते मकवानपुरको तत्कालीन टिस्टुङ गाविस–६ र हालको थाहा नगरपालिका–१२ तारुकामा जन्मिएको सरकारी अभिलेखबाट देखिएको छ ।

सतराजको दाबीअनुसार उनका बुबा बमबहादुर गुरुङ भारतीय आर्मी हुन् भने उनका दुईवटा आमा थिए । आफू कान्छी (उमादेवी) पट्टिको भएको र २ वर्षको उमेरमा उमादेवीले छाडेर गएको दाबी गरेका छन् ।

प्रहरी अनुसन्धानमा सतराजले २०७९ साउन १८ गते थाहा नगरपालिका–१२ वडा कार्यालयमा उमादेवीको मृत्यु दर्ता, नाता प्रमाणितका लागि मुचुल्कालगायतका धेरैवटा काम एकैदिन सकेको देखिएको छ । त्यसको झण्डै २ महिनापछि, असोज १२ गते सतराजले नागरिकताको प्रतिलिपी निकालेका थिए जसमा आमाको पनि नाम उल्लेख गर्दै उमादेवी गुरुङलाई आमा लेखिएको थियो ।

तर, अनुसन्धानका क्रममा सतराजले २०७२ असार २२ गते पासपोर्टका लागि आवेदन दिँदा आमाको नाम देवकी गुरुङ उल्लेख गरेको पाइएको छ । देवकी नै सतराजको वास्तविक आमा भएको दाबी प्रहरीको छ । यता सतराजको दाबीअनुसार देवकी उनकी जेठी आमा हुन् । तर सतराजले नागरिकताको प्रतिलिपी निकाल्दाबाहेक उमादेवीलाई आमाका रुपमा उल्लेख गरेको सरकारी अभिलेख कहीँकतै नभेटिएको अधिकारीहरु बताउँछन् ।

‘रातारात जसरी कामहरु भयो र जसरी जग्गा आफ्नो नाममा ल्याउने बित्तिकै बिक्री गर्न खोजिएको छ, यसबाट बदमासी भएको हो भन्ने कुरा स्पष्ट हुन्छ’, अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीले यो प्रकरणमा सतराजका बुबादेखि थाहा नगरपालिका–१२ का वडाध्यक्ष, वडा सचिव, उमादेवी आमा हुन् भनेर सनाखत गर्नेलगायतको खोजी गरिरहेको छ । स्रोतका अनुसार उनीहरु सबै अहिले फरार छन् ।

उमादेवीको नाममा रहेको जग्गाबारे सतराजले कसरी थाहा पाए र सम्पूर्ण प्रकृयामा को-कसकाे कसरी सहभागिता रह्यो भन्नेबारे प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । मालपोतका अधिकारीको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *