लुम्बिनी केबलकारले ल्यायो मर्निङ अफर, टिकटदर आधा सस्तो – Nepal Press

लुम्बिनी केबलकारले ल्यायो मर्निङ अफर, टिकटदर आधा सस्तो

लुम्बिनी  । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।

साउनको पहिलो बुधवारदेखि लागू हुने गरी हरेक बुधवार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरूका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ । अब नेपाली नागरिकहरूले हरेक बुधवार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ ।

यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यावसायिक सञ्चालनमा रहेको छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।

टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर,महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी,पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन् । साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।

केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले ५० प्रतिशतका दरले बाँडफाट गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क बापत दिने सम्झौता गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर