बजारमा चहलपहल, व्यापारमा सन्नाटा – Nepal Press

बजारमा चहलपहल, व्यापारमा सन्नाटा

काठमाडौं । साउन महिनामा भगवान शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । यो एउटा धर्म र संस्कृतिका लागि पवित्र महिना हो । भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगलाई विशेष महत्व दिने प्रचलन पनि छ । साउनमा हरियो लगाउँदा शिव भगवान खुशी हुने धार्मिक विश्वासका कारण पनि हरियो रंग लगाइन्छ ।

त्यसैकारण पनि साउन महिनाभर महिलाहरु हरियो पहिरन र हरियो, पहेंलो र रातो चुरा तथा मेहेन्दी लगाउँछन् । पछिल्लो समयमा यो फेसन जस्तै बनेको छ ।

साउन महिना हरियो रंगका कपडा, चुरापोते व्यापारीहरुका लागि भ्याइनभ्याइ हुने सिजन हो । यो सिजनमा काठमाडौंको असन, इन्द्रचोक, विशाल बजार र न्यूरोडका चोकचोक तथा गल्लीगल्लीमा चुरा, पोते, मेहेन्दी तथा लत्ताकपडाको किनमेलका लागि असाध्यै भीडभाड हुने गर्छ ।

विगतका वर्षहरुमा काठमाडौंका मुख्य मुख्य व्यापारिक ठाउँमा ग्राहकको घुइँचो हुने बजार भनेर पनि चिनिने गर्थ्यो । तर, यस पटक भने विगतमा भन्दा फरक दृश्य देखिएको छ ।

काठमाडौंको व्यस्त बजार असन, इन्द्रचोक, विशाल बजार, न्यूरोडलगायतका ठाउँमा अहिले व्यापारी फुर्सदिला देखिन्छन् । विशेषगरी साउनमात्रै नभएर अन्य सिजनमा पनि चुरापोते तथा कपडा पसलमा व्यापार राम्रै हुने गर्थ्यो । ग्राहक थेग्न नसक्ने भीड हुने यहाँका पसलहरु अहिले ग्राहक बोलाउँदासमेत नआउने इन्द्रचोकस्थित एक पोते व्यापारी रज्जा उदिन बताउँछन् । पुस्तौंदेखि पोते व्यापार गर्दै आएका उनले साउन महिनामा व्यापार नभएकोे पहिलो पटक अनुभव गरेका छन् । उनका अनुसार कोरोना कारण खस्किएको व्यापार अहिले आर्थिक मन्दीले ठप्प पारेको छ ।

उनी भन्छन्, ‘पहिला पहिला असारको आधा महिनादेखि साउनका लागि सामान किन्ने ग्राहकको भीड हुन्थ्यो । अहिले भीडभाड र चहलपहल देखिए पनि व्यापार छैन ।’

विगतमा कोरोनाले थला पारेको व्यवसायलाई पुनः आर्थिक मन्दीले थिचेको उदिन बताउँछन् । ‘पहिलाको हेरिकन अहिले व्यापार ५ प्रतिशत पनि छैन ।’

सँगैको अर्को पसलमा पोते र पोतेबाट गहना बनाउने जमिर खान पनि अवस्था उस्तै रहेको बताउँछन् । साउनमात्रै नभएर अन्य सिजनमा पनि खासै काम नहुने गरेको उनले बताए ।

‘अहिले पोते बुन्न भ्याइनभ्याइ हुने सिजन हो । तर, सबै कामदारले काम पाउन सकेका छैनन्’, उनले भने ।

दश वर्षदेखि पोते बनाउने काम गर्दै आएका नसिमुदिन खानले काम नपाएर कामदारहरु फुर्सदिलो भएको बताए । ‘अहिले काम ५ प्रतिशत पनि छैन । कामदारहरु काम नपाएर मोबाइल चलाउन तथा समूह बनाएर गेम खेलेर बस्न बाध्य छन्’, उनी भन्छन्, ‘साउनमा व्यापार बढ्ने आशा थियो । विगतमा असारदेखि नै भीडभाड हुन्थ्यो । अहिले साउन लागिसक्दा पनि व्यापार हुने छाँटकाँट छैन ।’

यता कपडा पसलका व्यापारीहरु पनि निराश बनेका छन् । विशाल बजारमा रहेको विकास स्टोर्सका सञ्चालक विकास शर्मा वलीले बजार सुस्त गतिमा चलेको बताउँछन् । उनले २५ वर्षदेखि उक्त पसल सञ्चालन गर्दै आएका छन् ।

‘पछिल्लो समय व्यापार घाटामा छ । यसको लेखाजोखानै छैन’, उनले भने ।

विशालबजारकै पुरानो भनेर चिनिएको अर्को पसल हो सम्झना इम्पोरियम । यहाँ साडी, कुर्ता, लेहेङ्गालगायतका कपडा किन्ने ग्राहकको भीड हुने गर्थ्यो । अहिले यो पसल पनि सुनसान छ । विगतमा तीन-चार जना कामदारलाई काम हुन्थ्यो । अहिले भने काम गर्ने कर्मचारी एक जनामात्रै रहेको पसलका सञ्चालक सम्झना प्रधान बताउँछिन् ।

उनी भन्छिन्, ‘साउनमा व्यापार हुुने लक्षण देखिएको छैन । अब तीजमा हुन्छ कि भन्ने आशा छ ।’

मेहेन्दी डिजाइनरलाई भ्याइनभ्याइ

साउने संक्रान्ति पर्व सुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन बढ्दै गएकोे छ । हिन्दू धर्मग्रन्थका अनुसार माता पार्वतीले पति महादेवलाई खुशी बनाउन तथा सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएको भन्ने विश्वास छ ।

प्राचीन किंवदन्तीअनुसार मेहेन्दी, हरियो चुरा र व्रत बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्यभन्दा बढ्ने गर्छ । जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत बस्दा स्वास्थ्य राम्रो हुनुका साथै श्रीमतीप्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने विश्वासका साथ साउनमा हरियो पहिरन र मेहेन्दीलाई महिलाहरुले प्राथमिकता दिने प्रचलन छ ।

साउन सुरु भएसँगै महिलाहरु हातमा हरियो चुरा र मेहेन्दीले डिजाइनका फूलबुट्टे हात सिंगार्न थालेका छन् । साउन सुरु नहुँदै विशाल बजारदेखि इन्द्रचोक असनसम्म मेहेन्दी लगाउने र लगाइदिनेको भीडले पैदल यात्रुलाई बाटो हिँड्नसमेत मुस्किल पर्ने गरेको छ ।

नेपालमा साउनमा मेहेन्दीको व्यापार अत्यधिक हुने भएका कारण भारतबाट अधिकांश युवाहरु साउनलाई मध्यनजर गर्दै काठमाडौं आएका छन् ।

विशाल बजार प्रवेश गर्नासाथ सुरुमै भेटिएका भारतको विहारका ४० वर्षीय अबिर शाहले दैनिक ३० देखि ५० जनालाई मेहेन्दी लगाइदिने गरेको बताए । बिहान ५ देखि बेलुका ८ बजेसम्म उनले सडकमा बसेर मेहेन्दी लगाइदिँदै आएका छन् । प्रतिव्यक्ति १०० देखि ३०० रुपैयाँसम्म मेहेन्दी डिजाइन भरेको दरमा उनले ग्राहकलाई मेहेन्दी लगाइदिने गरेको बताउँछन् । उनले सिजनअनुसारको व्यापार गर्दै आएका छन् । अन्य सिजनमा कपडा तथा फलफूलसमेत व्यापार गर्ने शाह साउनमा भने मेहेन्दीबाट राम्रै आम्दानी हुने बताउँछन् ।

भारतको विहारबाट वर्षेनि साउनको सिजनमा मेहेन्दी व्यापार गर्न आउने सुरजकुमारले दैनिक २० भन्दा बढीलाई मेहेन्दी लगाइदिन्छन् । नेपालमा साउनमा मेहेन्दी व्यापार अत्यधिक हुने भएको भन्दै विगत पाँच वर्षदेखि साउन नलाग्दै उनी काठमाडौं आउने गरेको बताउँछन् ।

‘विहारमा पनि मेहेन्दी लगाउने चलन छ । तर, त्यहाँ मानिसहरु आफैं लगाउँछन् । हाम्रो आवश्यकता पर्दैन । नेपालमा पार्लरमा लगाउन महँगो पर्ने तर नेपालीहरु सडकमा आएर लगाउन चाहँदैनन् । त्यसैले हामीले यो सिजनमा नेपाल आएर काम गर्छौं’, उनले भने ।

अहिले बजारमा क्रयशक्ति ओरालो लागेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । पछिल्लो समय खाद्यान्न, लत्ताकपडालगायतका वस्तुको व्यापार घटेको उनी बताउँछन् ।

‘विगतको तुलनामा हेर्दा खाद्यान्नमै २५ प्रतिशतले व्यापार घटेको छ । अरु वस्तुको लेखाजोखा छैन’, उनले भने, ‘अहिले बजारमा पैसा छैन । सानादेखि ठूला लगानीकर्ताको लगानी सहकारीमा चुर्लुम्मै डुबेको छ । आर्थिक क्रियाकलाप कम छ । मन्दीको प्रभाव र कोरोनाका कारण थलिएका व्यवसायीहरु माथि उठ्न सकेका छैनन् ।’

बज्राचार्यका अनुसार क्रयशक्ति घटेसँगै २५ प्रतिशत व्यवसाय बन्द भएका छन् । बजार अस्तव्यस्त भइरहेको अवस्थामा सरकारले कुनै किसिमको वास्ता नगरेको समेत उनले नेपाल प्रेसलाई बताए ।

‘सरकारलाई साना व्यापारीको कुनै मतलब छैन । बजार अस्तव्यस्त भैसकेको छ । सरकार समाधानको बाटो खोज्नुको सट्टा कर बढाउनतर्फ मात्रै लाग्छ’, उनले भने, ‘पछिल्लो समय खुद्रा सामानको व्यापारभन्दा सुनको व्यापार बढी भएको देखिन्छ । यो अवस्थामा आर्थिक रुपले सम्पन्न मानिस झन झन सम्पन्न भएको देखिन्छ । निम्न र मध्यम वर्गीय परिवारको अवस्था दयनीय बन्दै गएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *