अन्न भण्डारमै असारसम्म ६४ प्रतिशत रोपाइँ, उत्पादन घट्ने चिन्ता – Nepal Press

अन्न भण्डारमै असारसम्म ६४ प्रतिशत रोपाइँ, उत्पादन घट्ने चिन्ता

रुपन्देही । धान खेती बढी हुने प्रदेशको रूपमा परिचित लुम्बिनी प्रदेशमा असार सकिँदा ६४ प्रतिशत मात्रै रोपाइँ भएको छ । मधेशपछि धेरै धान खेती हुने प्रदेशमा पर्दछ लुम्बिनी ।

३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने प्रदेशमा यस वर्ष धान रोपाइँमा कमी आएपछि उत्पादन घट्ने चिन्ता बढेको छ ।

असार मसान्तसम्म १ लाख ९९ हजार ३४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि तथा भूमि मन्त्रालयले निकालेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ कपिलवस्तु र सबैभन्दा कम रुकुम पूर्वमा हुन्छ ।

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । जसमध्ये कपिलवस्तुमा अहिलेसम्म ४५ हजार ५४६ हजार हेक्टर क्षेत्रफल अर्थात् धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत रोपाइँ भएको छ भने रुकुम पूर्वमा १ हजार २७७ हेक्टर अर्थात् ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

त्यस्तै रुपन्देहीमा अहिलेसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६२३ हेक्टरमा रोपाइँ भएको छ । असार १५ गतेसम्म यहाँ ११ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

मरासिनीका अनुसार धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ३० प्रतिशत र बर्दियामा ७४ प्रतिशत रोपाइँ सकिएको छ । दाङमा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ११ हजार २२९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ३६ हजार २८४ हेक्टरमा अर्थात् ७४ प्रतिशत रोपाइँ सकिएको छ ।

बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म १४ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य ४५ प्रतिशत मात्रै हो ।

यता प्यूठानमा ९७ प्रतिशत रोपाइँ सकिएको छ भने अर्घाखाँचीमा ७० प्रतिशत रोपाइँ भएको छ । प्यूठानमा ६ हजार ३२९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा ५ हजार ६३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यसका साथै रोल्पामा ९६ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये ४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये १४ हजार ३५० हेक्टर अर्थात् ७० प्रतिशत मात्रै रोपाइँ भएको प्रवक्ता मरासिनीले बताए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ६०.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने असार सकिँदा ५ हजार २०२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।

पाल्पामा ६ सय ५६८ हेक्टर क्षेत्रफल अर्थात् ८० प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए ।

मन्त्रालयका प्रवक्ता मरासिनी यस वर्ष समयमा नै पानी नपर्दा गत वर्षभन्दा कम मात्रामा धान रोपाइँ भएको बताउँछन् । ‘सिँचाइको क्षेत्र बढाउन सकिएको नसक्दा र आकासे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ,यो वर्ष पानी पर्न केही ढिला भयो, यसको असर रोपाइँमा प¥यो’ उनले भने ।

समयमा खेती गर्न नपाएका कारण यस वर्ष धानको उत्पादन घट्न सक्ने आंकलन कृषि विज्ञहरुले गरेका छन् । कृषि विज्ञ त्रिलोचन दाहालका अनुसार समयमै रोपाई नभए पनि उत्पादन स्वतह घट्ने हुन्छ ।

‘समयमा रोपाई गर्न नपाएपछि उत्पादन यसै कम हुन्छ, त्यसमाथि बीउ पनि छरेको २५ दिनभित्र रोप्न पाए राम्रो फल्ने हो, धेरैले बूढोभएपछि रोप्नुपर्‍यो पानी नपरेका कारण, अनि मल पनि सबैले समयमा राख्न नपाएपछि उत्पादन घट्छ र यस पटक पनि धानको मूल्य स्वतः बढ्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर