भोजपुरका डीएसपी अपराधी जोगाउन लागेको भन्दै सडकमा उत्रिए विद्यार्थी (भिडिओ) – Nepal Press

भोजपुरका डीएसपी अपराधी जोगाउन लागेको भन्दै सडकमा उत्रिए विद्यार्थी (भिडिओ)

पीडितले मुख खोलेपछि तीनजना पक्राउ, अनुसन्धान प्रभावकारी हुनेमा आफन्त अझै शशंकित

भोजपुर । जिल्लामा पछिल्लो समय भएका श्रृंखलाबद्ध घटनाका दोषी जोगाउन लागेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् । अपराधिक घटनाको अनुसन्धान र अपराधीमाथि कारबाही गर्न जिल्ला प्रहरी प्रमुख डीएसपी शरदकुमार थापा क्षेत्री उदासीन देखिएको भन्दै विद्यार्थीले भोजपुर सदरमुकाममा प्रदर्शन गरेका हुन् ।

भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले राजनीतिक दबाबमा अपराधीहरू उम्काउन खोजिएको भन्दै शान्ति सुरक्षा र पीडितलाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरे । विद्यार्थी प्रदर्शनको अगुवाइ क्याम्पस स्ववियु सभापति निशान राईले गरेका थिए ।

असार २२ गते टक्सारका विद्यार्थी दीप्सन प्रधानको अखुवा खोलामा भएको हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको भन्दै उनीहरूले ध्यानाकर्षण गराएका छन् । दीप्सनको हत्यामा संलग्न सबैलाई कारबाही गर्न विद्यार्थीले माग गरेका छन् ।

यो पनि पढ्नुस् : भोजपुरका डीएसपी अपराध अनुसन्धानमा गैरजिम्मेवार बनेको आरोप, तीन घटनाका पीडितले मुख खोले (भिडिओ)

घटना वारदातमा सँगै रहेकाहरूलाई कारबाही नगरी एकजनालाई मात्र मुख्य दोषी बनाई उन्मुक्ति दिन खोजेर घटना तोडमोड गर्न खोजिएको भन्दै दीप्सनका बुबा देविप्रसादले समेत आक्रोश पोखेका छन् । घटनामा संलग्न सुमन श्रेष्ठ भाइ विनम डीएसपीकै भान्से भएकाले दाजुलाई उन्मुक्ति दिन खोजिएको स्थानीय र आफन्तको भनाइ छ ।

मंगलबार तीनवटा घटनाका पीडितहरूले जाहेरी लिन नमानेको, दोषी किटान गर्दा पनि बेवास्ता गरेको गुनासोसहित पत्रकार सम्मेलन गरेका थिए ।

पीडितले मुख खोलेपछिको पराकम्प- पक्राउ परे तीनजना

टेम्केमैयुङ गाउँपालिकाको राउते खोलामा पक्की पुल बनाइरहेको ठाउँमा खटिएका सब इन्जिनियर मन्दीप राईको रहस्यमय मृत्युको घटनामा संलग्न आरोपमा प्रहरीले गएराति ३ जनालाई नियन्त्रणमा लिएको छ ।

गत जेठ ३१ गते बाढी आइरहेको बेला स्काइभेटर साइड लगाउन पठाएर आफ्नो छोरालाई कर्तव्य गरी मारेको भन्दै बुबा ईश्वरकुमार राईले किटानी जाहेरी दिएका थिए । असार १३ मा डीएसपी क्षेत्रीले जाहेरी दर्ता गर्न नमानेपछि २८ गते सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी दिइएको थियो ।

नागरिक समाज, पीडित परिवारले दबाब दिएपछि प्रहरीले स्काभेटर अपरेटर सम्राट केसी, सहअपरेटर विष्णु भुजेल र पेटी ठेकेदार बालम राईलाई पक्राउ गरेको हो ।

मन्दीपका बुबाले भने चौतर्फी दबाब दिएपछि पक्राउ गरिएको भएपनि अझै अनुसन्धान प्रभावकारी हुन्छ/हुन्न भन्नेमा आफूहरू आशावादी हुन नसक्ने प्रशस्त आधार रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर