कुशलको स्पिन यूएईलाई भारी, १५७ रनमा समेटियो – Nepal Press

कुशलको स्पिन यूएईलाई भारी, १५७ रनमा समेटियो

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा नेपाललाई यूएई ए ले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

पार्ट टाइम बलर कुशल भुर्तेलको स्पिन सामना गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।

टस जितेर यूएईले पहिले ब्याटिङ गरेको थियो । यूएईका ओपनर लभप्रित सिंह र आयांश शर्माले पहिलो विकेटका लागि ३९ रनको पार्टनरसीप गरे । तर, उनीहरूको पार्टनरसीप कुशल मल्लले तोडेसँगै यूएई डग्मगाउन थाल्यो ।

स्पिनर पवन सर्राफले नेपालका लागि दोस्रो विकेट लिँदै अंश टन्डनलाई आउट गरे । त्यसपछि इथान डिसुजा र लभप्रितबीच ४४ रनको साझेदारी भयो ।

२३ औं ओभरमा कप्तान रोहित पौडेलले कुशल भुर्तेललाई बल थमाए । त्यसपछि खेलको स्क्रिप्ट कुशलले नै लेखे ।

पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका छन् । अर्धशतक बनाएर खेलिरहेका लभप्रित सिंहलाई कुशलले सन्दीप जोराको हातबाट क्याच आउट गराएपछि खेल नेपालको पक्षमा मोडिएको थियो ।

त्यसपछि यूएईका कुनै पनि बलर कुशलको स्पिनमा टिक्न सकेनन् ।

अर्को इन्डबाट पवन सर्राफले कसिलो बलिङ गरे । उनले यूएईलाई रनको खडरी लगाइदिएकाले पनि कुशललाई विकेट लिन सजिलो भएको थियो ।

पवनले रक्षात्मक र कुशलले आक्रामक बलिङ गरेका थिए । पवनले १० ओभरको कोटा पूरा गर्दा केवल १८ रन खर्चिए र १ विकेट लिए । उनले ३ ओभर मेडन राखेका थिए ।

आजको खेलमा कप्तान पौडेलले फास्ट बलरलाई कवल ८ ओभर बलिङ गराए । किशोर महतोले ३ ओभर बलिङ गर्दा १३ रन खर्चिए भने प्रतिस जिसीले ५ ओभरमा १८ रन खर्चिए । उनीहरू दुवैले विकेट लिन सकेनन् ।

अलराउन्डर गुल्शन झालाई कप्तानले बलिङमा उतारेनन् । स्पिनर मौसन ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर