गिरीबन्धु टि-स्टेटको शेयरमा पारिवारिक किचलो, छत्रबहादुरले हालीमुहाली गरेको भन्दै मुद्दा मामलो – Nepal Press

गिरीबन्धु टि-स्टेटको शेयरमा पारिवारिक किचलो, छत्रबहादुरले हालीमुहाली गरेको भन्दै मुद्दा मामलो

झापा । झापाको बिर्तामोड-६ मा रहेको ‘गिरीबन्धु टि-स्टेट’ भित्र पारिवारिक विवाद उत्कर्षमा पुगेको छ । कम्पनीका एक शेयरधनी छत्रबहादुर गिरीले आफूखुशी गर्न थालेपछि अन्य शेयरधनीले आफ्नो हिस्साबारे अधिकार खोजेका छन् । छत्रबहादुरको हालीमुहालीले सीमा नाघेको भन्दै अन्य शेयर सदस्य न्यायका लागि अदालत धाइरहेका छन् ।

अन्य शेयरधनीका अनुसार छत्रबहादुर गिरीले बगानभित्र आफूखुशी जमिन बेचिरहेका छन् । जमिन बेच्दै करोडौं रकम उठाएकोमा साझेदारहरूले आपत्ति जनाएका छन् ।

२०२० सालमा स्थापित गिरीबन्धु टि-स्टेटमा छत्रबहादुर गिरी २५ प्रतिशत साझेदार हुन् । त्यतिबेला देखि नै अन्य साझेदारको कम्पनीमा ७५ प्रतिशत हिस्सा छ । छत्रबहादुरले अन्य साझेदारले पाउने हिस्सा नदिई एकलौटी रूपमा जमिन दिने भन्दै झापादेखि काठमाण्डौसम्मका ब्यवसायीसँग करोडौं रकम उठाएको आरोप उनीहरूले लगाएका छन् ।

‘झापाको पृथ्विनगरमा चिया बगान स्थानान्तरण गर्ने भन्दै जमिन बिक्री गर्न थालिएको थियो’, एक शेयर सदस्य भन्छन्, ‘अरु शेयर सदस्य सहमति बेगर जमिन बेच्न पाइँदैन ।’

छत्रबहादुर गिरीले व्यवसायीसँग करोडौं रकम उठाएको अर्का साझेदार कृष्णकुमार गिरीका छोरा नवीन गिरीले बताएका छन् । छत्रबहादुरले २५ देखि ३० करोडको हाराहारीमा रकम उठाएको उनको अनुमान छ । जग्गा खरिदबाट उठाइएको करोडौं रुपैयाँको कम्पनी जवाफदेही नहुने र उक्त रकमको जिम्मेवारी छत्रबहादुर गिरी र किनबेचमा संलग्न एजेन्टहरु नै हुने नविन गिरीको भनाइ छ ।

‘हामीलाई थाहा नै छैन, छत्र काकाले बजारमा करोडौं रकम उठाउँदै हुनुहुन्छ अरे’, गिरीले भने ‘२५ देखि २७ प्रतिशत शेयर भएको कम्पनीको शेयर होल्डरले १०० प्रतिशत नै मेरो हो भनेर भ्रम छरिरहनुभएको छ । तर, हामीले त्यो जमिन खरिद गर्ने नाममा कोही पनि नफसुन् भनेर सत्य कुरा सार्वजनिक गरेका हौं ।’

गिरीबन्धु टि-स्टेटको २०४० सालमा भएको बिशेष साधारणसभाले भगवान गिरी, प्रेमकुमार गिरी र कृष्णकुमार गिरीलाई कम्पनीको हिस्साका रुपमा राजमार्गको उत्तरपटी १०२ बिगाहा जमिन दिने निर्णय गरेको थियो । त्यसबेला चलअचल सम्पतिको मुल्यांकन गरेर २३ लाख ५१ हजार रुपैयाँ छत्रबहादुर गिरीले भगवान, प्रेमकुमार र कृष्णकुमार गिरीलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार छत्रबहादुरले १० लाख रुपैंयाँमात्र दिएको नवीन गिरीले उपलब्ध गराएको कागजपत्रमा उल्लेख छ ।

बाँकी रकम १३ लाख ५१ हजार रूपैयाँ र कम्पनीको हिस्सा १०२ बिगाहा जमिन आफूले पाउनुपर्ने मागसहित असन्तुष्ट गिरी परिवारले छत्रबहादुरलाई प्रतिवादी बनाउँदै २०७८ सालमा ‘कीर्ते जालसाँझ’ र ‘दूषित कित्ता नक्सा एकीकृत निर्णय, दर्ता बदर, दर्ता कायम, चलन’ मुद्दा दर्ता गराएको थियो । सो मुद्दा अहिले पनि अदालतमा बिचाराधिन छ । यसैगरी २०७९ साल असोजमा कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘आवश्यक छानबिन गरी कम्पनीको हिसाब किताब गरी शेयर समेत अद्यावधिक गरी पाउँ’ भन्दै पीडित पक्षले निवेदन गरेको थियो ।

छत्रबहादुरले २०७८ चैत्रमा पीडितको माग दाबीअनुसारको जमिन छुट्याउन बाँकी रहेको प्रतिउत्तर अदालतमा फर्काएका थिए । सो प्रतिउत्तरमा उनले बिशेष साधारणसभाले गिरीबन्धु टि-स्टेट प्रालिको नाममा दर्ता कायम रहेको राजमार्ग उत्तर-पूर्वतर्फबाट १०२ बिगाहा जमिन फिर्ता गर्न तयार नै रहेको स्वीकारेका छन् । सो जमिनमा भएको चिया बगान बादीसमेतका हिस्सेदारहरुले भोग गरिरहेको कुरा छत्रबहादुरले स्वीकार गरी रितपूर्वक आएमा जमिन राजीनामा पास गरिदिने अदालतलाई जानकारी गराएका थिए ।

‘हामीले छत्र काकालाई व्यववहार मिलाउन धेरै पटक अनुरोध गर्‍यौं, उहाँ केही न केही बहाना बनाएर हामीसँग सम्पर्कमा आउनु हुन्न । घरमा गएर भेट्यो भनेपनि उहाँ केही न केही बहाना बनाएर काठमाडौंतिर जानुहुन्छ । उहासँगको सहमतिमा व्यवहार नमिल्ने देखेर हामीले कानूनी बाटो रोजेका हौं । हामीले अदालतदेखि कम्पनी रजिष्टारको कार्यालयसमेतमा सो जमिनमा रहेको हाम्रो हिस्सा दिलाइ पाउन निवेदन गरेका छौं । हाम्रो मागको उचित सुनुवाइ हुनुपर्छ’, पीडितमध्येका नवीनले भने ।

‘कम्पनी स्थापना हुँदाका समयमा छत्र काका ९ बर्षको हुनुहुन्थ्यो, यतिबेला उहाँ ७० बर्ष पुग्नुभयो । यतिबेला आएर उहाँ कम्पनीको स्वामित्व एकलौटी बनाउने योजनामा हुनुहुन्छ, त्यसका विरुद्ध हामी कानूनी लडाइँमा छौं ’, उनले भने ।

पीडितहरूको निवेदन उपर कारबाही गर्दै कम्पनी रजिष्टारको कार्यालयले २०७९ फागुनमा ६ बुँदे आदेश गरेको थियो । त्यो निर्देशनलाई पनि छत्रबहादुरले पालना नगरेको पीडितहरुको आरोप छ । २०४० साल कात्तिकक १७ को विशेष साधारणसभाको निर्णयसम्बन्धी सक्कल कागजात, साधारणसभाको निर्णय बमोजिम भगवान्, प्रेमकुमार र कृष्णकुमार गिरीले आफ्नो स्वामित्वको शेयर बिक्री हस्तान्तरण गरेको भए सोसम्बन्धी लिखत कागजातहरू उजुरकर्ताहरूको नाममा जग्गा हकहस्तान्तरण भए नभएको जवाफसहित सोसम्बन्धी लिखत कागजात, उजुरकर्ताहरुको नामको शेयर के कुन आधारबाट राइट अफ शेयर भएको हो ? सोसम्बन्धी कानूनी आधार प्रमाणसहितका कागजातहरू र कम्पनी दर्ता हुँदाका बखतको सुरु शेयर लागतको विवरण र सञ्चालक समितिको निर्णय र कम्पनीका कागजातहरु हालसम्मको अद्यावधिक बिवरण, लेखा परीक्षण प्रतिवेदन तथा कम्पनीबाट भएका हालसम्मका निर्णयहरुको लिखत कागजात बुझाउन कम्पनी रजिष्टारको कार्यालयले आदेश गरेको थियो ।

छत्रबहादुरले कम्पनी घाटामा गएको भन्दै विगत ८ वर्षदेखि चालू अवस्थामा रहेको उद्योग बन्द गराएका थिए । त्यस स्थानमा उत्पादित हरियो पत्ती आफ्नो छोराको स्वामित्वमा रहेको ‘शमशेर एण्ड गंगादेवी टि कम्पनी’ मा लगेर प्रशोधन गर्दै एकलौटी बिक्री गरिरहेको आरोप पीडित पक्षको छ ।

गिरीबन्धु टि-स्टेटमा छत्रबहादुरसहित प्रेमकुमार, कृष्णकुमार, त्रिलोचन (नन्दकिशोर), श्याम, प्रशान्त, राजेश, भरतलाल र रमेश गिरी शेयर होल्डर छन् । तर, सामाजिक रुपमा छत्रबहादुरले गिरीबन्धु टि-स्टेटलाई एकलौटी जस्तै बनाएका छन् ।

पीडितले २०४० सालदेखि कम्पनिको आम्दानी समेत खोजी गरेका छन् । उनीहरूले छत्रबहादुरले एकलौटी रुपमा आम्दानी चलाइरहेको बताएका छन् । पीडित परिवारले २०४० सालदेखि हालसम्म छत्रबहादुर गिरीले कम्पनीलाई पुर्‍याएको आर्थिक क्षति, हानी नोक्सानी र अन्य गैरकानुनी, अवैध निर्णयहरुका साथै कम्पनीको हितविपरीत गरेका सम्पूर्ण निर्णयहरु छानविन गरी कानूनी उपचार अवलम्बन गर्न माग गरेको छ । हालसम्म भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति छत्रबहादुरको निजी सम्पत्ति, घरघरानाबाट असुल उपर गरिनुपर्ने माग उनीहरुले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *