मौलाकाली केबलकारको इभिनिङ अफर, आधा सस्तो टिकट – Nepal Press

मौलाकाली केबलकारको इभिनिङ अफर, आधा सस्तो टिकट

काठमाडौं । मौलाकाली केबलकारले टिकटमा ५० प्रतिशत छुटसहित इभिनिङ् अफर ल्याएको छ ।

साउनदेखि लागू हुने गरी ल्याइएको यो अफर अन्तर्गत प्रत्येक बुधवार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम छ । अफर अन्तर्गत अब यात्रुहरूले रु २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् ।

यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ ।

‘दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ’, केबलकारका स्टेशन मेनेजर पौडेलले भने ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केबलकार सञ्चालनमा आएपछि मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनको संख्या करिब २५ प्रतिशतले बढेको छ ।

गर्मी, वर्षात्, खेतीपाती लगायत विविध कारणले अघिल्ला वर्षहरुमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन छ ।

धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिँदै आएको छ ।

शनिवार र अन्य बिदाका दिनमा बिहान ५ः३० देखि केबलकार सञ्चालन हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर