रुपान्तरणका लागि ‘गगन क्यालेण्डर’- घरघरमा कांग्रेस अभियानदेखि ७ लाख सदस्यताको लक्ष्यसम्म (सूचीसहित) – Nepal Press

रुपान्तरणका लागि ‘गगन क्यालेण्डर’- घरघरमा कांग्रेस अभियानदेखि ७ लाख सदस्यताको लक्ष्यसम्म (सूचीसहित)

उपसभापति गुरुङ भन्छन्- कार्यान्वयनकै लागि कार्यतालिका ल्याएका हौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरणका लागि पार्टीको मासिक क्यालेण्डर प्रस्ताव गरेका छन् । पार्टी कार्यालय सानेपामा आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले १२ महिने कार्यक्रम प्रस्ताव पेश गरेका हुन् ।

‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ शीर्षकमा कार्ययोजनासहितको पेश गरेको प्रतिवेदनमा पार्टीलाई सक्रिय बनाएर घरघरमा कांग्रेससम्मको अभियान अगाडि ल्याएका उनको लक्ष्य छ ।

क्यालेण्ड कार्यान्वयन गराएर ०८० साउनदेखि असार मसान्तसम्म नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध र आकर्षण गर्ने अभियानका साथ एकबर्षमा ५ देखि ७ लाख पार्टी सदस्यता बनाउँने योजना छ ।

गगनले बैठकमा पेश गरेको प्रतिवेदनमा पार्टीका सबै तह ११ महिना नै सक्रिय हुनुपर्ने उल्लेख छ । नेता तथा पार्टी कार्यकर्ताहरु ११ महिना पार्टीको काममा लागेपनि असार महिना किसानको महिना भएकाले किसानलाई सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

गगनको कार्ययोजना अनुसार पार्टी स्थापनाको दिन ६७४३ वडामै कार्यक्रम गर्ने, पार्टी सभापति, पदाधिकारीसहित सबै नेताहरु आआफ्नै वडामा जार्नेपर्ने उल्लेख गरिएको छ ।

उनले कार्ययोजना प्रस्तुत गर्दै बैठकमा भने, ‘पार्टी सभापतिको डडेलधुराको जुन वडामा उहाँको सदस्यता छ त्यही जानुहुन्छ त्यही अनुसार अरु पनि जान्छौं । केन्द्रीय कार्यक्रम हुँदैन । वडामै हुन्छ ।’

सबै नेता कार्यकर्ता वडा तहमै गए पार्टीलाई तल्लो तहबाटै सक्रिय बनाउन सक्ने उनको विश्वास छ । उनले भदौ भित्र सवै सम्मेलनहरू गरी आगामी एक वर्षको कार्ययोजना सहितको प्रतिवेदन मातहतका सवै तहका समितिले केन्द्रीय कार्यालयमा पठाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

कार्यतालिकामा आधारित भएर प्रत्येक तह र समितिले स्थानीय आवश्यकता अनुसार प्रभावकारी कार्यक्रमहरू तह गरी आ–आफ्नो कार्यतालिका बनाउने, पार्टीको अभियानका क्रममा केन्द्रबाट जाने प्रतिनिधिले बैठक, सदस्यता, सम्मेलन र अन्य गतिविधि तथा कार्ययोजनाको विवरण संकलन गरी सो अनुरुप भइ नभएको हेरी नभएको भए तय गर्न समन्वय र सहजीकरण गरी विवरण सहितको प्रतिवेदन ल्याउनुपर्ने उल्लेख छ ।

महामन्त्री थापाले ल्याएको क्यालेण्डर कार्यान्वयनकै लागि ल्याएको उपसभापति धनराज गुरुङले बताए ।

उनले भने, ‘उहाँको प्रस्तावमा केही सुधार होलान्। तर, यो हामीले कार्यान्वयन गर्नकै लागि ल्याएका हौं । कांग्रेस रुपान्तरणको लागि यही कार्यतालिका अनुसार नै हामी अघि बढ्ने हो। कार्यतालिका कार्यान्वयन हुन्छ ।’

त्यसो त कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पनि अब पार्टी कार्ययोजना अनुसार अघि बढ्ने दाबी गरे । उनले भने, ‘विविध कारणले लामो समय विधानले व्यवस्था गरेअनुसार बैठक बसेको थिएन । अब नियमित व्यवस्थित ढंगबाट पार्टीले निर्णयलाई कार्यान्वयन गरेर अघि बढ्छ ।’

यस्तै, कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली पनि महामन्त्री थापाले प्रस्तुत गरेको क्यालेण्डरले जनतालाई पार्टीमा जोड्ने बताए ।

उनले भने, ‘नियमित बैठकबस्नेदेखि पार्टीका सबैलाई जोड्ने कार्यक्रम पेश गर्नुभएको छ । यो कार्यक्रमलाई आम जनताको घर दैलोमा पुगेर लागू गर्न सक्यौं भने कांग्रेस शक्तिशाली हुन्छ। पार्टीभित्र एकता र समझदारी बनाएर अघि बढ्नसक्नुपर्छ ।’

यस्ताे छ कार्यसूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर