सांसद सापकोटाले गरे राष्ट्रसंघीय राजनीतिक फोरममा सम्बोधन (भिडिओ) – Nepal Press

सांसद सापकोटाले गरे राष्ट्रसंघीय राजनीतिक फोरममा सम्बोधन (भिडिओ)

न्यूयोर्क । माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन् ।

फोरममा संलग्न अल्पविकसित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए । तर, त्यसका लागि आन्तरिक श्रोत मात्र पर्याप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गरे ।

दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानून निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उनले उल्लेख गरे ।

सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए ।

मौलिक हक कार्यान्वयनका लागि संसद्ले १६ वटा कानूनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए । सापकोटाले नेपालको सरकार संसद्प्रति जबाफदेही रहेको समेत बताए ।

सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो ।

टोलीमा कांग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोटा, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर